लोकेन्द्र जोशी
दार्चुला, कात्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला सभापतिमा राजेशसिंह सामन्त र उपसभापतिमा सुरेन्द्रबहादुर खडायत चयन हुनुभएको छ । सोमबार जिल्ला सदरमुकाम खलङ्गामा आयोजना भएको रास्वपाको दोस्रो जिल्ला भेलाबाट सामन्तलाई सभापति र खडायतलाई उपसभापतिमा चयन गरिएको हो ।
नेपाली कांग्रेस निकट शिक्षक सङ्घ र शिक्षक महासङ्घ दार्चुलाका पूर्वअध्यक्ष समेत रहनुभएका सामन्तले अब सशक्त ढङ्गले रास्वपामा क्रियाशील भएर काम गर्ने बताउनुभयो । दार्चुलाका साथीको मायाले रास्वपाको जिम्मेवारीमा आएको बताउँदै उहाँले सबैको सहयोगमा दार्चुलामा सङ्गठन विस्तार गर्ने धारणा राख्नुभयो ।
दार्चुलाको विकासका लागि वडास्तरबाट सुझाव सङ्कलन गरेर माथि पुर्याउने र घण्टीमय बनाउने सामन्तको भनाइ छ । विगत लामो समयदेखि कांग्रेस निकट शिक्षक सङ्घमा क्रियाशील रहनुभएका सामन्तले कांग्रेसबाट फर्काउन प्रयास गरे पनि अब कतै नजाने र क्रियाशील हुँदासम्म रास्वपामै काम गर्ने स्पष्ट पार्नुभयो ।
रास्वपा सभापति रवि लामिछानेमाथि प्रतिशोध भएको उहाँको भनाइ छ । पछिल्लो समय रास्वपा वा रविको छबी केही धमेलिएको स्वीकार गर्दै उहाँले रबी लामिछाने, आफु वा अरू कसैको मृत्यु भए पनि रास्वपा नसकिने स्पष्ट पार्दै सङ्कटको बेला साथ छोड्नुभन्दा साथ दिने आफ्नो स्वभाव रहेको बताउनुभयो ।
रास्वपा छोडेका सुमनाहरूले समेत पार्टीमा फर्किनुपर्ने उहाँको भनाइ छ । स्वास्थ्य प्रतिकुल हुँदा समेत धेरै साथीको आग्रह आएपछि आफु सक्रिय राजनीतिमा आएको बताउँदै स्वास्थ्यले साथ दिएसम्म खटिएर काम गर्ने सामन्तले स्पष्ट पार्नुभयो ।