शरीरको स्नायु प्रणालीबाट क्वान्टम चेतना जब आफ्नो स्थान छोड्न थाल्छ अनि मृत्यु जस्तो अनुभव हुन्छ। यस सिद्धान्त वा निष्कर्षको आधार के हो भने मस्तिष्कको क्वान्टम कम्प्युटरमा चेतनाले एक प्रोग्रामसरह काम गर्दछ।
‘बायोसेन्ट्रिज्म : हाउ लाइफ एन्ड कन्सियोसनेस आर द किज टु अन्डरस्ट्यान्डिङ द नेचर अफ द युनिभर्स’ नामको पुस्तकमा क्वान्टम सिद्धान्त र मृत्युका बारेमा उल्लेख गरेर सनसनी मच्याएको छ। मृत्युपछि पनि जीवनी समाप्त नहुने र त्यसको एक रूप कहीँ कतै सदाका लागि जीवित नै रहने कुरा यस पुस्तकमा उल्लेख छ । यो पुस्तक क्वान्टम सिद्धान्तको जानकार वैज्ञानिक डा. रोबर्ट लेन्जद्वारा लेखिएको हो।
उनी एड्भान्स सेल टेक्नोलोजी कम्पनीका निर्देशक पनि हुन्। उनी स्टेम सेल प्रविधिको अनुसन्धानमा समेत लागेका छन् र उनलाई यसबाट प्रसिद्धि पनि मिलेको छ। उनले लुप्त हुन लागेका कतिपय जीवको सफल क्लोनिङ परीक्षणसमेत गरेका छन्। पछिल्लो समयमा उनी भौतिक विज्ञान, क्वान्टम मेकानिक्स र खगोल विज्ञानको अनुसन्धानमा लागेका छन्। यी तीनवटै विज्ञानको संयोजनबाट जैविक केन्द्रवादको नयाँ सिद्धान्तको जन्म गराएको छ।
बायोसेन्ट्रिज्मले के भन्छ भने जीवन र चेतना मौलिक हुन्। यही चेतनाले भौतिक ब्रह्माण्ड निर्माण गर्दछ। अर्थात् पदार्थले मात्र ब्रह्माण्ड बनेको होइन, ईश्वरले ब्रह्माण्ड बनाएको हो। उनको कथनअनुसार पदार्थको निर्माण पहिले नै चेतना अस्तित्वमा थियो। जब स्थान र समय नहुँदा पनि चेतना रहन्छ।
बायोसेन्ट्रिज्मले क्वान्टम मेकानिक्सलाई आधार मानेर भन्छ, चेतनाको कहिल्यै मृत्यु हुँदैन। यो त केवल विचार हो किनभने मानिसले आफ्नो शरीरबाटै स्वयंको पहिचान बनाउँछ। शरीर नष्ट हुन्छ तर चेतना जीवित रहन्छ।
यदि शरीरले चेतना उत्पन्न गरेको भए शरीर मर्दा चेतना पनि मर्नु पर्ने थियो तर शरीरले ब्रह्माण्डबाट त्यस किसिमले चेतना ग्रहण गर्दछ जसरी टेलिभिजनले स्याटेलाइटबाट सिग्नल प्राप्त गर्दछ। यस कारण बायोसेन्ट्रिज्मले भनेको छ, समय र स्थानको सीमाभन्दा बाहिर चेतना उपस्थित रहन्छ। यो चेतना कहीँ पनि हुन सक्छ, मानिसको शरीरमा वा त्यसभन्दा बाहिर। क्वान्टम मेकानिक्सले कुनै पनि वस्तु वा तत्वलाई अत्यन्त सूक्ष्म रूपमा व्याख्या गर्दछ, परमाणुका इलेक्ट्रोन, प्रोटोन, न्युट्रोनभन्दा पनि साना कणका रूपमा। साथै वस्तु दुई रूपमा अस्तित्वमा रहने मान्यता राखेको छ। पहिलो त भौतिक उपस्थिति, जुन हामी देख्न सक्छौँ। दोस्रो त्यसको समानान्तर तरङ्ग अर्थात् वेबका रूपमा, जुन देख्न सकिँदैन।
लेन्जले यस कारण क्वान्टम मेकानिक्सलाई आधार मानेर समानान्तर ब्रह्मान्ड पनि रहेको भनेका छन्, एकसाथ कैयौँ ब्रह्माण्ड। जसरी ब्रह्माण्डका अनेक रूप–प्रतिरूप छन् त्यसरी नै मानिस एक दृश्य ब्रह्माण्ड मरे पनि अर्को अदृश्य ब्रह्माण्डमा उसको तरङ्ग रूप जीवित रहने भनाइ छ लेन्जको। यस संसारमा मानिसको भौतिक रूप म-यो भने पनि अर्को समानान्तर ब्रह्माण्डमा उसको तरङ्ग चेतना जीवित रहन्छ। यसलाई हामी हिन्दु धर्मको मान्यताअनुसार अमर आत्मा भन्न सक्छौँ।
क्वान्टम मेकानिक्सले के भन्छ भने हरेक वस्तु दुई रूपमा छन्। वस्तुको भौतिक रूप र तरङ्ग रूप। जसलाई आँखाले प्रत्यक्ष देखिन्छ त्यो भौतिक रूप हो। जुन प्रत्यक्ष देखिँदैन, त्यो तरङ्ग रूप हो। यी दुवै रूप साथसाथै हुन पनि सक्छन्, अर्काबाट निकै पर ब्रह्माण्डको सुदूर किनारामा पनि हुन सक्छन् तर दुवैबीच परस्पर सम्बन्ध रहन्छ। एकमा आउने परिवर्तन वा पर्ने कुनै प्रभाव तुरुन्त अर्कोमा पनि पर्छ, जसको सम्पर्क वेग प्रकाशको गतिभन्दा पनि धेरै नै तेज हुन्छ। अर्को कुरा क्वान्टम स्तरमा कुनै पनि निश्चितता हुँदैन, सबै कुरा अनिश्चित हुन्छ।
यस आधारमा उदाहरणका रूपमा भन्न सकिन्छ हाम्रा दिवङ्गत पुर्खा यस दृश्यवान् ब्रह्माण्डको भौतिक संसारमा छैनन् तर उनीहरू अर्को कुनै अदृश्य ब्रह्माण्डमा जीवित छन्, चेतना अर्थात् तरङ्ग रूपमा।
क्वान्टम मेकानिक्सको गुढता बुझ्दै जाँदा कुनै पनि तत्वको भौतिक र तरङ्ग रूप समानान्तर अस्तित्वमा रहने कुरामा सहमत हुने भौतिक र खगोल वैज्ञानिकको सङ्ख्या बढ्दै गएको छ। सुरुमा दिग्गज वैज्ञानिक अल्बर्ट आयन्सटाइनले समेत क्वान्टम मेकानिक्सका मान्यता स्वीकार गरेका थिएनन्। पछि यस विषयमा स्वयं अनुसन्धान गरेर उनले क्वान्टम मेकानिक्समा आफ्नो धारणा राखेका थिए।
कुनै अवस्थामा सबै वस्तुको नतिजा निश्चित हुने मान्यता थियो आइन्सटाइनको। अर्थात् रुखबाट न्युटनको स्याउ तल जमिनमै खस्ने हो, माथि जाँदैन भन्ने मान्यता आइन्सटाइनको थियो तर क्वान्टम मेकानिक्सले त्यसो मान्दैन। रुखबाट तल खस्ने भनेको स्याउको भौतिक रूप मात्र हो तर त्यसको तरङ्ग रूपले बेग्लै र अनिश्चित व्यवहार देखाउने भनाइ छ क्वान्टम मेकानिक्सको।
क्वान्टम मेकानिक्सकै आधारमा सन् १९८० को दशकमा रुसको लेभेदेव भौतिक विज्ञान प्रतिष्ठानका वैज्ञानिक आन्द्रेई लिन्डेले ब्रह्मान्ड एक मात्र नभएर धेरै सङ्ख्यामा भएको सिद्धान्त प्रतिपादित गरेका थिए। उनी हाल स्टेनफर्ड विश्वविद्यालयमा अध्यापन गर्दछन्।
हाम्रो ब्रह्माण्ड एक्लो नभएको तर्कलाई प्लाङ्क टेलिस्कोपबाट प्राप्त तथ्याङ्कले समर्थन गर्दछ। साथै हाम्रो ब्रह्माण्ड वरिपरि रहेका अन्य ब्रह्माण्डबाट प्रभावित रहन्छ।
एरिजोना विश्वविद्यालयका प्राध्यापक तथा एनेस्थियोलोजिस्ट डा. स्टुवर्ट ह्यामरफ भन्छन्, हामीलाई मृत्यु नजिक पुगेको अनुभव त्यतिबेला हुन्छ जब स्नायुतन्त्रमा रहने क्वान्टम जानकारीले शरीर त्याग गर्दछ र ब्रह्माण्डमा विलय हुन्छ। स्टुवर्ट र इङ्ग्ल्यान्डका भौतिक विज्ञानविज्ञ रोजर पेनरोजका अनुसार हाम्रो मस्तिष्कका कोषको सूक्ष्म नलिकाहरूमा चेतना बसेको हुन्छ, जो क्वान्टम प्रशोधनको प्राथमिक स्थल हुन्। मृत्युपछि यो क्वान्टम चेतना मानिसको शरीरबाट बाहिर निस्कन्छ। डा. ह्यामरफले साइन्स च्यानललाई दिएको अन्तर्वार्तामा भनेका छन्, “मानौँ मुटुको धड्कन बन्द हुन्छ र रक्तप्रवाह रोकिन्छ । अनि सूक्ष्म नलिकाले आफ्नो क्वान्टम अवस्था गुमाउँछन्। त्यति हुँदा पनि ती सूक्ष्म नलिकाभित्र रहेका क्वान्टम सूचना नष्ट हुँदैनन्। यसलाई नष्ट गर्न सकिँदैन। ती सूचना ब्रह्माण्डमा विलय हुन्छन्।”
यदि कुनै रोगीलाई पुनर्जीवित गरिन्छ भने ती क्वान्टम सूचना सूक्ष्म नलिकामा फिर्ता आउन सक्छन्। अनि रोगीले भन्छ– “मलाई मृत्यु नजिकको अनुभव भयो।”
तपाईंको चेतना ऊर्जा कुनै बिन्दुमा एक अर्को शरीरमा पुनः प्रवेश हुने र त्यसअघि यो भौतिक रूपभन्दा बेग्लै वास्तविकताको कुनै स्तरमा अर्को ब्रह्माण्डमा अस्तित्वमा रहन्छ। लेन्जले हफिङ्टन पोस्टसँगको कुराकानीमा मृत्युलाई मात्र एक टेलिभिजन सिरियल समाप्त हुने घटनासरह व्याख्या गरे। जसमा कथा, घटना, परिघटना तथा तिनका चरित्रअनुसारका पात्रले अभिनय गर्छन्। सिरियल समाप्त भएपछि ती पात्रले अर्को सिरियलमा बेग्लै कथा र चरित्रका लागि काम गर्छन्।
भौतिक विज्ञानले भनेको, ऊर्जा न त नष्ट हुन्छ न त त्यसलाई सिर्जना नै गर्न सकिन्छ, ऊर्जा मात्र एक अवस्थाबाट अर्को अवस्थामा स्थानान्तर हुन्छ’ भन्ने मान्यतालाई लेन्जले समर्थन गर्दै लेन्ज भन्छन्, “जब मानिसको मृत्यु हुन्छ समय र स्थानसँग उसको सोझो सम्बन्ध बिच्छिन्न हुन पुग्छ। समयसँग सम्बन्धको हाम्रो सोझो अवधारणाको यस प्रकृतिसँग कुनै नाता छैन। मृत्युसँगै ब्रह्माण्ड र भौतिक शरीरबीचको सम्बन्ध टुट्छ र ब्रह्माण्डसँग जोडिएको ऊर्जा ब्रह्माण्डमै अर्को रूपमा फर्कन्छ।”
– भवानी सुवेदी