• ११ कात्तिक २०८२, मङ्गलबार

नारायणीले भत्काएको तटबन्ध मर्मत

blog

भरतपुर–२६, सिसईको ड्याम नारायणी नदीले भत्काएको स्थल नियाल्दै स्थानीय । फाइल तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, कात्तिक ११ गते । नारायणी नदीमा आएको बाढीले भत्काएको तटबन्धको ड्याम मर्मत गरिएको छ । भरतपुर महानगरपालिकाको वडा नं. २६ को सिसईमा निर्माण गरिएको ड्याम गत भदौमा आएको बाढीले भत्काएको थियो । 

बाढीले भत्काएपछि महानगरपालिकाको वडा नं. २६, २७ र २८ का बस्ती उच्च जोखिममा रहेका थिए । नारायणी नदीमा आउने बाढीको जोखिम रोक्नका लागि निर्माण गरिएको मजबुत ड्याम नै भत्काएपछि रोकथाम गर्न निकै समस्या परेको नारायणी नदी व्यवस्थापन आयोजना कार्यालयका सूचना अधिकारी प्रकाश लम्सालले बताउनुभयो । गत भदौमा आएको बाढीले निर्माण पूरा भएको ड्याम भत्काएपछि मर्मतका लागि तत्काल सक्रियता अपनाइएको उहाँले भन्नुभयो । करिब एक महिना लगाएर ड्याम मर्मत गरिएको कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी लम्सालले बताउनुभयो । निर्माण पूरा भएपछि दुई वर्षसम्म मर्मत गर्नुपर्ने निर्माण व्यवसायीको दायित्व भएकाले उनीहरूबाटै मर्मत गरिएको लम्सालले बताउनुभयो । 

भरतपुर महानगरपालिका वडा नं. २६ का अध्यक्ष ज्ञानप्रसाद खनालले हरेक वर्ष सिसई क्षेत्रमा जोखिम हुने गरेको बताउनुभयो । “भदौमा आएको बाढीले ड्याम भत्काएर नदी नै बस्तीतर्फ पस्ने जोखिम बढेको थियो,” उहाँले भन्नुभयो, “समयमा नै पहल गरेपछि मर्मत गरियो र बस्ती जोगिएको छ ।” अहिलेलाई काम चलाउ मर्मत भए पनि अबको बर्सातको समय आउनुभन्दाअगाडि नै दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने उहाँले माग गर्नुभयो । चार वर्षअगाडि पनि यही स्थानबाट नारायणी नदीको भँगालो बस्तीमा पसेको उहाँले बताउनुभयो । 

दुई सय मिटर क्षेत्रमा भत्किएको ड्याम पुनः नयाँ निर्माण गर्नुपर्ने स्थानीय राम भण्डारीको भनाइ छ । “यस वर्ष रातदिन गरेर सबैको पहलमा रोकथाम गरेका छौँ,” उहाँले भन्नुभयो, “यही हिउँदबाट नयाँ मजबुत ड्याम निर्माण गर्नु पर्छ ।”

नारायणी नदी व्यवस्थापन आयोजना कार्यालयका सूचना अधिकारी लम्सालले भूवनोट नै कमजोर भएको कारण समस्या आइरहेको बताउनुभयो । भौगोलिक अवस्थाको विषयमा अध्ययन गरेर थप काम गर्ने उहाँको भनाइ छ ।

नारायणी नदीको कटान रोक्न विसं २०७९ बाट तटबन्ध निर्माण सुरु भएको थियो । चार अर्ब ७२ करोड रुपियाँको लगानीमा सुरु भएको तटबन्धको काम अन्तिम चरणमा रहेको छ । भदौमा कटान भएको स्थानमा कङ्क्रिटको ब्लक, जाली र सानाठुला ढुङ्गाको ड्याम निर्माण गरिएको थियो । तीन मिटरदेखि ४.५ मिटरसम्म उचाइको तटबन्ध निर्माण भएको थियो । बाढीले भत्काएपछि ठुला ढुङ्गा ल्याएर पुनः सोही उचाइमा अस्थायी ड्याम निर्माण गरिएको हो । 

नारायणी तटबन्धको पाँच वटा प्याकेज रामघाट–काभ्रेघाट पाँच किमी, गाँजीपुर–हिरापुर ५ किमी, सिसई–बेलुवा ५.७ किमी, बेलुवा–मेघौली गोलाघाट ३.५, नारायणी पुलदेखि उत्तरतर्फ सात सय मिटर, सेतीदेवी सामुदायिक वनमा चार सय मिटर, मझुवा खण्डमा ४६० मिटर गरी २१ किमी तटबन्ध भएको छ । यसले गत आर्थिक वर्षको ठुलो बाढी थेगेको थियो । भरतपुरको वडा १, ३, ४, १६, १७, १८, २६, २७ र २८ हुँदै नारायणी नदी बग्ने गर्दछ । पुलचोकदेखि गोलाघाटसम्म ३५ किमी लम्बाइ रहेको छ । तटबन्धको कार्य भरतपुरसँगै नवलपुरमा पनि भइरहेको छ ।