काठमाडौं, मङ्सिर २ गते । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि दक्षिण कोरिया र माल्दिभ्सको टोली काठमाडौं आइपुगेका छन् ।
दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङबेइ काङको नेतृत्वमा तीन सदस्य टोली तथा माल्दिभ्सका निर्वाचन आयोगका अध्यक्ष फुवाड थौफिकको नेतृत्वमा दुई सदस्य टोली निर्वाचन पर्यवेक्षणका लागि शुक्रबार काठमाडौं आइपुग्नुभएको हो ।
निर्वाचन आयोगकातर्फबाट सहसचिव विश्वप्रसाद अर्याल, उपसचिव एवम् सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल तथा शाखा अधिकृत दिपेश छाङ्छा र आशिष् खत्रीले उहाँहरूलाई स्वागत गर्नुभएको थियो ।
निर्वाचन पर्यवेक्षणका लागि आज भारत, बङ्गलादेश र भुटानका प्रमुख निर्वाचन आयुक्तसहितका टोलीहरू पनि आउँदै हुनुहुन्छ । मङ्सिर ४ गते आइतबार देशभर एक साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।