विद्यार्थीहरूमा अतिरिक्त किताब पनि पढ्ने संस्कृति बिस्तारै सुरु भएको छ । चितवनका विद्यालयले साप्ताहिक या मासिक रूपमा नै पठन संस्कृति अभियानलाई निरन्तरता दिइरहेका छन् । पछिल्लो समय यो अभियान मुलुकका धेरै जसो जिल्लामा सुरु भएको छ ।
पढ्ने बानी कसरी बसाल्ने ?
विद्यार्थीले पाठ्यक्रमका किताब पढिरहेकै हुन्छन् । केही सन्दर्भ किताब पनि पाठ्यक्रमसँगै राखिएकै हुन्छन् । यिनै किताब पढ्दै गर्दा र गृहकार्य गर्दा विद्यार्थीलाई फुर्सद पनि हुँदैन तर विद्यार्थीलाई पाठ्यक्रमका किताबले मात्रै आवश्यक खुराक पुग्दैन ।
हप्तामा एक दिन वा पाक्षिक तथा मासिक रूपमा अतिरिक्त किताब पढ्ने तालिका बनाएमा पढ्ने बानी बसाल्नलाई सहयोग पुग्छ । कुनै पनि काम गर्नुपूर्व सबैभन्दा पहिला त्यस कामप्रति लगाव हुनु जरुरी छ । कुनै पनि काम राम्रोसँग गर्न त्यस कामप्रति समर्पणभाव आवश्यक पर्छ । त्यसैले तालिका बनाएर पढ्ने बानी बसाल्न सकियो भने पढ्ने कुरामा अगाडि पढ्न सकिन्छ ।
किताबको छनोट
पढ्ने बानी बसाल्न सबैभन्दा महत्वपूर्ण कुरा किताबको छनोट पनि हो । बजारमा सबै किसिमका किताब पाइन्छन् । हामीले बुझ्नुपर्ने कुरा के हो भने सबै किताब सबैका लागि होइनन् । बजारमा विद्यार्थीका लागि उपयोगी भनेर प्रचार गरिएका किताब पनि हुन्छन् । विश्वप्रसिद्ध व्यक्तिको जीवनी, सफलताका कथा, प्रेरणादायी अभिव्यक्ति, बालकथा, नैतिक शिक्षाका किताब, इतिहास–भूगोलबारेमा लेखिएका किताब विद्यार्थीलाई अत्यन्तै उपयोगी हुन्छन् ।
अर्को महत्वपूर्ण कुरा के पनि हो भने विद्यालयका किताब सँगसँगै अतिरिक्त किताब पढ्ने विद्यार्थीले परीक्षामा उच्च अङ्क ल्याउनुका साथै विद्यालयमा, समाजमा जनसम्पर्क बढाएर हरेक कुरामा अब्बल देखिन सफल हुन्छन् ।
विद्यार्थीलाई अध्ययनशील बनाउन परिवारको भूमिका पनि महìवपूर्ण मानिन्छ । जुन घरमा अभिभावकले नियमित रूपमा किताब पढ्ने, पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, युट्युब र सामाजिक सञ्जालमा राम्रा सामग्री हेर्ने गर्नुहुन्छ, त्यस घरका बाबुनानीलाई यसको सकारात्मक प्रभाव परेको हुन्छ । अभिभावकले आफूले किताब खरिद गर्दा आफ्ना बाबुनानीका लागि पनि किताब खरिद गरेर दिन सकेमा उनीहरूले पनि पढ्ने बानी बसाल्न सक्छन् । विद्यार्थीलाई पढ्ने बानी बसाल्न सबैभन्दा महत्वपूर्ण हात परिवारकै हुने गर्दछ ।
पुस्तकालयले पठन संस्कारलाई बढावा दिइरहेका छन् । विद्यालय तथा गाउँटोल, सहरबजारमा पुस्तकालय हुन्छन् । ती पुस्तकालय कार्यालय समयमा खुलेका हुन्छन् । पुस्तकालयमा सबैको पहुँच हुन्छ । पुस्तकालयमा दिनभरि बसेर पढ्न पाइन्छ । कतिपय पुस्तकालयले घरमै किताब लगेर पढ्न पाइने सुविधा दिएका हुन्छन् । पुस्तकालयमा नयाँ पुराना सबैखाले किताबको सङ्कलन हुन्छ । विद्यालयमा अथवा समाजमा पुस्तकालयको महत्वबारेमा छलफल गर्दै नियमित रूपमा पुस्तकालय जाने र पढ्ने बानीलाई अभियानका रूपमा पनि लैजान सकिन्छ । पुस्तकालयमा नियमित रूपमा किताब थप्ने व्यवस्था पनि आपसी छलफल र सहकार्यमा गर्न सकिन्छ ।
अरु पनि उपाय
हामीले विद्यार्थीलाई मात्रै होइन, अरूलाई पनि विशेष अवसरमा किताब उपहार दिने बानी बसालौँ । हामीले पाएका विभिन्न खाले उपहार हेरौँ त एक पटक, ती कति उपयोगी होलान् ? तर किताब सम्झनुस् त ! ककसलाई काम लाग्छ ? खासमा भन्ने हो भने किताब सर्वोत्तम उपहार हो । यो सबैलाई काम लाग्छ ।
पढेर ज्ञान आर्जन गर्न सकिन्छ, आफूले पढी सकेर अरूलाई पढ्न दिँदा पनि ज्ञान बढाउन सकिन्छ । उपहार पाएका या खरिद गरिएका किताब घरमा सजाएर राख्दा घरको शोभा पनि बेग्लै देखिन्छ । त्यसैले किताब पढौँ, अरूलाई पनि पढ्न प्रेरित गरौँ, उपहारस्वरूप पनि किताब लिनेदिने बानी बसालौँ । जन्मदिन जस्ता विशेष अवसरमा मुना मासिक बालपत्रिका वा अन्य बालसाहित्यका पुस्तक पनि दिन सकिन्छ । एक पटक यो उपाय अपनाएर हेर्नुहोस्, कस्तो लाग्छ ?