• ८ वैशाख २०८१, शनिबार

चलचित्र समाजको ऐना

blog

महेश प्रसाईं

चलचित्र जीवन्त साहित्य हो । यसलाई समाजको ऐना पनि भनिन्छ । कथा, कविता गीत गजल, मुक्तक, नाटक, निबन्ध, उपन्यास, काव्य वा महाकाव्यसरह चलचित्रले पनि जीवनको प्रतिविम्ब प्रकट गर्छ । चलचित्रको माध्यमबाट जाति, भाषा, साहित्य, संस्कृति, ज्ञान–विज्ञान, प्रविधि, गीत, सङ्गीत, कला कौशलको प्रवद्र्धन गर्दै राष्ट्रको पहिचान विस्तार गरी समाजलाई बाटो देखाउने माध्यम पनि हो । 

करिब सात दशक लामो इतिहास बोकेको नेपाली चलचित्रलाई आधुनिकीकरण गर्न धेरैले अतुलनीय भूमिका निर्वाह गर्ने प्रमुख व्यक्तित्वमध्येको हुनुहुन्छ यादव खरेल । काठमाडौँदेखि ७०–७५ किलोमिटर पूर्वपलाञ्चोक खरेल थोकको साधारण किसान परिवारमा जन्मनुभएका यादव खरेलले साहित्यका विभिन्न विधामा कलम चलाउनुभएको छ । 

तथापि उहाँले प्रेमपिण्ड, श्री स्वस्थानी, नासो, हत्तेरी, आदिकवि भानुभक्त, महाकवि लक्ष्मीप्रसाद देवकोटाजस्ता एक दर्जनभन्दा बढी लोकप्रिय सन्देशमूलक चलचित्र र वृत्तचित्रको लेखन, निर्देशन र निर्माण गर्नुभएको छ । एक दर्जन जति साहित्यिक कृतिका अतिरिक्त एक दर्जनकै हाराहारीमा बालसाहित्य  लेखक खरेलले करिब दुई दर्जन गीति एल्बम छन । 

काभ्रेपलाञ्चोक जिल्लाको पलाञ्चोक खरेल थोकमा वि.सं. १९९९ फागुन महिनामा जन्मनुभएका यादव खरेल एक प्रसिद्ध कवि, गीतकार, चलचित्र निर्माता, निर्देशक, पटकथाकार, सञ्चारकर्मी, राष्ट्रवादी चिन्तक, बालसाहित्य लेखकका अतिरिक्त सामाजिक अभियन्ताका रूपमा प्रसिद्ध हुनुहुन्छ । भाइबहिनीहरू, यिनै व्यक्तित्वले समाज, राष्ट्र र अन्तर्राष्ट्रियमा आफ्नो देशको पहिचान स्थापित गर्दै, विविधतामा एकतालाई रूपान्तरण गर्दै जनजागरणको अभियान चलाएका हुन्छन् । 

‘जब भयो असी तब कुना पसी’ भन्ने उखानलाई चुनौती दिँदै ८० वर्षीय यादव खरेल एक जवान पठ्ठोसरह आफ्ना साधना र कर्मक्षेत्रमा क्रियाशील नै हुनु हाम्रा लागि शिक्षा पनि हो ।  

जरा प्रेम के हो  

जरा प्रेम भनेको माटो प्रेम हो । संस्कृति प्रेम हो । वि.सं. २०२६–२०२७ तिर मलाई राजा महेन्द्रले लन्डन युनिभर्सिटीअन्तर्गत फिल्म स्कुलमा चलचित्र पढ्न बेलायत पठाएका थिए । सोही बखत मैले बीबीसीमा नेपाली कार्यक्रम चलाउन थालिसकेको थिएँ । म बेलायतमा रहँदा युवराज वीरेन्द्र आएका थिए । बीरेन्द्रको स्वकीय सचिवसित अन्तर्वार्ताका लागि समय मागेको थिएँ । स्वकीय सचिवले समय नमिलाए पनि एउटा रात्रि भोजमा वीरेन्द्रसित भेट भएको थियो । वीरेन्द्रलाई भोजमै प्रश्न सोध्ने आग्रह गरेँ । देश र जनताको जीवनस्तर समृद्ध तुल्याउन के गर्नु पर्ला भनेर मैले प्रश्न गरेको थिएँ । 

प्रजातन्त्रको बहाली र आर्थिक क्रान्तिको आवश्यक रहेको सन्दर्भमा खुलेरै कुरा गरेका थिए उनले । नेपालमा चाहिँ यो अन्तर्वार्ता पञ्चायती सरकारले ‘ब्ल्याक आउट’ गरेको   थियो । दोस्रो प्रसङ्ग पनि छ त्यहाँ । त्यसै ताका राजा महेन्द्र बेलायत आएका थिए । उनी लन्डनको ‘केन्सिङ्गटन प्यालेस गार्डेन’ नामक पाँचतारे होटलमा बसेका थिए । त्यहाँ राजा महेन्द्रसित देशको समसामयिक स्थिति, नेपाली जनताको जीवनस्तर तथा शिक्षा, सञ्चार र विकासमाथि गरिएका वार्ताहरू चाहिँ सर्वत्र छापियो । रेडियो नेपालमा धेरै पटक प्रसारण गरियो । 

यसरी बेलायत पढ्न बस्दा बीबीसीले स्थायी जागिर दिएको थियो तर म नेपालमै फर्किएर देशको सेवा गर्न चाहन्थेँ । मैले हासिल गरेको ज्ञान र प्रविधिबाट नेपाली चलचित्र क्षेत्रलाई उन्नत बनाउन चाहन्थेँ । 

म जरा प्रेमी थिएँ । बेलायतमा बस्दा त्यो जरा काटिने डर थियो किनभने मेरा छोराछोरी बेलायती हुने डर थियो । नयाँ पुस्ताले आफ्नो जरा अर्थात् आफ्नो जाति भाषा, कला–संस्कृति एवं मूल्य र मान्यता बिर्सनु हुँदैन । आफ्नो जन्मभूमिभन्दा ठूलो कुरा केही हुँदैन । 

 माटो प्रेम के हो 

म बेलायतमा बस्दा तिलशङ्कर भन्ने नेपाली दार्जिलिङबाट आएर बेलायती अङ्ग्रेज बालबालिकालाई अङ्ग्रेजी पढाउँथे । टेम्स नदीको किनारमा यी तिलशङ्करसित भेट भएको थियो । उनी नेपाली हुनुमा गर्व गर्थे । 

एकपल्ट तिलशङ्करलाई बेलायतका ‘स्किन हेड’ हरूले (त्यहाँका गुण्डाहरूले) घेरेर आक्रमण गर्न खोजेका थिए । उनले ‘जय गोर्खाली’ भनेर कराएर तर्साएपछि ती ‘स्किन हेडहरू’ भागेका थिए ।  गोर्खालीको शक्ति यसैबाट थाहा हुन्छ । 

वि.सं. ०७२ को विनाशकारी महाभूकम्पमा खरेल थोकको पैतृक घर भत्कियो । आफू जन्मिएर हुर्केको– खेलेको घरलाई पुनर्निर्माण गरेँ । आफ्नो माटो प्रेमले मलाई त्यहाँ पु¥याउँछ । त्यहाँबाट सुन्दर बेँसी र खुलेको हिमाल देखिन्छ । मलाई त्यहीँ 

पुगेपछि सबैभन्दा आनन्द आउँछ । 

 बाल कार्यक्रमको औचित्य 

वि.सं. २०१६ देखि २०२४ सम्म मैले रेडियो नेपालबाट बाल कार्यक्रम चलाएको थिएँ । राजेन्द्र थापा, सन्तोष पन्त, कपिल श्रेष्ठ, शम्भुजित बाँसकोटा, दीपक जङ्गमजस्ता अहिलेका चर्चित व्यक्तित्वहरू भाग लिन्थे, मैले चलाएको त्यस कार्यक्रममा । बाल कार्यक्रम चलाउँदा रेडियो नेपालले रु. ६५।– दिन्थ्यो ।

 भाग लिने बालबालिकालाई रु. ३।– का दरले बाँडिन्थ्यो । केटाकेटी  खुसी हुन्थे । यो कार्यक्रम चलाइरहेका बेला एक पटक दरबारबाट राजा महेन्द्रको फोन आयो । कुनै बालकले राम्रो कविता सुनाएको रहेछ, उसलाई रु. ५००।– पठाइयो । 

त्यस बालकले त्यो पैसाबाट किताब किन्छु भनेको थियो । यिनै प्रसङ्गबाट प्रेरित भएर मैले बालबालिकाको मानसिक स्तर विकास गर्ने उद्देश्यले अनगिन्ती बालसाहित्यका पुस्तक लेखेको हुँ । बालबालिका देशका प्रमुख जग हुन् । यिनीहरूको नैतिक एवं मानसिक स्तर सबल भयो भने देशले दक्ष र योग्य जनशक्ति हासिल गर्छ ।