• १५ वैशाख २०८१, शनिबार

तीन सय ५२ बंगुर मरे

कैलालीका बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि

blog

फाइल तस्बिर

धनगढी, कात्तिक १६ गते। सुदूरपश्चिम प्रदेशमा बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’ रोग लागेको पुष्टि भएको छ। 

कैलालीको भजनी नगरपालिका–३ स्थित बडिमालिका कृषि केन्द्रमा रहेका बंगुरमा खतरनाक अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भएको हो। बङ्गुर र बँदेलमामात्रै लाग्ने यो रोग ती जनावरका लागि निकै खतरनाक रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले जानकारी दिएको छ।

केन्द्रमा पालिएका बङ्गुर भदौ महिनादेखि मर्न थालेका थिए। स्थानीय जयबहादुर बुढाको सो कृषि केन्द्रका बङ्गुर धमाधम मर्न थालेपछि परीक्षण र ‘रेपिड टेस्ट’ गर्दा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको थियो। 

‘त्यसपछि नमुना सङ्कलन गरेर केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा पठाएका थियौँ’, प्रयोगशालाका डा. नरेशप्रसाद जोशीले भन्नुभयो,‘कात्तिक १५ गते मलिकुलर विधिबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भएको प्रयोगशालामा प्रतिवेदन प्राप्त भएको छ।’ 

सो रोगबाट अहिलेसम्म बडिमालिका कृषि केन्द्रका ३१० पाठा र ४२ वटा माउ गरेर ३५२ वटा बङ्गुर मरेका छन्। यो रोग लागेमा बङ्गुरको मृत्युदर शतप्रतिशत रहेको डा. जोशीले बताउनुभयो। उहाँका अनुसार यो रोगको अहिलेसम्म कुनै पनि उपचार छैन। रोग रोकथाम गर्न सकिन्छ। तर, रोग लागिसकेपछि धेरै बङ्गुर मर्छन्। रोग सङ्क्रमण भएका फर्मका अरू सबै बङ्गुर मारेर कम्तीमा तीन फिट जमिनमुनि गाड्नु पर्ने हुन्छ। सम्पर्क, र्याल, खोकी, श्वासप्रश्वास, खाना लगायतका माध्यमबाट एक बङ्गुरबाट अर्को बङ्गुरमा सर्ने यो रोग लागेमा बङ्गुर पालक किसानलाई ठूलो आर्थिक नोक्सान हुने गरेको उहाँले बताउनुभयो।

बंगुरमा अफ्रिकन स्वाइन फिभर लागेमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्रीसम्म) आउने, कान, पुच्छर, पेटको तल्लो भागको छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छटपटाउने, धर्मराउने, गर्भ तुहिने जस्ता लक्षण देखा पर्ने गरेको जनाइएको छ। यो रोग लागेमा एकै पटक धेरै बङ्गुर मर्ने गरेको बताइएको छ। रोग लागेका बङ्गुरको दुई दिनभित्रै बङ्गुरको मृत्यु हुने गरेको डा. जोशीले बताउनुभयो। 

अफ्रिकन स्वाइन फिभर रोकथामका लागि रोग देखा परेको फर्मको सबै बङ्गुर मारेर निसङ्क्रमण गर्नु पर्ने, मरेका बङ्गुरको मासु बिक्री र ढुवानी तुरुन्त रोक्नु पर्ने, क्वारेनटाइनमा कडाइ गर्नु पर्ने प्रयोगशालाले जानकारी दिएको छ। 

यसैगरी, बङ्गुरबाट बँदेलमा सरेमा ठूलो नोक्सान हुने गरेकाले आसपासका बस्तीका बङ्गुरमात्रै नभई बँदेल जोगाउनका लागि पनि गम्भीर हुन आवश्यक रहेको डा. जोशीले बताउनुभयो। 

केही महिना अगाडिमात्रै कैलालीका बंगुरमा क्लासिकल स्वाइन फिभर देखिएको थियो। त्यो रोग अझै केही पालिकाका बंगुरमा छँदै छ। बंगुरमा लाग्ने अर्को खतरनाक रोग आएपछि व्यावसायिक बङ्गुर पालक किसानदेखि लिएर सरोकारवाला चिन्तित भएका छन्। उनीहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।  

गत आर्थिक वर्षको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा ४७ हजार ६९६ वटा बङ्गुर रहेका छन्। जसमध्ये, कैलालीमा सबैभन्दा बढी २४ हजार र कञ्चनपुरमा १४ हजार बङ्गुर रहेको प्रयोगशालाले जानकारी दिएको छ। 

बङ्गुरमा लाग्ने खतरनाक रोग पुष्टि भइसकेकोले अब सबैभन्दा पहिलो प्राथमिकता व्यावसायिक रूपमा बङ्गुर पालन गरिरहेका किसानका बङ्गुर जोगाउनु रहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. वसन्तबहादुर सिंहले बताउनुभयो। ‘रोग आइसक्यो। अब सबै सतर्क बनौँ’, उहाँले भन्नुभयो,‘पहिले करोड, लाखौँ लगानी गरेका उद्यमीलाई संरक्षण गरौँ।’ अफ्रिकन स्वाइन फिभरबाट बङ्गुरलाई जोगाउनका लागि अब जैविक सुरक्षाबाहेक अरू उपाय नरहेको डा. सिंहले उल्लेख गर्नुभयो।