• १ असार २०८२, आइतबार

छाउपडी प्रथा अन्त्य हुनु पर्छ

blog

म १२ वर्षकी भएँ । सम्भवतः अब मेरो पनि मासिक श्राव सुरु हुन्छ होला । मैले कति पटक सुनेकी छु, सुदूरपश्चिम प्रदेशमा अझै पनि छाउपडी प्रथा कायम छ रे । म जस्तै १४/१५ वर्षकी दिदीहरूलाई घरबाट टाढा गोठमा राख्छन् रे । त्यसरी पाँच दिनसम्म राखिन्छ रे । यसरी राख्नु यातना दिएसरह हुन्छ । यस्तो सुन्दा मानवीयता नै नभएको महसुस हुन्छ । यो कुप्रथाको अन्त्य गर्नु जरुरी छ । 

मानव जातिले विकासका अनेकौँ चरण पार गरिसकेको छ । विज्ञान र प्रविधिले चामत्कारिक उन्नति गरिरहेको छ तर हाम्रो समाजमा अझै पनि केही यस्ता कुरीति छन्, जसले विशेष गरी महिलालाई शारीरिक तथा मानसिक यातना दिइरहेका छन् । तिनैमध्ये एक हो छाउपडी प्रथा । जुन मुख्यतः सुदूरपश्चिम नेपालमा अझै पनि व्याप्त छ । मेरो घर अछाम जाँदा मैले छाउपडी राख्ने गोठहरू देखेकी छु ।

छाउपडी सामाजिक प्रथा हो, जस अनुसार महिनावारी भएका दिदी र आमाहरूलाई ‘अशुद्ध’ मानिन्छ र तिनीहरूलाई पाँच/सात दिनसम्म गोठमा बस्न बाध्य पारिन्छ । यो अवधिमा तिनीहरूलाई घरभित्र पस्न दिइँदैन, परिवारका सदस्यसँग भेट्न र खानपान गर्नसमेत प्रतिबन्ध लगाइन्छ ।

छाउपडीको असर 

एक्लै अँध्यारो, चिसो गोठमा बस्दा सर्पले टोकेर, जङ्गली जनावरको आक्रमण तथा अत्यधिक चिसोका कारण मृत्युसमेत भएको धेरै समाचार आइरहन्छन् ।

शारीरिक तथा मानसिक पीडा सहन बाध्य हुनुपर्ने रहेछ । डर, त्रास, असहजता, अनि भोकप्यासको सामना गर्नु पर्छ । किशोरीहरू महिनावारीका कारण स्कुल जान पाउँदैनन्, जसले उनीहरूको शिक्षामा असर पु¥याउँछ । पुरुषमा महिनावारी हुँदैन, त्यसैले तिनीहरूलाई कहिल्यै गोठमा राखिँदैन । महिलाहरूलाई मात्र यस्तो अपमानजनक व्यवहार गरिनु ठुलो विभेद हो ।

छाउपडी अन्त्यका उपाय

स्कुल, घर तथा समाजमा महिनावारी एक प्राकृतिक प्रक्रिया हो भन्ने बुझाउनु पर्छ । नेपाल सरकारले छाउपडी प्रथा अन्त्य गर्न कानुन बनाएको छ तर यसको सही कार्यान्वयन हुनु जरुरी छ । आमाबा र दाइहरूले आफ्नी छोरी/बहिनीलाई महिनावारी हुँदा सम्मानजनक व्यवहार गर्नु् पर्छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालमार्फत छाउपडीको हानिकारक असरबारे प्रचारप्रसार गर्नु पर्छ ।

महिनावारी एक प्राकृतिक प्रक्रिया हो, जसका कारण महिला/पुरुष सन्तान जन्माउने क्षमतासहित समाज अगाडि बढ्छ । यसलाई अशुद्ध भन्ने सोच गलत हो । छाउपडी प्रथा जस्ता कुरीतिको अन्त्य गर्दै किशोरी तथा महिलाको सम्मानजनक जीवन सुनिश्चित गर्नु आजको आवश्यकता हो । अब हामी सबै मिलेर छाउपडी अन्त्य गरौँ र समतामूलक समाजको निर्माण गरौँ ।  

    मुना