• २२ वैशाख २०८१, शनिबार

भक्तपुर क्षेत्र नं. १ निर्वाचन

नेमकिपालाई गठबन्धन र एमाले उम्मेदवारको चुनौती

blog

काठमाडौं, कात्तिक ४ गते । भक्तपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सुनिल गोठे (बासु), नेकपा (एमाले) का नवराज गेलाल र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । 

मैदानमा १४ उम्मेदवार 

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टी, नेपालका हीरालाल खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्का, मौलिक जरोकिलो पार्टीका बलराम प्रजापति, नेपालका लागि नेपाली पार्टीका अर्जुनप्रसाद नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका माधव खत्री, नेकपा (मार्क्सवादी लेनिनवादी) का दीपक लामिछाने र आमूल परिवर्तन मसिहा पार्टी नेपालका डम्बरबहादुर थिङ्ग चुनावी मैदानमा हुनुहुन्छ । यस क्षेत्रमा राजनीतिक दलबाट १० र स्वतन्त्र ४ गरी जम्मा १४ उम्मेदवार हुनुहुन्छ ।  

नेमकिपाको गढ 

भक्तपुर १ मा निरन्तर विजयी बन्दैआएको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले २०४८ मा २० हजार १६३ मतसहित विजयी हुनुभएको थियो । त्यतिबेला कांग्रेसका राघेशमान जोन्चेको मत १३ हजार ७२ थियो । 

२०५१ साल, २०५६ साल, २०६४ साल, २०७० मा बिजुक्छे निरन्तर विजयी हुँदै आउनुभयो । २०७४ मा नेमकिपाका अर्का उम्मेदवार प्रेम सुवाल ३३ हजार ७६ मतसहित विजयी हुनुभयो । त्यो बेला, कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८, माओवादी केन्द्रका मिलन सुवालले १५ हजार ३७४ र विवेकशील साझाका दिनेश न्यौपानेले दुई हजार ३३० मत प्राप्त गर्नुभयो ।

नेमकिपाको एजेण्डा 

भक्तपुर १ मा निरन्तर चुनाव जित्दैआएको नेमकिपाका उम्मेदवार प्रेम सुवाल अबको निर्वाचनमा फेरि जित सुनिश्चित रहेको दाबी गर्नुहुन्छ । निर्वाचन आचारसंहिताअनुरूप घोषणापत्र जनताका घरदैलोमा लाने र सोअनुरूपको कार्यान्वयनमा जोड दिइने उहाँको भनाइ छ । 

सुवालले भन्नुभयो, “देशको सीमा सुरक्षा र सार्वभौमसत्ता रक्षाको सङ्घर्ष अगाडि बढाउने, देशलाई शिथिल बनाउन खोज्नेविरुद्ध आवाज उठाउने, माध्यमिक शिक्षा निःशुल्क एवम् अनिवार्य गराउने, विश्वविद्यालय शिक्षा निःशुल्क बनाउन, स्वास्थ्य सेवा निःशुल्क र सुलभ गराउन आवश्यक कानुन बनाउन संसदमा आवाज उठाउनु पर्छ ।” 

यससहित ज्येष्ठ नागरिक, अशक्त, टुहुराको आवश्यक व्यवस्था गर्ने, महिलाको श्रम शक्ति वृद्धि र बालबालिकाको शारीरिक तथा मानसिक विकास गर्न स्थानीय तहको वडा र टोलमा शिशु स्याहार केन्द्र तथा बाल उद्यान बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

नेपाली युवालाई भाडाको सिपाही बनाउने प्रथा, छुवाछूत तथा अन्धविश्वासको अन्त्य गर्ने, १९५० को असमान सन्धि खारेजीको आवाज उठाउन र कृषिमा आत्मनिर्भर एवम् परनिर्भरताको अन्त्य गर्न पहल गरिने सुवालले बताउनुभयो । 

जनताले घोषणापत्रअनुसार उम्मेदवारलाई मत दिने बताउँदै विजयका लागि नेपाली जनताले मत दिनुहुने विश्वस व्यक्त गर्नुभयो । देशका ५८ जिल्लामा नेमकिपाका उम्मेदवार चुनावी मैदानमा छन् । 

वाम–लोकतान्त्रिक गठबन्धन

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सुनिल गोठे बासुले २०६२–६३ को आन्दोलनमा प्राप्त गणतन्त्र, सङ्घीयता संस्थागत गर्न अपरिहार्य बनेको गठबन्धन शान्ति, समृद्धि र विकासका लागि एकसाथ चुनावमा होमिएको बताउनुभयो । 

नगरकोट, चाँगु नगरपालिकालाई पर्यटकीय क्षेत्रको रूपमा विकासका लागि पर्याप्त पूर्वाधार निर्माण गर्ने, खानेपानीको समस्या समाधान गर्ने भन्नुहुँदै उहाँले आफ्नै पालामा सुरु भएको मेलम्चीको दोस्रो फेजको काम चाँडोभन्दा चाँडो पूरा गर्ने लक्ष्य रहेको बताउनुभयो ।

“विकास निर्माण स्थानीयस्तरमा माग छ, त्यसको स्पष्ट भिजन वाम–लोकतान्त्रिक गठबन्धन, त्यसमा पनि माओवादी केन्द्रसँग छ । नीतिगत परिवर्तन के कुरामा सम्भव छ भने अब गठबन्धन सरकार बन्ने हो भने शिक्षा, स्वास्थ्यसँग सम्बन्धित नीतिगत परिवर्तन गठबन्धनले पूरा गर्नेछ । केही जनप्रतिनिधि नहुँदा पनि जनतासँग रहेर निरन्तर काम गरिरहेका छौँ” गोठेले भन्नुभयो । 

बोझिनी ड्यामबाट खानेपानी वितरणको डीपीआर तयार भइसकेको र एक घर, एक धाराको काम छिट्टै पूरा गर्ने, चाँगुनारायणभित्र रिङरोड बनाउने, नगरकोट वरपरको तामाङ बस्तीलाई पहिचानसहितको विकास गर्ने योजना, भक्तपुरको पुरातात्त्विक एवम् परम्परागत भवनहरू निर्माण गर्दा सरकारले ५० प्रतिशत अनुदानको व्यवस्था, सुविधा सम्पन्न नगर अस्पताल, बीमा कार्यक्रम थप प्रभावकारी, स्थानीय निकायलाई थप अधिकार सम्पन्न बनाउन पहल गरिने उहाँको भनाइ छ ।  

“जनताले युवा नेतृत्व खोजेको छ । देशको प्रमुख शक्ति माओवादी, मुख्य शक्ति नेपाली कांग्रेस र एकीकृत समाजवादीसहित तीन वटा पार्टी हामीसँगै छ । सङ्घीय चुनाव स्थानीय निर्वाचनभन्दा फरक हुने हुनाले, जित सुनिश्चित छ” उहाँले भन्नुभयो । 

जनता परिवर्तन चाहन्छ 

यस्तै, नेकपा (एमाले) का प्रतिस्पर्धी नवराज गेलाल हुनुहुन्छ । एमाले र नेमकिपाबीच मुख्य प्रतिस्पर्धा हुने बताउनुहुँदै ४० औँ वर्षदेखि एउटै पार्टीले जितिरहँदा परिवर्तनको आभास जनताले पाउन नसकेको गेलालको भनाइ छ ।  

उहाँले भन्नुभयो, “भक्तपुरका जनताले परिवर्तन चाहेका छन् । प्रतिनिधिसभाकै भूगोलभित्र मानव अङ्ग अस्पताल बनाउने जग्गा सरकारको नाममा प्राप्त भएको छ, यसलाई सुरु गराउन, मेलम्ची खानेपानी आयोजना क्षेत्र नं. १ मा प्रवेश गराउन, चाँगुनारायणमा हाइकिङ रुट विकास गर्नुपर्छ । दुई, चार दिन पर्यटक भक्तपुरमा बस्न सकोस् ।” 

मनोहरा खोलामा वर्षेनी नोक्सानी हुनेगरेकाले त्यस क्षेत्रमा हरियाली सिर्जना गर्ने, खस्याङ्खुस्युङ र हनुमन्ते खोला व्यवस्थित गर्ने, डुङ्गा चलाउने, बढ्दो वातावरणीय प्रदूषणलाई नियन्त्रण गर्न आवाज उठाउने आफ्नो योजना रहेको उहाँले बताउनुभयो । 

भक्तपुर १ अन्तर्गत चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका वडा १० पर्छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुर वडा १० मा नेमकिपाका लक्ष्मीप्रसाद हयौमिखा २६ सय २६ मतले अध्यक्षमा विजयी हुनुभएको थियो । चाँगुनारायण नगरपालिका प्रमुखमा कांग्रेसका जीवन खत्री ९ हजार ५५० मतले विजयी हुनुभएको थियो । एमालेका बिना बास्तोलाले ९ हजार १६०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्रप्रताप शाहले ८ हजार ६७ र नेमकिपाका केशवप्रसाद तिमिल्सिनाले ३ हजार २६७ मत ल्याउनुभएको थियो ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।