• १५ चैत २०८०, बिहिबार

'नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव'को दोस्रो दिन

blog

अभिनेत्री शबना आजमी ।

काठमाडौं, मंसिर १० गते । मण्डला थिएटरको आयोजनामा भएको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को आज दोस्रो दिन । शुक्रबारदेखि सुरु भएको यस महोत्सवमा शनिबार भारतीय नाटक ‘देस्देमोना रुपकम’ मध्यान्ह १२ बजे र दिउँसो ४ बजे मञ्चन भएको हो । नाटकका निर्देशक अभिषेक मजुमदार हुनुहुन्छ । 

त्यस्तै, स्पेन र इटालीको संयुक्त प्रस्तुति ‘मिस्टर एण्ड मिसेस क्राफ्ट’ दिउँसो दुई र चार बजे मञ्चन हुँदैछ । नाटकका निर्देशक पाब्लो दुरान रोजस डायना कोस्टा हुनुहुन्छ ।  

यसबाहेक महोत्सवको प्रमुख आकर्षण अभिनेत्री शबना आजमीको मास्टरक्लास साँझ ७ः३० बजे हुनेछ । शबना आजमी कवि कैफी आजमी र रङ्गमञ्च अभिनेत्री शौकत आजमीकी छोरी हुन् । उहाँ पाँच पटक राष्ट्रिय चलचित्र पुरस्कार, पद्मश्री विजेता जित्ने व्यक्ति र चलचित्र, टेलिभिजन र थिएटरकी भारतीय अभिनेत्री हुन् ।  

'सामाजिक रूपान्तरणको लागि रङ्गमञ्च : विविधताको उत्सव' भन्ने नाराकासाथ मण्डला थिएटर थापागाउँ काठमाडौंमा मङ्सिर ९ देखि सुरु भएको नाट्य महोत्सव आगामी १७ गतेसम्म चल्नेछ । र महोत्सवमा १४ देशका २१ वटा नाटक मञ्चन हुनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले शुक्रबार महोत्सवको उद्घाटन गर्नुभएको हो । पहिलो दिन शुक्रबार नयनराज पाण्डेको कथामा आधारित दिया मास्के निर्देशित नेपाली नाटक ‘कथा कस्तुरी’ र अनिल सुब्बा निर्देशित नाटक ‘बुद्ध र भिकारी’ मञ्चन भएको हो । त्यस्तै पहिलो दिन बिहान ‘डिभाइजिङ अपेरेटिक ड्रामाटर्जी कार्यशाला’ साँझमा ‘ब्रिथ एण्ड बिट’ शीर्षकमा शलिल सुवेदी र नवरा गुरुङको साङ्गीतिक कार्यक्रम पनि भएको थियो ।

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश छन् ।

मण्डला थिएटरको थापागाउँ, काठमाडौंस्थित मुख्य नाटकघर, स्टुडियो र खुल्ला परिसर गरी तीन स्थानमा हरेक दिन फरक-फरक नाटकको एकदेखि पाँच मञ्चनसम्म हुनेछन् । महोत्सवमा ९ नाटकको भने दुई–दुई मञ्चन हुने तालिकामा उल्लेख गरिएको थियो ।

उद्घाटनको दिन दुई र समापनको दिन एक नेपाली नाटक मञ्चन हुनेछन् । विभिन्न देशका कला, संस्कृति, राजनीतिक-सामाजिक परिवेश र वस्तुस्थिति तथा भावना र संवेगको समग्रता यस महोत्सव रहेको उल्लेख गरिएको छ ।