• २४ असोज २०८२, शुक्रबार

वैदेशिक रोजगारीबाट फर्किएका महिला श्रमिकले भोग्नु परेका समस्या र अवसरबारे छलफल

blog

तस्बिर : कविता थापा

काठमाडौँ, असोज २४ गते । महिला आप्रवासीको सवाल र अधिकार प्रवर्धनका लागि पैरवी रणनीति राष्ट्रिय कार्यशालाको आयोजना गरिएको छ । 

महिला पुनस्र्थापना केन्द्र (ओरेक)द्वारा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीमा गएर सफल भएका र विविध कारणले फर्किएर आएका आप्रबासी महिला श्रमिकले विदेशमा भोग्नु परेको समस्या र अवसरबारे छलफल गरेका हुन् । 

महिला पुनस्र्थापना केन्द्रका संस्थापक डा.रेणु अधिकारीले सो केन्द्रमार्फत स्थापना गरिएको संस्था मञ्जरीले सुरक्षित आप्रवासन, गरिमामय रोजगारी, सामाजिक सुरक्षा र आप्रवासीको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्दै आएको बताउनुभयो । 

उहाँले महिलाले गर्ने श्रमलाई स्वदेशमै मान्यता दिंदै अन्तर्राष्ट्रिय स्तरमासमेत महिलाको श्रमको वकालत गर्न, अन्यायमा परेका महिला श्रमिकलाई न्याय दिलाउन र श्रमिकले घर फर्कन चाहेमा सुरक्षित उद्धार गर्ने संयन्त्र हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, “सबैभन्दा धेरै मेहनत गर्ने वर्ग महिलाले सदियौंदेखि आफ्नो श्रमको मुल्य पाएका छैनन्, स्यावासी, मुल्याङ्कन पनि गर्दैनन्, बैदेशिक रोजगारीबाट फर्केका नेपाली आप्रबासी महिला श्रमिकहरुले भोग्नु परेको असमानता, लैङ्गिक भेदभाव, सामाजिक असुरक्षा र रोजगारीमा समान अवसरबाट बञ्चित बनाईएकोले महिला श्रमिकको श्रमले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताका लागि आवाज बुलन्द गर्न राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरिएको हो, महिलाको श्रमले समानताको मान्यता नपाएसम्म आवाज उठाइरहनुपर्छ ।” 

कार्यक्रममा महिला पुनस्थार्पना केन्द्रका कार्यकारी निर्देशक सुनिता मैनालीले संयुक्त राष्ट्र सङ्घको ग्लोवल कमप्याक्ट फर माईगे्रसन (आप्रबासी श्रमिकको सवाल) सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै महिला आप्रवासनका अधिकारबारे साझा धारणा निर्माण गर्दै महिलाले आफ्नो श्रमलाई मान्यता दिलाउन पहल गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले यस कार्यशालाबाट नेपाली महिला आप्रवासीको साझा घोषणापत्र तयार गर्ने, पैरवी, कार्ययोजना बनाउने सरोकारवालाबिच अनुभव साटासाट गर्ने अवसर मिलेको बताउनुभयो ।