गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १८ गते । सरकारले जेनजी आन्दोलनका क्रममा काठमाडौँसहित विभिन्न जिल्लामा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
मन्त्री खरेलले नेपालको राष्ट्र हित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्ने निर्णय भएको बताउनुभयो ।
“गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा रहेको समितिको रिपोर्टका आधारमा सहिद घोषणा भयो । गृह मन्त्रालयको समिति, विभिन्न जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, सरोकारवाला निकाय सबैतिरबाट आएको अध्ययनले समेत छानबिन गर्यो । अध्ययनमार्फत ४५ जनालाई सहिद घोषणा गरिएको छ,” उहाँले भन्नुभयो, “अरू थप मृत्यु भएका व्यक्तिका विषयमा अध्ययन हुँदै छ । त्यसपछि मात्रै निक्र्योल हुने जानकारी गराउँछु ।”
जेनजी आन्दोलनमा कुल ७६ जनाको मृत्यु भएको थियो । जसमा सरकारले ५३ जनालाई प्रतिव्यक्ति १५ लाख रुपियाँ राहत उपलब्ध गराएको थियो । अरू जेनजी आन्दोलनमा १० जना कैदी, पहिचान नखुलेका १२ जनाको मृत्यु हुनुका साथै एक जना भारतीय नागरिकको पनि मृत्यु भएको थियो । ती व्यक्तिलाई भने राहत दिइएको थिएन ।
मन्त्री खरेलले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय भएको जानकारी दिनुभयो । बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय पनि भएको छ । मन्त्री खरेलले विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको इलामका प्रभावित स्थानीय तहलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने जम्मा पाँच करोड ३० लाख रुपियाँ विपत् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।


