काठमाडौँ, कात्तिक ११ गते । पोकली झरना सेवा समाजको अध्यक्षमा कृष्ण ढुङ्गेल निर्वाचित हुनुभएको छ । समाजको सोमबार सम्पन्न नवौँ साधारणसभाबाट ढुङ्गेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
समाजको उपाध्यक्षमा लक्ष्मण बराल र जनार्दन अधिकारी निर्वाचित हुनुभयो । यस्तै महासचिवमा प्रतिरोध सुवेदी, सचिवमा खेमराज ढुङ्गेल, कोसाध्यक्षमा, गिता घिमिरे ढुङ्गेल, सहसचिव ज्योति रुपाचा, सह कोषाध्यक्ष सुजन घिमिरे निर्वाचित हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा सदस्यहरुमा विष्णु सुवेदी, प्रमिला दाहाल र रीता भट्टराई निर्वाचित हुनुभएको छ । बाँकी सदस्य कार्यसमिति थप गर्नेछ । समाजले पर्यटन तथा स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएको छ ।
समाजको साधारणसभालाई सम्बोधन गर्दै कोशी प्रदेशका पूर्व सभामुख तथा पूर्व अर्थमन्त्री बाबुराम गौतमले पोकली झरना देशको गहना भएकाले यसको विकासमा भरपुर लागिपरेको बताउनुभयो । उहाँले पोकली झरनाको विकासका लागि आफ्नो तर्फबाट योगदान रहेको स्मरण गर्दै पोकली झरनामा पुग्ने मोटरबाटो पिच गर्न सके पर्यटन प्रवर्धनलाई मजबुत बनाउन सकिने बताउनुभयो । उहाँले पोकलीको विकासमा राजनीतिक भन्दा माथि उठेर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पोकली झरना सेवा समाजका पूर्व अध्यक्ष मिलन कुमार विष्टले पोकली झरना विकासका लागि आफ्नोतर्फबाट ठुलो सहयोग गरेको बताउनुभयो । उहाँले समाजलाई व्यक्तिगत तर्फबाट एकलाख १० हजार रुपियाँ सहयोग गर्नुभएको छ ।
पोकलीको विकासका लागि राजनीतिकभन्दा माथि उठ्न सके पोकलीलाई प्रमुख गन्तव्यको रुपमा अघि बढाउन सकिने बताउनुभयो ।
कार्यक्रममा लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले लिखु तथा पोकलीको विकासको लागि आफू लागेर पनि नसकेको बताउनुभयो । उहाँले पोकलीको लागि गाउँपालिकाले सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा शुभकामना दिँदै लिखु ९ का अध्यक्ष केशबहरी ढुङ्गेलले आफूले पोकलीका लागि गरेका कामबारे अवगत गराउनुभयो ।
समाजका निवर्तमान अध्यक्ष बुदीप्रसाद ढुङ्गेलले पोकली झरना सेवा समाजलाई आफूले सकेको काम गरेको जानकारी दिनुभयो । समाजको सांगठनिक प्रतिवेदन महासचिव निलराज गौतम र आर्थिक प्रतिवेदन कोषाध्यक्ष ओमकार सुवेदीले प्रस्तुत गर्नुभयो ।
नवनियुक्त अध्यक्ष ढुङ्गेलले पोकली बासीका लागि एम्बुलेन्स व्यवस्था गर्न ५० हजार सहयोग गरेको घोषणा गर्नुभयो । पोकली झरना नेपालकै दोस्रो अग्लो झरना हो । झरनाको उचाई १३० मिटर अग्लो रहेको छ ।