• ७ मंसिर २०८१, शुक्रबार

कात्तिक नाचको अन्तिम दिन : 'दधी लीला' नाच हुने

blog

तस्बिर : मनोजरत्न शाही ।

काठमाडौं, कात्तिक २२ गते । आज कात्तिक नाचको दशौं दिन अर्थात् अन्तिम दिन ‘दधी लीला’ नाच प्रदर्शन हुँदैछ । कात्तिक नाच संरक्षण समितिका कोषाध्यक्ष एंवम कलाकार किरण चित्रकारका अनुसार आजको नाच कृष्णलीलासँग सम्बन्धित नाच हो । भगवान् कृष्णको गोपिनीहरूसँगका रासलीलालाई नाचमार्फत आज प्रस्तुत गरिनेछ । 

यस्तो छ नाचको कथा : आजको 'दधी लीला' नाच कृष्णलीला अर्थात् भगवान् श्री कृष्णको बाल्यकालमा आधारित रहेको छ । बाल्यकालमा भगवान् कृष्णको गापिनीहरुसँग बिताएका रमाईला र अविस्मरणीय पलहरू आजको कात्तिक नाचमा देख्न सकिन्छ । 

गोपिनीहरू जमुना पारी जाने क्रममा कृष्ण डुङ्गा लिएर नदी छेउ बसेका हुन्छन् । त्यसैले गोपिनीहरूले भगवान् कृष्णसँग नदी पार गर्दिन आग्रह गर्छन् । यसपछि कृष्णले पनि नदी पार गराएपछि आफूलाई ज्याला चाहिने माग गर्छन् । 

यसरी गोपिनीहरूले फर्किने क्रममा भगवान् कृष्णलाई दही दिने प्रतिबद्धता जनाउँछन् । यसरी नदी पार गरेर गएका गापिनीहरुले फर्केपछि भने कृष्णलाई दही दिन मान्दैनन् । यसपछि बोलेका कुरा पुरा नगरेपछि कृष्णले रिसाएर गोपिनीको दहीको भाँडा फुटाइदिन्छन् । गोपिनीहरू पनि रिसाएर कृष्णलाई घेरेर यातना दिन सुरु गर्छन् । आजको 'दधी लीला' नाच सोही कथामा घुमेको छ । 

१३ जना कलाकारको उपस्थितिमा देखाइने आजको 'दधी लीला' नाच हरेक दिन जस्तै आज पनि साँझ ७ बजे पाटनस्थित कात्तिक डबलीमा प्रदर्शनी हुनेछ । 

३८२ वर्ष पुरानो यस नाचलाई सिद्धिनरसिंह मल्लले सञ्चालनमा ल्याउनुभएको थियो । राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणको लागि उहाँका गुरुद्वय हरिवंश उपाध्याय तथा विश्वनाथ उपाध्यायको सल्लाहमा ‘कात्तिक नाच’ चलाएको जनविश्वास रहेको कोषाध्यक्ष शाक्य बताउनुहुन्छ । 

पाँच दिनबाट सुरु भएको यो नाच पछि गएर राजा सिद्धिनरसिंह मल्लका छोरा श्री निवास मल्लले यस नाचमा ‘बाँथ प्वाँख’ अर्थात् ७ दिनको लोक नाटक थपेर १२ दिनसम्म सञ्चालन रहने व्यवस्था गर्नुभएको थियो । यसपछि श्री निवास मल्लका छोरा योग नरेन्द्र मलले थप १५ दिन अर्थात् उषाहरण लीला र माधवनर लीला नाच थपेर तिहारको तीन दिन बाहेक कात्तिक महिनाभरि २७ दिन सञ्चालन गर्नुभएको थियो । 

यसरी, कात्तिक महिनामा देखाइने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको संस्कृतिविदहरु बताउनुहुन्छ ।