नारद कोहार
तौलिहवा(कपिलवस्तु), कात्तिक ११ गते । नेपालको पूर्वी जिल्लामा एक दशक अघिसम्म सिमित रहेको छठ पर्व अहिले छठ समावेशी, एकता र सदभावको पर्व बन्दै गएको छ । तीन दशक अघिसम्म पूर्वी जिल्लाबाट नोकरीका लागि जिल्लामा आएका तीन चार परिवारले मात्र जिल्लामा छठ पर्व मनाउने गर्थ्यो । तर अहिले भने छठ पर्व जिल्लामा एकता र सदभावको पर्व बनेको छ ।
जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगर लगायत कपिलवस्तुको ६५ स्थानहरुमा मैथली, अवधी र पहाडी समुदायका महिलाहरुले सोमबार साँझको अस्ताउँदो सूर्य र मङ्गलबार बिहानको उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व मनाएका छन् । गत वर्षहरुको तुलनामा कपिलवस्तुको सदरमुकाम तौलिहवा लगायतका क्षेत्रमा छठ पर्व मनाउने महिलाहरुको सङ्ख्या उल्लेख्य मात्रामा बढेको छ ।
यहाँको नदी किनारालाई छठ पर्व मनाउन झकी झकाउ पारिएको थियो । जमुवार नदी, रामघाट नदी र कृष्णनगर, बहादुरगंज, पकडी, लबनी लगायतका नदी तटीय क्षेत्रमा जम्मा भएका महिला तथा पुरुषहरु छठ पर्व मनाउँदै रातभर जाग्रम वसी भजन किर्तन गरेका थिए ।
नदी, तलाउ र अन्य जलाशयमा बनाइका रंगीचंगी घाटमा नुहाएर व्रतालुले अस्ताउँदो सूर्यलाई र आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व विधिवत सम्पन्न गरेका छन् ।