निखिल पहिलो घन्टीदेखि नै निन्याउरो देखिन्थ्यो । दोस्रो घन्टीदेखि अलि धेरै साह्रो भयो । त्यसैले हेडसरलाई भन्न गएँ । हेडसर आएर सोध्नुभयो । उसलाई टाउको दुखेको रहेछ । म र अनिशलाई चिराइतो उखालेर जरासहित ल्याउन लगाउनुभयो ।
हामीले ल्याएको चिराइतोलाई हेडसरले मसिनो हुने गरी पिस्नुभयो । पानीमा केहीबेर राख्नुभयो र एउटा पातलो कपडा ल्याएर तार्नुभयो । निखिललाई पिउन दिनुभयो । हामी त छक्क प¥यौँ । किन खान दिनुभएको होला ? कसैले सोध्ने आँट गरेनौँ । उहाँ जानुभयो । केही बेरपछि हाम्रो सेरोफेरो पढाउने रिमा मिस आउनुभयो । हामीलाई साह्रै मन पर्ने मिस । निखिल डेस्कमा नै घोप्टिराखेको थियो । मैले मिसलाई सबै बेलिबिस्तार लगाएँ । रमेशले बिनाहिचकिचाहट जुरुक्क उठेर सोध्यो, “मिस हेडसरले निखिललाई किन चिराइतो खुवाउनुभएको ?”
“यसबारेमा मलाई हेडसरले भनिसक्नु भएको छ । उहाँले आजको क्लासमा जडीबुटी खेती र सङ्कलनका बारेमा विद्यार्थीलाई बताइदिनुहोस् भन्नु भएको छ । त्यसैले आजको हाम्रो क्लास यसैको बारेमा हुने छ,” मिसले भन्नुभयो । हामी सबैको जिज्ञासा मेटिने भयो । उहाँले अरू पनि केही जडीबुटी ल्याउनु भएको रहेछ । हामीलाई चिराइतो नै देखाउँदै क्लास सुरु गर्नुभयो ।
“यो चिराइतो जडीबुटी हो । यसले टाउको दुखेको, रुघाखोकी लागेको निको पार्छ । त्यसैले अघि हेडसरले निखिललाई खुवाउनु भएको हो,” मिसले एक एक गर्दै देखाउँदै भन्न थाल्नुभयो । उहाँले “ल हेर त यहाँ मैले केही जडीबुटी ल्याएर आएकी छु” भन्दै बोजो, अमला, गुन्जर गानो, धाम पाते आदि देखाउनुभयो ।
“मिस अरू पनि छन् होला नि ?” राजनले
प्रश्न ग¥यो ।
“छन् नि ! हाम्रै गाउँघरमा अरू पनि थुप्रै पाइन्छन् । जटामसी, घोडताप्रे, बेसार, पाखानबेत, ठुलो ओखती, ऐँसेलु, सिस्नु, टिमुर, तितेपाती, वनमारा, आकाश बेली, भुइँ कटहरको जरा, चुथ्रो, सत्ते जीवन, तुलसी, सयपत्री, पुदिना, जाईको पात, दुधे झार जस्ता थुप्रै जडीबुटी पाइन्छन् नि,” मिसले भन्नुभयो । उहाँले बिरामी हुँदा वा सामान्य चोटपटक लाग्दा अस्पताल वा औषधी पसलमा पाइने औषधीभन्दा यस्ता जडीबुटी खानु धेरै राम्रो हुने र यस्ता जडीबुटी किन्नै नपर्ने पनि बताउनुभयो ।
“ओहो ! उसो भए त जडीबुटीको धेरै फाइदा रहेछ नि मिस ?,” कमलाले भनिन् ।
“हो नि” मिसले भन्नुभयो ।
मैले ध्यान दिएर सबै सुनिरहेको थिएँ । मलाई जडीबुटी खेती गर्न पाए त बेचेर प्रशस्त आम्दानी पनि गर्न सकिन्थ्यो होला भन्ने लाग्यो । “अनि मिस यसको खेती गर्न सकिन्छ होला नि ? त्यस्तो भए त प्रशस्त आम्दानी गर्न पाइन्थ्यो नि । हैन मिस ?,” मैले भनेँ ।
“हो ठिक भन्यौ अनुशिल । यसको खेती गरी सङ्कलन गरेर बेच्दा त गाउँलेहरूलाई प्रशस्त फाइदा हुन्छ,” उहाँले भन्नुभयो ।
“मिस मलाई एउटा जुक्ति आयो” मैले भनेँ ।
“के जुक्ति भन त अनुशिल” मिसले भन्नुभयो ।
“गाउँमा जडीबुटी खेती, सोको सङ्कलन र बजार व्यवस्थापन गर्न हाम्रा वडाध्यक्षलाई गएर भनौँ । हाम्रो विद्यालयमा थुप्रै जग्गा खाली छ । त्यहाँ खेती गरौँ न । त्यसबाट विद्यालयलाई आर्थिक रूपमा राम्रो हुन्छ नि । वडाबाट सहयोग होला नि हैन मिस ?” मैले भनेँ । “हो ठिक भन्यौ अनुशिल तिमीले । म पनि हेडसरलाई यसका बारेमा कुरा राख्छु । यो प्रस्ताव लिएर हामी भोलि वडा जानु पर्छ,” मिसले भन्नुभयो ।