रुस र यक्रेनबिच युद्ध जारी छ । साढे तीन वर्षदेखि युद्ध चलिरहेको छ । युद्ध अन्त्य गराउन विभिन्न तहमा प्रयास भइरहेका पनि छन् तर अहिलेसम्म ठोस निर्णयमा पुग्न सकिएको छैन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबाट रुस–युक्रेन युद्ध अन्त्य गराउन अथक् प्रयास भइरहेको छ । उनले युद्धविरामले मात्र समस्याको दिगो समाधान हुँदैन भन्दै शान्ति सम्झौता गराउन दुवै देशका नेतृत्वसँग वार्ता र छलफल गरिरहेका छन् । यो युद्ध लम्बिँदै जाँदा त्यसको असर दुई देशमा मात्रै सीमित रहेन । यस युद्धको असर विश्वव्यापी परिरहेको छ ।
अमेरिकाको अलास्का राज्यमा गत अगस्त १५ मा युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र रुसबिच शिखर वार्ता भयो । अमेरिकाका राष्ट्रपति ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले साढे तीन घण्टा वार्ता गरे । यो प्रयासबाट रुस–युक्रेन युद्धविरामबारे सहमति हुने अपेक्षा गरिएको थियो तर वार्तामा युद्धविरामबारे सहमति भएन । ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा राष्ट्रपतिमा निर्वाचित भएको २४ घण्टामै युद्धविराम गराउने दाबी गरेका थिए ।
दोस्रो पटक निर्वाचित भएपछि ट्रम्पले पुटिनसँग गरेको यो पहिलो प्रत्यक्ष भेटवार्तामा जारी युद्ध अन्त्य गर्ने विषयमा गम्भीर छलफल त भयो तर देखिने गरी कुनै सहमति भएन । बन्द कोठामा भएको वार्तामा ट्रम्पसँगै मार्को रुबियो र विट कफका साथै केही अन्य अधिकारी पनि थिए । रुसी पक्षमा पुटिनसँगै सर्गेई लाभरोभ, एन्टोन सिलुआनोभ र किरिल दिमित्रिभ सहभागी भए । वार्तामा युद्ध अन्त्य गराउने विषयमा घनीभूत छलफल भए पनि दुवै पक्षबिच ठोस सहमति भने हुन सकेन ।
वार्ताअघिको वातावरण पूरै फरक थियो । राष्ट्रपति ट्रम्पले पुटिनलाई रातो कार्पेट बिछ्याएर स्वागत मात्रै गरेनन् सम्मानित पाहुनाको व्यवहारसमेत गरे । वार्तापछिको पत्रकार सम्मेलनमा ट्रम्प र पुटिन दुवैले वार्ता सकारात्मक भएको बताए ।
ट्रम्प–पुटिन भेट सन् २०१९ पछिको पहिलो हो । यस पटक ट्रम्प पुटिनप्रति निकै नम्र देखिए । पुटिनको स्वागतदेखि पत्रकार सम्मेलनमा देखाएको नम्रताले उनी पुटिनलाई चिढाउन चाहेका छैनन् भन्ने प्रस्ट हुन्छ । दशकपछि अमेरिकी भूमिमा पुगेका पुटिनलाई लडाकु विमान र रातो कार्पेटद्वारा स्वागत गरिएको थियो । त्यस्तै वार्तापछिको पत्रकार सम्मेलनमा पनि पुटिनलाई पहिले बोल्न दिइएको थियो । पुटिनले सो अवसरको सदुपयोग गर्दै युक्रेनसँगको युद्धबारे आफ्नै दृष्टिकोणबाट प्रस्तुत गरे ।
जेलेन्स्कीको कमजोरी
पुटिनसँगको भेटलगत्तै ट्रम्पले जेलेन्स्कीलाई अमेरिका आउन निम्तो दिए । पुटिनसँगको वार्ता सकिएलगत्तै ट्रम्पले जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका थिए । अनि जेलेन्स्कीसहित युरोपेली नेताहरू अगस्ट १८ मा अमेरिका गए । उनीहरूले ट्रम्पसँग वार्ता गरे । वार्ता सकारात्मक भयो । छिटै पुटिन र जेलेन्स्कीबिच वार्ता हुने भएको छ ।
सन् २०२२ को फेबु्रअरी २४ देखि जारी रुस–युक्रेन युद्धमा सबैभन्दा मारमा युक्रेन छ । जेलेन्स्कीले युद्धविराम गर्न चाहेका छन् तर भूमि गुमाउन चाहेका छैनन् । पुटिन भने भूभाग ओगटेर युद्ध रोक्ने अडानमा छन् । युक्रेनसँगको जारी युद्धले अन्तर्राष्ट्रिय जगत्मा आलोचित बने पनि राष्ट्रपति पुटिनको मुलुकभित्र भने शक्ति झन् बढेको छ ।
युद्ध चलिरहँदा चुनाव गराएर पुटिनले आफूलाई सन् २०३० सम्म सत्तामा रहने सुनिश्चित गरेका छन् । यसअघि सन् २०१८ मा निर्वाचित भएका पुटिनले सन् २०२१ मा थप दुई कार्यकाल राष्ट्रपति बन्न बाटो खुला गर्ने गरी संविधानमा संशोधन गरेर आफू सत्तामा रहिरहन मार्गप्रशस्त गरेका थिए ।
युक्रेनसँगको युद्धसँगै रुसी अर्थतन्त्र समस्याग्रस्त हुने र त्यसको प्रत्यक्ष असर राष्ट्रपति पुटिनमाथि पर्ने अमेरिकालगायतका पश्चिमा देशको अनुमान सत्य साबित भएन । युद्धको असर सोचे जस्तो नदेखिएपछि उनीहरूले युद्ध अन्त्यको बाटो खोजेको देखिएको छ ।
युक्रेनसँगको युद्ध अझै लम्बिँदै गयो भने रुस चीनसँग अझै निकट हुन सक्ने सम्भावनाले अमेरिकालाई चिन्ता थपिएको छ । त्यसैले युरोपका कतिपय देश रुस–युक्रेन युद्ध छिट्टै अन्त्य गर्ने पक्षमा देखिएका छन् ।
युक्रेनमा गत मार्च ३१ मा राष्ट्रपतीय चुनाव हुनुपर्ने थियो तर राष्ट्रपति जेलेन्स्कीले चुनाव गराउन सकेनन् । उनका लागि चुनाव सहज छैन । जेलेन्स्कीका कारण युद्धमा १८ प्रतिशत भूभाग गुमाएको र युद्ध जित्ने सम्भावना नदेखिएको युक्रेनी मतदाताले उनलाई विश्वास गर्ने आधार कमजोर बनेको छ । त्यहाँ युक्रेनलाई निकास दिन सक्ने नेतृत्वको खोजी भएको छ । युक्रेनलाई पश्चिमा सहयोग कम हुँदै जानुले रुसका लागि थप आक्रामक बन्न सहज भएको छ ।
शक्तिशाली रुससँग युक्रेन लामो समयसम्म युद्ध गर्ने अवस्थामा थिएन । पश्चिमा मुलुकले हतियार र आर्थिक सहयोग दिइरहेकाले अहिलेसम्म युद्ध लम्बियो । युक्रेनले युरोपेली सङ्घ (इयु) र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्यता लिने तयारी गरेपछि रुष्ट भएको रुसले आफ्नो सुरक्षा खतरामा पर्ने भएकाले दुवै सदस्यताबाट रोक्न युक्रेनमाथि आक्रमण गरेको थियो । सुरुमा यो कारबाही धेरै दिन नचल्ने र छिटै टुङ्गिने अपेक्षा गरिएको थियो तर पश्चिमा मुलुकको आर्थिक तथा हतियार सहयोगले युक्रेन अहिलेसम्म युद्धमा टिकेको छ ।
पुटिनका चार अडान
पुटिनले युद्धविरामका लागि चार अडान राखे । ती हुन्, युक्रेनको केही भूभाग रुसी नियन्त्रणमा जाने, युक्रेनको सेनाको आकार घटाउने, युक्रेनलाई नेटोमा सहभागी नगराउने र यक्रेनको सरकार परिवर्तन गर्ने ।
वर्षौंदेखि पश्चिमा मुलुकबाट एक्लिएका पुटिनले वार्ताका लागि अमेरिका पुग्नुअघि नै जित सुनिश्चित गरेका थिए । वार्ताबाट फर्किंदा पनि उनी नयाँ शक्ति आर्जन गरेर फर्किए । उनले ट्रम्पसँगको सम्बन्धलाई पनि थप मजबुत बनाए ।
जी–२० को सम्मेलनमा सहभागी हुन सन् २०१३ मा बाराक ओबामा सेन्ट पिटर्सबर्ग पुगेयता रुस भ्रमणमा जाने ट्रम्प अमेरिकाका पहिलो रष्ट्रपति हुन् ।
–युवामञ्च