• १३ पुस २०८१, शनिबार

सन्तुको प्रतीज्ञा

blog

“हामी एक भारी घाँस नकाटी स्कुल जानै पाउन्नथ्यौँ । नटालेको भन्ने लुगा नै हुँदैनथ्यो । आज आफूले खाइ नखाइ सबै कुरा पु-याइदिँदा मात चढेर स्कुल पो जान्न भन्छ । के गरेर जीवन चलाउने होला यसले ।” घामको रापसँगै कचकचको ताप चढ्न थालेको थियो सन्तुका घरमा । “केटाकेटीलाई सधैँ झपारेर मात्र हुन्छ र, उसको कुरै नसुनिदिएपछि के गरोस् त विचरा ! आइज बाबु भित्र ।” आमाले सन्तुको कपाल मुसार्दै भान्सातिर लैजानुभयो । सन्तु पनि आमाको आड पाएर हो कि घुक्कघुक्क गर्दै आँसुका धारा बगाउन थाल्यो । “केटाकेटीलाई धेरै लोलोपोतो गरेपछि तह नलाग्दा रहेछन् । सानो छँदा मर्ला कि भन्ने डर ठूलो भएपछि मार्ला कि भन्ने डर हुन्छ भन्थे, आखिर सुखसन्तोष नपाई बित्ने भयो जुनी ।” बाबा फतफताउँदै पसलतिर जानुभयो ।

हेर, बजियाले मेरो मजेत्रोभरि सिँगान र आँसु बनाएछ । अब त ठूलो भयौ नि बाबु । किन सधैँभरि दुःख दिन्छौ हामीलाई ? केही धन कमाइदिन सके तिमीलाई सुख होला भनेर बाबा रातदिन पसलमा काम गर्नुहुन्छ म पनि हुँदाखाँदाको जागिर छोडेर तिम्रै लागि भनेर घरमा बसेकी छु । केही कुराको कमी हुन दिएका छैनौँ । तिमीलाई के गर्ने मन छ, भन त ? अब गर्दागर्दै स्कुल नै जान्नँ भनेर पनि हुन्छ ? आमाका कुरामा केही प्रतिक्रिया जनाएन सन्तुले । “घरको एक्लो सन्तान, हाम्रो आशाको दियो, तिमी यसरी बरालिनुहुन्छ र बाबु” आमाले फेरि थप्नुभयो । यस पटक भने मुख खोल्यो सन्तुले “तपाईंहरूलाई साँच्चै मेरो माया लाग्दैन र ? मैले राम्रो पढिनँ भने म तपाईंको छोरा हुँदिनँ र ? 

बाबा सधैँ परीक्षामा राम्रो नगरे घरबाट निकालिदिन्छु भन्नुहुन्छ । मलाई माया गर्ने आमा त मसँगै हुनुहुन्छ नि भनेर मन दह्रो पार्छु । फेरि तपाइँं पनि रुँदै घर छोडेर बेपत्ता हुने कुरा गर्नुहुन्छ । स्कुलबाट फर्कंदा केही भइहाल्ने हो कि भनेर कति डर लाग्छ । म जहिले पनि घरबाट निस्कनु परे कहाँ जाने होला, हजुर घर छोडेर भागे हजुरलाई कसरी भेट्ने होला भन्ने चिन्ताले आत्तिन्छु । फेरि लाडे स्वरमा भन्यो, “हजुरले घर छोड्ने भए मलाई पनि सँगै लैजानुस् है । म त स्कुल जाँदै जान्नँ ।”

छोराको कुराले आमाको भक्कानो फुट्यो । आँसु पुछ्दै सन्तुलाई काखमा राख्नुभयो । न सन्तुले आमालाई सम्झाउन सक्यो, न आमाले सन्तुलाई नै केही भन्न सक्नुभयो । आमाछोराका बीचमा केही कुरा भएनन्, दुवैले आँसुका भाषामा आफ्ना भाव व्यक्त गरिरहे । सन्तु त एकै छिनमा आमाका काखमा निदाइसकेछ । छोरालाई बिछ्यौनामा सुताएर आमा सुसेधन्दा गर्न थाल्नुभयो । 

सपनामा सन्तु स्कुल पुग्यो । ऊ अरू दिनजस्तो झोक्राएर बसेन । शिक्षकसँग निकैबेर कुराकानी ग¥यो । कक्षाको नेता छान्ने दिन रहेछ । शिक्षकले सन्तुजस्तो असल, सहयोगी र मिलनसार विद्यार्थीलाई कक्षा नेता बनाउने प्रस्ताव राख्नुभयो । सबै विद्यार्थीले ताली बजाएर समर्थन गरे । प्रधानाध्यापकले सन्तु र अरू कक्षा नेताहरूलाई शपथ खुवाउनुभयो । साथीसँग झर्किने, झगडा गर्ने अनि किताबकापी च्यातिदिने सन्तु साथीहरूकै बीचमा मौरीको रानुजस्तै सबैको प्यारो बनेको थियो । निकै रमाइलोसँग दिन बित्यो । सबैले सन्तुलाई बधाई दिए । विद्यालय बिदा भएपछि सन्तु घरतिर लाग्यो तर यस पटक भने उसलाई खुट्टाले साथ दिएनन् । छिटोछिटो घर गएर आफू कक्षाको नेता बनेको कुरा बाबाआमालाई सुनाउने उत्कट इच्छाले गर्दा ऊ हिँड्ने प्रयास गरिरह्यो तर खुट्टा अघि सार्नै सकेन । ऊ बडबडायो । आमा पल्लो कोठामा आज बिहान सन्तुले गरेका कुरा बाबालाई बताइरहनुभएको थियो । आफूहरूका कारणले सन्तु स्कुल जान नमानेको कुरा भन्दै गर्दा चिच्याएको आवाज आयो । आमा ! भनेर चिच्याएको सुनेपछि ऊ सुतेको ठाउँमा आएर आमाले सन्तुका निधार छाती र कपाल सुम्सुम्याउनुभयो । सन्तु अर्धनिद्रामै आमाका काखमा सिरानी गरी पल्टिरह्यो ।

होइन, के भएछ ? फेरि निदायो ? आफ्नो छोरालाई घरबाट निकालेर हामी कससँग बस्ने होला र ? राम्रो गरोस्, नराम्रा काम नगरोस् भनेर डर पो देखाएको, यत्ति पनि बुझेनछ सन्तुले । बाबा पनि सन्तु सुतेकै कोठामा आउनुभयो । “छोरालाई त हजुरले राम्रो गरेन भने घरबाट निकालिदिने अनि मैले घर छोडेर जान्छु भन्ने गरेको कुराले निकै आघात पारेछ । गल्ती गर्छु कि भन्ने डरले एक वर्षदेखि साथीसँग पनि खेल्दो रहेनछ । घरबाट हिँडेदेखि नै उसलाई डर लाग्दो रहेछ । म घर जाँदा आमा कतै बेपत्ता हुनुभएको भए के गर्ने होला भनेर सोच्दो रहेछ ।” अनि तिमीले के भन्यौ त ? बाबाको प्रश्न नसकिँदै आमा फेरि रुन थाल्नुभयो । “मैले आफ्नै मुटुको टुक्रालाई पीडा दिएकी रहेछु । पश्चातापले मेरो वाक्य नै बन्द भयो । केही सम्झाउन सकिनँ । विचरा ! रुँदारुँदै निदायो” आमाले भन्नुभयो ।

“बच्चालाई डर त्रास देखाएर अनुशासनमा राख्नु हाम्रो गल्ती हो । हामीले उसको बुझाइ र मनोविज्ञानलाई ध्यान दिएनौँ । ‘मैले राम्रो गरेर स्कुलमा पाएको’ भन्दै किताब, कापी र पेन्सिलहरू घर ल्याउँथ्यो । हामीले उसलाई प्रोत्साहन गरेनौँ । मनभरि माया भए पनि माया देखाएनौँ । अर्ती मात्र दियौँ, उसका कुरा सुन्नै खोजेनौँ । हामीले ठूलो गल्ती गरेका रहेछौँ । अब उसलाई कुरो बुझाउनुपर्छ ।” बाबाले भन्नुभयो । धन्न केही दुर्घटना भएनछ । मान्छेले देखाउनका लागि त कस्तो माया गरेका हुन्छन् । हामीले आफ्नै सर्वस्वलाई माया लुकाएर कस्तो कठोर व्यवहार गरेछौँ । सम्झाऔँ, बुझाऔँ । उसले पनि कुरा बुझ्ला ।

अर्धनिद्रामा बाबाआमाका कुरा सुनिरहेको सन्तु फेरि घुक्क घुक्क गर्दै रुन थाल्यो । “होइन, बाबु म तिमीलाई छोडेर कतै जान्नँ नि” आमाले अँगालो हाल्नुभयो । “छोरा ! बरु म नै निस्कुला, तिमीलाई किन निकाल्थेँ र घरबाट” बाबा पनि भक्कानिनुभयो । 

“सुतेको बेला मैले हजुरहरूले गर्नुभएको कुरा सुनेँ । मैले हजुरहरूलाई बुझ्न सकेको रहेनछु । म सधैँ राम्रो काम गरेर हजुरहरूको मुहारमा खुसी ल्याउँछु । अब घरबाट निस्कने र निकाल्ने कुरा गर्दै नगरौँ है । स्कुलमा पनि सपनामा जस्तै राम्रो काम गर्छु ।” सन्तुका कुराले बाबाआमा दुवैमा लज्जा, हर्ष र विस्मात्का भाव एकैचोटि देखा परे ।