• १२ कात्तिक २०८२, बुधबार

दुर्घटनामा तीनको मृत्यु, चार गम्भीर घाइते

blog

दुर्घटनाग्रस्त अवस्थाको विद्युतीय गाडी ।

लक्ष्मण पौडेल

भैरहवा, कात्तिक १२ गते । रुपन्देहीको कन्चन गाउँपालिका–५, फायरलाइनस्थित भित्री सडक खण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख. ७७८२ नम्बरको इभी गाडी रुद्रपुरतर्फ आउँदै गर्दा राति करिब १०ः३० बजे अनियन्त्रित भई सडक छेउँमा रहेको बाँझीको रुखमा ठोक्किएको थियो । दुर्घटनामा सवार सात जनामध्ये तीन जनाको मृत्यु भएको र चार जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक अनिल खड्काले जानकारी दिनुभयो । 

मृत्यु हुनेमा सैनामैना–८, बासगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम विक रहनुभएको छ । आचार्यको राति १२ः३० बजे पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । यस्तै थापा र विकको कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उहाँका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहनुभएको छ । उहाँहरूको टाउकोमा गम्भीर चोट लागेकाले मध्यरातमा थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल र मरसिटी अस्पताल बुटवल पठाइएको खड्काले बताउनुभयो ।

दुर्घटनाको कारण अत्यधिक गतिका कारण गाडी अनियन्त्रित भइ सडकबाट तल खसेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनास्थलमा पुगेको रुद्रपुर इलाका प्रहरी कार्यालयको टोलीले राति नै उद्धार कार्यगरी घाइतेहरूलाई उपचारका लागि पठाएको हो । गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ ।