• ८ मंसिर २०८१, शनिबार

बैतडीमा आठ खानी अलपत्र

blog

गोकर्ण दयाल

बैतडी, कात्तिक ७ गते   । नेताले समृद्धिका नारा लगाए पनि बैतडीका आठवटा खानी अलपत्र परेका छन् । रोजगारी खोज्न युवा विदेशिनुपर्ने पीडा कायमै छ । बैतडीको सिगास गाउँपालिका–१, सुगरखालमा रहेको फलाम खानीमा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको परीक्षणबाट पुस्टि भए पनि सडक र बिजुली नहुँदा फलाम खानी उत्खनन हुन सकेको छैन ।

बैतडी–बझाङ जोड्ने जयपृथ्वी मार्गको बिन्द्रावन पक्की सडकबाट करिब तीन किलोमिटर मात्रै टाढा रहेको फलाम खानीसम्म गतिलो सडक र बिजुली पुग्न सकेको छैन । जबकि फलाम खानी रहेकै क्षेत्रका आकाशबाट ३० मेघावाट चमेलिया जलविद्युत्का तार राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । दुई वर्षअघि खानी तथा भूगर्भ विभागबाट अनुमति लिएर शुभम् मिनरल्स प्राइभेट लिमिटेडले फलाम खोज तथा अनुसन्धान गर्दा बैतडीको सिगास गाउँपालिका–१, सुगरखालको लुहारपानीमा फलाम खानी भेटिएको हो । 

फलाम खानी उत्खननअघि आवश्यक भौतिक पूर्वाधार सडक र बिजुलीका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गरिएको कम्पनीका श्याम अधिकारीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बिजुली बत्ती र बाटोघाटो नहुँदा भौगोलिक कठिनाइ छ । तीन किलोमिटर सडक र फलाम खानीसम्म बिजुली पु¥याउन सके चार महिनामै प्लान्ट स्थापना गर्न सकिन्छ । सरकारले विद्युत् लाइन बिस्तार गर्न पहल गरिदए छिट्टै प्लान्ट स्थापना गर्ने छौँ ।”  

बैतडीमा फलाम खानी मात्रै होइन, बैतडीको दोगडाकेदार गाउँपालिका–७ र ३ नं. वडाको बसौरा र पुरचौडी नगरपालिका–६, साउनगाउँमा कृषि मलमा प्रयोग हुने फस्फोराइट खानीसमेत रहेको छ । 

फस्फोराइट खानी उत्खनन गर्न तीन वर्षअघि भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् कुमार खड्काको नेतृत्वमा १५ जनाको टोलीले ५५ दिनसम्म खानीमा ड्रिल (प्वाल पार्ने काम) गरेर नेपालमै कृषि मल बन्ने सम्भावना औँल्याएर टोली फर्किएको थियो ।   

नेपाल सरकारले किसानलाई वार्षिक छ अर्ब रुपियाँ बराबरको मल आयात गर्ने गरेको तथ्याङ्क भए पनि बैतडीमै फस्फोराइट खानी भए पनि उद्योग स्थापना हुन सकेको छैन । 

बैतडीका १० वटा स्थानीय तहमध्ये पुरचौडी नगरपालिकामा फलाम खानी, कृषि मलमा प्रयोग हुने फस्फोरस खानी रहेका छन् । दोगडाकेदार गाउँपालिकामा चुनढुङ्गा र फस्फोराइट खानी, दशरथचन्द नगरपालिकाको ग्वाल्लेकमा सिसा र मौरा भीरमा शिलाजित खानी छन् । 

त्यसैगरी सिगास गाउँपालिकामा फलामसँगै खरी ढुङ्गा, स्लेट खानी, डिलासैनी गाउँपालिका छोएर बग्ने चमेलिया नदी किनारमा युरेनियम र सुन खानी, शिवनाथ गाउँपालिकामा कुटानी पिसानीमा प्रयोग हुने घट्ट, जाँतो र खल बनाउने ढुङ्गा खानी भए पनि विस्तृत अध्ययन हुन सकेको छैन ।  

चमेलिया नदीमा सुन र युरेनियम रहेको तत्कालीन जिल्ला विकास समिति बैतडीमा तथ्याङ्क छ । विस्तृत खोज अनुसन्धानका लागि सरकारलाई आग्रह गरिएको भए पनि अहिलेसम्म खानीको अध्ययन हुन सकेको छैन । 

स्थानीय तहको पुनर्संरचना हुुनुपुर्व तत्कालीन जिल्ला विकास समिति बैतडीले खानी तथा भूगर्भ विभागसित समन्वय र पत्राचार गरेर सुन र युरेनियम खानीको अध्ययन गर्ने विषय चर्चा हुने गरेको थियो । पुरचौडी नगरपालिकाको मल्लादेहीको कालीढुङ्गा क्षेत्रमा ३० वर्षपहिले स्थानीयले उत्खनन गरेर फलाम निकालेका चार सयभन्दा बढी खाडल अहिले पनि देख्न सकिन्छ । फलाम खानी बन्द भएपछि ती खाल्डामा स्थानीयले फोहोर र मरेका पशुचौपाया फाल्ने गरेका छन् ।  

खानी बन्द भएपछि फलाम उत्खनन गरेर विभिन्न औजार बनाउने चलनसमेत हराएपछि विदेशबाट आयात गरिने प्लास्टिक र सिल्बरका भाँडावर्तनको प्रयोग बढेको छ । खानीबाट उत्खनन गरेर निकालिएको फलामबाट बनेका पुरचौडे भदेला (कराई) अहिले पनि सुदूरपश्चिम क्षेत्रको जनबोलीमा झुन्डिएको छ । फलाम खानी बन्द भएपछि यहाँका परम्परागत आरनहरू बन्द भएका छन् । 

अनुसन्धान भयो, काम भएन  

ढटेलोको तेल बारे अनुसन्धान गर्न पूर्वी नेपालको धनकुटाबाट बैतडी पुग्नुभएका कृषिविज्ञ जीवनप्रसाद राईले बैतडीमा जताततै पाइने ढटेलोको तेल निकालेर निर्यात गर्न सके ढटेलोबाटै समृद्ध बैतडी बन्न सक्ने सम्भावना रहेको बताउनुभयो ।  

तेखिमे कृषि परामर्श सेवा फर्मका निर्देशकसमेत रहनुभएका राईले बैतडीको सुर्नया गाउँपालिकालगायत विभिन्न स्थानीय तहमा ढटेलोको सम्भावना अध्ययन गर्नुभएको छ । राईका अनुसार बैतडीमा ढटेलो प्रशस्तै मात्रामा रहे पनि यसको उपयोग हुन नसकेको बताउनुभयो ।    

कर्णाली प्रदेश नेपालमा गाभिनुपूर्व १८४६ मा कर्णाली राज्यले ढटेलोको तेल तिब्बतसित बेचेर आफैँमा समृद्ध बनेको कृषिविज्ञ जीवनप्रसाद राईले बताउनुभयो । चार किलो ढटेलो सुकाएर यसको दुई किलो बियाँबाट एक लिटर तेल निकाल्न सकिन्छ । वर्षमा ५० हजार लिटर तेल निकाल्न सकियो भने एक हजार एक सय रुपियाँ प्रतिलिटरका दरले पाँच करोड रुपियाँ आम्दानी हुन सक्ने सम्भावना रहेको कृषिविज्ञ राईले बताउनुभयो । 

ढटेलोको दानाबाट निस्कने तेल नेपालबाट युरोप जान थाले पनि बैतडीले माल पाएर पनि चाल पाएको छैन । ढटेलोको तेल एक हजार एक सय रुपियाँमा हिमालयन बायो ट्रेड लिमिटेडले युरोप निर्यात गरिरहेको उहाँले बताउनुभयो ।

 वैद्यले प्रयोग गर्छन् ढटेलो  

आयुर्वेदिक औषधिमा ढटेलोको प्रयोग अहिले पनि भइरहेको बैतडीका प्रचलित वैद्य भोजराज भट्टले बताउनुभयो । ढटेलोको प्रयोगले पेट सफा गरेर विभिन्न रोग निको हुने, तेल मालिस गरे जोर्नीको दुःखाई र बाथ रोगसमेत ठीक हुने वैद्य भोजराज भट्टले बताउनुभयो । 

ढटेलो वनस्पति समुद्र सतहदेखि एक हजार दुई सय मिटरभन्दा माथि दुई हजार सात सय मिटरसम्म पाइने र खेती गर्न सकिने वनस्पति भएको उहाँले बताउनुभयो ।