• १७ असार २०८१, सोमबार

धान, गहुँ खेतीभन्दा लाभदायी पुष्प व्यवसाय

blog

घोडाघोडी –३ जुरपानीका पुष्प व्यवसाय निर्मला भण्डारी चौधरीको ढकमक्क फूलेको सयपत्री फूलखेती । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), कात्तिक ५ गते ।  शुभकार्य फूलबाट नै सुरु हुन्छ । फूल आफैमा सुन्दर वस्तु हो । सौन्दर्यको प्रतीक फूल मन नपराउने मान्छे कमै हुन्छन् होला ?  फूल देख्दा मात्र होइन, पुष्प व्यवसायलाई पनि सम्मानित पेसाको रूपमा हेरिन्छ । 

पछिल्लो समय यो व्यवसायमा आकर्षण बढ्न थालेको छ । गाउँघरतिर पुष्प व्यवसायबाट आम्दानी गर्न सकिन्छ र ? प्रश्नको उत्तर बन्नुभएको छ कैलालीका पुष्प व्यावसायी निर्मला भण्डारी चौधरी ।

घोडाघोडी नगरपालिका –३ जुरपानीका निर्मलाले पुष्प व्यवसाय शुरु गरेको दुई बर्ष भयो । उहाँले शुरुको बर्ष आफ्नै १५ कट्ठा जमिनमा थाइल्याण्ड र कलकत्ता जातका सयपत्री फूल रोप्नुभयो । कैलालीको मध्यक्षेत्रमा सम्भवतः पुष्प व्यवसाय गर्ने उहाँ एक्लो हुनुहोला । 


पुष्प व्यवसायबाट सन्तुष्ट निर्मलाले सुरु बर्षमै धान गहुँबाटभन्दा राम्रो आम्दानी गर्नु भएपछि यही व्यवसायलाई बढाउँदै लग्ने बताउनुभएको छ । मुल्य, बजार पाउँछ कि पाउँदैन भन्दै सुरु गरेको व्यवसायले राम्रो आम्दानी दिएपछि उहाँ थप उत्साहित बन्नुभयो । ‘धान गहुँ लगाउनभन्दा सजिलो, फूल व्यवसायमा खर्च पनि कम हुने भएपछि सजिलो लाग्यो’ निर्मलाले अनुभव सुनाउनुभयो, ‘लगानीअनुसार धान गहुँले भाउ पाउँदैन फूलले राम्रो भाउ पाउँछ ।’

धान खेतीबाट खासै सन्तुष्ट नभएका निर्मलाको परिवारले त्यसको विकल्प रोज्नेक्रममा कसैले नगरेको पुष्प व्यवसाय रोजेको बताएको छ । गत बर्ष दुई क्वीन्टल फूल बेचेर एक लाख पच्चीस हजार रुपियाँ आम्दानी गरेको निर्मलाले बताउनुभयो । अहिले एक विघा क्षेत्रफलमा फूल विस्तार गरेको उहाँले बतउनुभयो ।  

‘गत बर्षभन्दा दोब्बर आम्दानी हुन्छ, यो बर्ष धेरै पनि लगाएका छौं, फूल पनि राम्रो भएको छ’ निर्मलाले भन्नुभयो । १० जनाको परिवार रहेको निर्मलाका श्रीमान स्थानीय सुखड बजारमा सानो पसल गर्नुभएको छ । उत्पादन भएको फूल त्यही पसलबाट विक्री हुन्छ । 

उत्पादित फूल घोडाघोडी नगरपालिकाभित्रै खपत भइरहेको निर्मलाले बताउनुभयो । पाँच सय रुपियाँ प्रतिकिलो र एक सय रुपियाँ प्रतिमालाको दरले फूल विक्री हँुदैआएको उहाँले बताउनुभयो ।


त्यसैगरी भक्तबहादुर चलाउने लम्कीचुहा ३ लम्कीका अर्का पुष्प व्यवसायी हुनुहुन्छ । लम्कीचुहा नगरपालिका ३ का निर्वतमान वडाअध्यक्ष समेत रहनुभएका चलाउनेले यो बर्षदेखि पुष्प व्यवसाय सुरु गर्नुभयो । 

दश कट्ठा आफ्नै जमिनमा लगाएको उहाँको फूल विक्री शुरुभएको छ । आफू जनप्रतिनिधि हुँदा खेतीपाती किसानको कुुरा राम्रोसँग बुझ्दै जाँदा कसैले पनि पुष्प व्यवसाय नगरेको पाएपछि आफूले व्यवसाय शुरु गरेको चलाउने बताउनुभयो । उहाँले भन्नुभयो ‘गत बर्ष एकधुर जतीमा लगाएको पनि छ हजारको फूल विक्री भयो, छोरा पनि बिएसीएजी पढ्दै छ, ऊ सँग पनि सल्लाह गरें र अहिले दश कट्ठामा फूल लगाएर विक्री भइरहेको छ ।’ 

कृषिमा अरू पेसालाईभन्दा पुष्प व्यवसायलाई सम्मानित पेसाको रूपमा हेर्ने आम्दानी पनि राम्रै हुने भएपछि यो व्यवसाय विस्तारै बढाउदै लैजाने चलाउनेको भनाइ छ । 


तिहार नजिकिएसँगै भारतीय बजारबाट आउने प्लाष्टिकका माला बन्द गराई स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने जिल्ला समन्वय समिति कैलालीका निर्वतमान संयोजक सूर्यबहादुर थापाले बताउनुभयो । 

नेपालमा माला र फूल भारतबाट बर्सेनी भित्रिरहेकाले फूलमा आत्मनिर्भर हुनेगरी पुष्प कृषक प्रोत्साहनका कार्यक्रम स्थानीय सरकारले ल्याउनुपर्ने थापाको सुझाव छ ।