नयाँदिल्ली, असोज २४ गते । भारतको उत्तर प्रदेश राज्यमा रहेको अयोध्या जिल्लाको एक गाउँमा बिहीबार राति घरभित्र भएको भीषण विस्फोटका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जना बालबालिका रहेको बताइएको छ ।
प्रहरीले शुक्रबार घटनाको पुष्टि गर्दै अन्य केही व्यक्ति घाइते भएको जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार विस्फोट एलपीजी ग्यास सिलिन्डर पड्किँदा भएको अनुमान गरिएको छ । तीव्र विस्फोटका कारण दुई तले घर पूर्ण रूपमा ध्वस्त भएको र वरपरका घरसमेत क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ ।
विस्फोटको आवाज टाढासम्म सुनिएको बताइएका कारण स्थानीय बासिन्दा पनि आतङ्कित भएका थिए । घटनापछि बम पत्ता लगाउने तथा डिस्पोजल स्क्वाडका सदस्यका साथै फरेन्सिक विशेषज्ञको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन् । उनीहरूले विस्फोटको वास्तविक कारण र क्षतिको स्तर पत्ता लगाउने कार्य अघि बढाइरहेका छन् ।
घाइतेलाई तत्काल उद्धार गरी नजिकैको अस्पतालमा भर्ना गरिएको छ । त्यहाँ उनीहरूको उपचार भइरहेको अधिकारीले जनाएका छन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ र क्षतिको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने छ । रासस/सिन्ह्वा