• १२ मंसिर २०८१, बुधबार

समस्या समाधानको पहल गर्ने गठबन्धन निर्वाचन परिचालन समितिको निर्णय

blog

सत्तारुढ गठबन्धनमा आवद्ध दलको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकमा सहभागी नेता । तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडौं, कात्तिक २४ गते। सत्तारुढ गठबन्धनमा आबद्ध दलको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले निर्वाचनका क्रममा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ। 

बिहीबार नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका निर्वाचन परिचालन समितिमा आबद्ध नेताको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा कांग्रेसको निर्वाचन परिचालन सचिवालय समिति संयोजक अम्बिका बस्नेतको अध्यक्षतामा बसेको बैठकले चुनावी अभियानमा देखिएको समस्या समाधान गर्दै जाने विषयमा छलफल गरेको हो। 

बैठकबारे जानकारी दिँदै नेपाली कांग्रेसका नेता तथा कांग्रेस निर्वाचन परिचालन सचिवालय समितिको सह–संयोजक दिव्यामणि राजभण्डारीले गठबन्धनका समस्या समाधान गर्दै धेरै भोट प्राप्त गर्ने गरी चुनावी अभियानमा जाने विषयमा छलफल भएको बताउनुभयो। उहाँले स्थानीयदेखि केन्द्रीय स्तरसम्मका पार्टी सदस्यलाई चुनावमा परिचालन गर्ने सम्बन्धमा सहमति भएको उल्लेख गर्नुभयो। 

नेकपा (माओवादी केन्द्र) का नेता महेश्वर दाहालले कतिपय ठाउँमा अझै पनि बागी उम्मेदवार रहेका ठाउँमा फिर्ता गराउने विषयमा छलफल भएको बताउनुभयो। त्यस्तै गठबन्धनका नेता, कार्यकर्ता नै चुनावमा सक्रिय नभएको भन्दै उहाँले त्यस्ता समस्या समाधानका लागि गठबन्धनमा छलफल अघि बढेको बताउनुभयो। 

बैठकमा नेपाली कांग्रेसको तर्फबाट नेता अम्बिका बस्नेत, दिव्यामणि राजभण्डारी र सुरेश आचार्यको सहभागिता थियो भने नेकपा (माओवादी केन्द्र) बाट महेश्वर दाहाल, गोविन्द आचार्य र विष्णु सापकोटाको सहभागिता थियो। त्यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट लक्ष्मण केसी, लोकतान्त्रिक समाजवादी पार्टीबाट दामोदर आचार्य र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरीको उपस्थिति रहेको थियो।