• १७ माघ २०७९, मङ्गलबार

तीव्र गतिमा नियन्त्रण

blog

सवारीसाधनको प्रयोग गन्तव्यमा छिटोछरितो तथा सुुविधाका साथ पुग्नकै लागि गरिन्छ । यसको विपरीत विशेष गरी सहरी क्षेत्रमा युवाले अत्यधिक गतिमा सवारी गुडाउने एक किसिमको शैली नै बनेको पाइन्छ । तीव्र गतिमा सवारीसाधनको गुडाइले धनजन क्षतिको सम्भावना पनि निकै हुन्छ । मानिसको ज्यानै जाने र अङ्गभङ्गको सम्भावना पनि त्यत्तिकै हुन्छ । बर्सेनि काठमाडौँलगायतका सहरी क्षेत्रमा तीव्र गतिमा सवारीसाधन गुडाएकै कारण सवारी दुर्घटना भएका छन् । दुर्घटनामा कैयौँको ज्यान गएको छ । त्यसक्रममा पैदल यात्रुले समेत ज्यान गुमाउने गरेका छन् । 

तीव्र गतिमा सवारीसाधन हँकाइले दुर्घटना, अङ्गभङ्ग तथा ज्यानै जानेजस्ता विविध खाले समस्या सिर्जना हुन थालेपछि यसतर्फ नियन्त्रणका प्रयास गरिनु जरुरी थियो । चालू आर्थिक वर्षको सुरुका तीन महिनामा मात्र साढे आठ हजारभन्दा बढी चालक तीव्र गतिमा सवारीसाधन चलाएर कारबाहीमा परे । सन्तुलित गतिमा सवारीसाधन चलाउँदा नै जीवन सुरक्षित हुन्छ । चालकहरूमा अति तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति देखिएपछि  चालकमा पर्याप्त सचेतना नदेखिएको ट्राफिक प्रहरीको निष्कर्ष छ । यस अवस्थामा सवारी चालकमा हरेक तरहबाट सडकमा जिम्मेवारीपूर्वक सवारीसाधन चलाउन विभिन्न उपाय आवश्यक देखिएको छ । तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिको नियन्त्रण गर्न आवश्यक कदमहरू चालिनुको कुनै विकल्प देखिँदैन । यो वास्तवमा सडक प्रयोग गर्ने सबैको सुरक्षाका निम्ति हो भन्ने तथ्य सबैले बुझ्नु आवश्यक छ । यस तथ्यबाट सचेतना अभिवृद्धिसँगै दण्ड, जरिवानालगायतका कारबाहीलाई अझै कडा रूपले अगाडि बढाउनुपर्ने देखिएको छ ।

सडक सार्वजनिक हो र यसमा सुुरक्षित सवारीको आवागमनले मात्र जनधन सुरक्षा गर्न सकिन्छ । सडकको सहज तथा सुरक्षित तवरले प्रयोग गर्न पाउनु पैदल यात्रुलगायत सबैको अधिकार हो । यस विषयमा सम्बन्धित निकायको पनि त्यत्तिकै महत्त्वपूर्ण भूमिका रहेको छ । यसै सन्दर्भमा तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई बढी जिम्मेवार बनाउन विभिन्न व्यवस्था गरिनुलाई अन्यथा रूपमा लिनु हुँदैन । यसै सन्दर्भमा तीव्र गतिमा सवारी चलाउने चालकलाई मादक पदार्थ सेवन (मापसे) र लेनक्रस अर्थात् लेन उल्लङ्घन गरे सरहकै दण्ड जरिवानाको व्यवस्था गरिन थालेको छ । यति मात्र होइन यी तीव्र गतिका सौखिन चालकहरूले जरिवानाका अतिरिक्त ट्राफिक सचेतना कक्षा पनि लिनुपर्ने अनिवार्य हुनेछ । हाल मापसे गरी 

सवारीसाधन चलाउने चालकलाई एक हजार रुपियाँ तथा लेन क्रस गर्नेलाई पाँच सय रुपियाँ जरिवानाका अतिरिक्त ट्राफिक सचेतना लिनुपर्छ । यो व्यक्तिको प्रवृत्तिमा सुधार ल्याउँदै सुरक्षा प्रदान गर्नसमेत महत्त्वपूर्ण कार्य हो ।

ट्राफिक प्रहरीद्वारा गरिएको यस किसिमको व्यवस्थाबाट तीव्र गतिमा सवारीसाधन चलाउनेहरूले पक्कै पनि सावधान तथा सजग हुनुपर्ने अवस्था सिर्जना भएको छ । उनीहरूका कारण उनीहरू स्वयं र अरू सर्वसाधारणको जीवन खतरामा परेको थियो । काठमाडौंँ उपत्यकाको हकमा प्रति घण्टा ४० किलोमिटरभन्दा बढीको गतिमा सवारीसाधन गुडाउँदा तीव्र गतिको मानिनेछ । यस अर्थमा सवारी चालकहरूले ट्राफिक प्रहरीको कारबाहीबाट बच्न योभन्दा कम गतिमा नै सवारीसाधन गुडाउनु उपयुक्त हुनेछ । यसबाट सवारी चालक स्वयंको, पैदल यात्रु तथा सवारीसाधनमा सवार अन्य यात्रुको सुरक्षामा पनि सकारात्मक प्रभाव पर्नेछ । यसले ट्राफिक अनुशासनसमेत अनुकूल प्रभाव पर्ने आकलन गर्न सकिन्छ ।

ट्राफिक नियम पालन गराउने सन्दर्भमा सवारीसाधनको गति, सवारीसाधनको यान्त्रिक अवस्था, तीव्र गतिमा सवारी चलाउने, सवारीसाधनको भौतिक अवस्था दुरुस्त नराख्नेजस्ता विविध पक्षमा ट्राफिक प्रहरीको छड्के जाँच तथा नियमित अनुगमन अति नै आवश्यक हुन्छ । यसबाट सवारी दुर्घटना नियन्त्रण तथा न्यूनीकरणमा निकै महत्त्वपूर्ण योगदान पु¥याउनेमा कुनै शङ्का छैन । ट्राफिक प्रहरीले विभिन्न भत्ता आवाज निकालेर सवारी हुइँक्याउनेविरुद्ध समेत निगरानी बढाउनु जरुरी छ । सर्वसाधारणको सातो खाने गरी मोटरसाइकल गुडाउने प्रवृत्तिसमेत बढ्दो छ । साथै ट्राफिक प्रहरीले पनि यी सवारी चालक परीक्षण तथा जाँचलाई कुनै विशेष समय वा अवसरभन्दा पनि सधँै निरन्तरता दिइराख्नुपर्ने वाञ्छनीय देखिन्छ । यसले सडक अनुशासनमा अभिवृद्धि गर्नेछ ।