“ल त साथीहरू अब चाहिँ म गएँ” हतारिँदै मैले भनेँ, “बाबाले थाहा पाउनुभयो भने त गाली गर्र्नुहुन्छ ।”
“अब जानेबेला त एउटा गीत गाएर जाऊ” आकृतिले रोक्दै भनी तर मैले उसको कुरा मान्न सकिनँ किनकि बाबा कार्यालयबाट आउने समय पनि भइसकेको थियो । मैले बाहिर गीत गाएको कुरा उहाँले थाहा पाउनुभयो भने मलाई समस्या पर्छ ।
घर पुग्दा घाम डाँडापारि पुगिसकेको थियो । बाबा पनि घर आइसक्नुभएको रहेछ । “रोहिना, ए रोहिना यता आऊ त” बाबाले मलाई भान्साकोठामा बोलाउनुभयो । म सरासर बाबा सामुन्ने पुगेँ । आमा खाना पकाउँदै हुनुहुँदो रहेछ ।
“कहाँ गएर आएको ?” बाबाले सोध्नुभयो । मैले म्युजिक क्लास गएर आएको भनेर सहजै जवाफ दिएँ ।“बरु सिधै क्याफेमा तमासा देखाएर आएको भन न । म्युजिक क्लास गए पनि त्यसरी बाहिर गीत नगाऊ भनेको होइन ?” बाबा एक्कासि सिंह गर्जे झैँ कराउनुभयो ।
मैले डराउँदै भनेँ, “होइन के बाबा, साथीहरूले जिद्दी गरेर मात्र एकचोटि गाएकी हुँ ।” बाबा रिसाउनु भएको देखेर आमाले मलाई कोठामा पठाउनुभयो । म चुपचाप कोठातिर लागेँ ।
केही हप्तापछि विद्यालयमा गायन प्रतियोगिता आयोजना गरियो, जसमा मैले पनि भाग लिएँ । थुप्रै विद्यार्थीलाई पछि पार्दै म प्रथम भएँ । पुरस्कार पाउँदा म निकै खुसी भएँ । घर पुग्नेबित्तिकै मैले आमालाई पुरस्कार देखाएँ । उहाँले मलाई स्याबासी दिनुभयो तर जब मैले बाबालाई देखाएँ उहाँ त रिसाउनु पो भयो ।
उहाँले रिसाउँदै भन्नुभयो, “कसलाई सोधेर प्रतियोगितामा भाग लिएको ? के यो पुरस्कारले जिन्दगीभर खान दिन्छ ?”
“त्यसो भए किन किनिदिनुभएको त गितार ? हजुरले नै सङ्गीतलाई जीवन बनाउन सिकाउनुभयो अनि अहिले फेरि...” मैले जवाफ फर्काएँ ।
बाबाले मलाई करेन्ट नै लाग्ला झैँ जोडले थप्पड हान्नुभयो र भन्नुभयो, “अझैं मुखमुखै लाग्छेस् ।
छोरी मान्छे भएर जे मन लाग्यो त्यही गर्ने, तँलाई पढ्नु पर्दैन ?” म बाबाको कुरा नसुनी आँसु झार्दै कोठातिर लागेँ ।
बाबा अझैं कराउँदै हुनुहुन्थ्यो, “कस्तो साइतमा यसलाई गितार किनिदिएछु ?”
बाबाले मलाई पहिलो पटक यस्तो व्यवहार गर्नुभएको थियो । कहिल्यै नपिट्ने बाबाले आज थप्पड हान्नुभयो । प्रथम भएको खुसीभन्दा बाबाको व्यवहारले असह्य भयो । पुरस्कार पनि फ्याकिदिऊँ झैँ लाग्यो ।
मैले सोचेँ, “बाबा अहिले म सङ्गीतमा लागेको कुराले असन्तुष्ट हुनुहुन्छ भने मैले सङ्गीत छोड्नै पर्छ किनकि आमाबाबा नै मेरो सबथोक हुनुहुन्छ ।”
मनलाई दह्रो पारेँ र बाबालाई मेरो निर्णय सुनाउन गएँ । जब मैले आफ्नो कुरा बताएँ उहाँको अनुहार मलिन भयो । उहाँले भन्नुभयो, “मलाई माफ गर छोरी । आवेशमा आएर मैले अघि तिमीलाई नराम्रो व्यवहार गरेँ । मेरो तात्पर्य सङ्गीत छोड भन्ने होइन ।”
“तर बाबा हजुरले त...” मैले भनेँ ।
बिचमा कुरा काट्दै बाबाले भन्नुभयो, “त्यस्तो होइन छोरी । परीक्षा नजिकिँदै आएको हुनाले तिम्रो पढाइ बिग्रेला भनेर मात्र भनेको हुँ । तिम्रो चाहना नै सङ्गीत हो भने त्यसलाई कहिल्यै नछोड्नु तर अहिले चाहिँ पढाइमा धेरै ध्यान दिनू ।”
“हुन्छ बाबा म समय मिलाएर गितार बजाउँछु र गीत गाउँछु” खुसी हुँदै मैले भनेँ । त्यसपछिका दिनहरूमा मैले सधैँ आमाबाबाको माया र हौसला पाइरहेँ ।