• १२ साउन २०८१, शनिबार

हात उठाएर भोट दिनेको चाहना

विद्युतीय मतदान होस्

blog

काठमाडौँ, मङ्सिर ५ गते । २०१५ मा पुख्र्यौली थलो सोलुखुम्बुमा भएको त्यो पहिलो मतदान ८२ वर्षीय दीर्घबहादुर गुुरुङ अहिले पनि झलझली सम्झनुहुन्छ । बसाइँ सरेपछि काठमाडौँ क्षेत्र नम्बर ३ को बौद्धको पानीट्याङ्की मतदान केन्द्रबाट यस पटक मतदान गर्नुभएका उहाँले अहिलेको मतदान उहिलेको भन्दा निकै व्यवस्थित भएको बताउनुहुन्छ । उहाँजस्तै उमेरले नेटो काट्दै गएका मतदाता अबका निर्वाचनहरूमा विद्युतीय मतदान गर्न पाइयोस् भन्ने चाहना राख्नुहुन्छ ।

२०१५ सालमा पहिलो मतदान गर्दा उहाँ १६ वर्षको हुनुहुन्थ्यो । मतदानका लागि मतदान अधिकृतहरू पुगेका थिए । तर मत खसाल्ने बाकस थिएनन् न त कुनै कागजपत्रमा छाप लगाउने व्यवस्था नै थियो । सोलुखुम्बु, ओखलढुङ्गा र दिक्तेल सबैतिरका झन्डै तीन हजारभन्दा बढी मतदाता जम्मा भए । उहाँले सम्झनुभयो, “मतदान अधिकृतले तात्कालीन उम्मेदवार पेशलकुमार पोखरेलका पक्षमा मतदान गर्नेलाई हात उठाउन भने, अनि मैले जुरुक्क हात उठाएँ ।”

उहाँले जस्तै अधिकांश सबैले हात उठाए । नतिजा आउँदा हात उठाउनेको सङ्ख्या आधाजस्तै घटेर १७ सय जनाको मात्र आयो । उहाँले अगाडि भन्नुभयो, “त्यसमा मेरो मत प-यो कि परेन थाहा भएन । तर त्यसपछि आफ्नै जिल्लामा मतदान गर्न पाउनुपर्ने माग हामीले राख्यौँ ।”  

त्यही घटनापछि दिक्तेल र ओखलढुङ्गाको मतदान केन्द्र अन्य निर्वाचनमा सोलुखुम्बु बनेन, उनीहरू छुट्टिए । त्यो मतदानपछि उहाँले २८ वर्ष भारतीय सेनामा जागिरे जीवन बिताउनुभयो । त्यसयता काठमाडौँ बसाइँ सरेर कागजी मतपत्रमा मतदान गर्दै आउनुभएको छ । लाइन बसेर पूरै चेकजाँच गरेर भित्र बाकसमा खसाल्नुअघि औँलामा कालो मसी लगाएपछि बल्ल मतदान गरेको ठहर्छ । अहिले त कसले कता मत खसाल्यो भन्ने थाहा हुन गाह्रो हुन्छ । क्यामरा नि राखेको छ भनेर उहाँ ठट्टा गर्नुहुन्छ । 

उहाँको हालको दौँतरी बिर्खबहादुर गुरुङले भने जनमतसङ्ग्रहदेखि मात्र मतदान गर्नुभएको हो । मतदानका विगत र वर्तमानका दिनहरू स्मरण गर्दा उहाँले पनि दलगत एकरूपताभन्दा पनि उम्मेदवार छानेर दिएको बताउनुभयो ।  

बौद्धकै अर्को मतदान केन्द्र अरुणिमा मतदाने कन्द्रमा चार जना दौँतरीहरूले पनि विद्युतीय मतदान यसपालि पनि नआएकोमा दुःख मनाउन गर्नुभयो । सागरमणि लम्साल वर्ष ७०, भीमनाथ खनाल वर्ष ५९, मेघनाथ दाहाल वर्ष ६४ र जयनारायण पौडेल वर्ष ६३ ले पनि विद्युतीय मतदान गर्न नपाएकोमा खिन्नता पोख्नुभयो । 

यी दौँतरीले मतदान गर्दा फोनबाटै यस पटक अलिक फरक रूपमा मतदान गर्ने सल्लाह गर्नुभएको जानकारी दिनुभयो । भोट हाल्न पहिलेको जस्तो चिया पसलमा गफ गर्नुपर्दैन, फोन फोनबाटै सल्लाह गर्ने दिन आइसक्यो, देशले पनि प्राविधिक पहुँच मतदानमा बढाउनुप-यो ।