लीलाधर वली
घोराही, कात्तिक १२ गते । दाङको घोराहीमा सञ्चालन भएको सहुलियत पसलबाट ७२ हजारको नुन बिक्री भएको छ । दसैँ, तिहार र छठ पर्वको अवसरमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालन गरेको सहुलियत मूल्यको पसलबाट पाँच सय जनालाई ७२ हजार रुपियाँ मूल्यको नुन बिक्री गरेको हो ।
सहुलियत मूल्यको पसल भदौ ३० गतेदेखि कात्तिकको नौ गतेसम्म सञ्चालन भएको थियो । उक्त पसलबाट तीन हजार किलो नून बिक्री गरिएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दाङका प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिनुभएको छ । उहाँका अनुसार सहुलियत मुल्यको पसलबाट ग्राहकलाई बजारमा २६ रुपियाँ पर्ने एक किलो नुनको प्याकेट दुई रुपियाँ कम २४ रुपियाँमा बिक्री गरिएको थियो ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दाङ शाखाले गतवर्ष सहुलियत मूल्यको पसलबाट एक हजार आठ सय ६७ जनालाई ११ हजार दुई किलो नुन बिक्री गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष धेरै कम नुन बिक्री भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दाङका प्रमुख गुप्ताले बताउनुभयो ।
गत वर्ष सहुलियत मुल्यको पसलबाट नुनसँगै निजी पनि बिक्री गर्दा ग्राहक धेरै आएको तर अहिले चिनी नहुँदा विगतका वर्षको तुलनामा निकै कम नुन बिक्री भएको प्रमुख गुप्ताको भनाइ छ । कार्यालय प्रमुख गुप्ताका अनुसार गतवर्ष सहुलियत मूल्यको पसलबाट दुई हजार छ सय ९२ जनालाई १६ हजार एक सय ५२ किलो चिनी बिक्री गरिएको थियो ।