• २८ असोज २०८२, मङ्गलबार

इरानद्वारा ट्रम्पको शान्ति प्रस्ताव ‘कार्यसँग विपरीत’ भन्दै अस्वीकार

blog

तेहरान, असोज २८ गते । इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावलाई कडा भाषामा अस्वीकार गर्दै उक्त आह्वानलाई अमेरिकाका हालका सैन्य कार्यसँग ‘पूर्णतः विपरीत’ भएको टिप्पणी गरेको छ ।

इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी राष्ट्रपतिले व्यक्त गर्नु भएको शान्ति र वार्ताको इच्छा इरानी जनताप्रति अमेरिकाले देखाइरहेको शत्रुतापूर्ण र आपराधिक व्यवहारसँग मेल खान सक्दैन ।” विज्ञप्तिमा अमेरिकी प्रशासनको समर्थनमा गत जुन महिनामा इजरायलद्वारा इरानका आणविक तथा सैन्य केन्द्रमा गरिएको बमबारीको उल्लेख गर्दै ‘त्यो आक्रमणले सयौँ निर्दोष नागरिकको ज्यान लिएको मात्र होइन, क्षेत्रीय स्थायित्वलाई पनि गम्भीररूपमा कमजोर बनायो’ भनिएको छ ।

जुन महिनाको मध्यतिर इजरायलले इरानभरि व्यापक हवाई आक्रमण अभियान सञ्चालन गरेको थियो, जसमा आणविक सुविधा, सैनिक ठेगाना र आवासीय क्षेत्रसमेत लक्षित भएका थिए । ती आक्रमणमा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ । बाह्र दिनसम्म चलेको इजरायल-इरान युद्धमा अमेरिकाले पनि प्रत्यक्षरूपमा इरानी आणविक साइटमा प्रहार गरेको थियो, जसका कारण वासिङ्टन र तेहरानबिचको उच्चस्तरीय आणविक वार्ता पूर्णरूपमा अवरुद्ध भएको थियो ।

इरानले त्यसको प्रतिकार स्वरूप मिसाइल र ड्रोन आक्रमण गरेको थियो । ती आक्रमणले इजरायलमा दर्जनौँ मानिसको मृत्यु भयो । जुन २४ देखि दुई देशबिच युद्धविराम लागू भए पनि सम्बन्ध तनावपूर्ण नै रहेको छ । यसैबिच सोमबार इजरायली संसद् (नेसेट) मा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभएको थियो, “संयुक्त राज्य अमेरिका इरानसँग शान्ति सम्झौता गर्न इच्छुक छ, तर अन्ततः बल तेहरानको कोर्टमा छ ।”

तर इरानले उक्त प्रस्तावलाई ‘दुईमुखे र अविश्वसनीय’ भन्दै खारेज गरेको छ । विदेश मन्त्रालयले प्रश्न गर्दै भन्यो, “कसरी कुनै देशले राजनीतिक वार्ताको कुरा गर्न सक्छ, जब उसैले इरानका आवासीय क्षेत्रमा बमबारी गरेर निर्दोष महिला र बालबालिकासहित हजारौँ नागरिकको ज्यान लिएको छ ?” ट्रम्पले आफ्नो सम्बोधनमा इरानलाई ‘आतङ्कवादीलाई त्याग्न, छिमेकीलाई धम्की दिन रोक्न, प्रोक्सी समूहलाई सहयोग बन्द गर्न र इजरायलको अस्तित्व अधिकारलाई स्वीकार गर्न’ आग्रह गर्नु भएको थियो ।

तेहरानले भने ती टिप्पणीलाई ‘गैरजिम्मेवार, लाजमर्दो र उक्साहटपूर्ण’ भन्दै संयुक्त राज्य अमेरिकालाई आतङ्कवादको प्रमुख उत्पादक तथा ‘नरसंहारकारी यहुदी शासनको समर्थनकर्ता’ भएको आरोप लगाएको छ । विज्ञप्ति इरानले चेतावनी दिँदै भनेको छ, “संयुक्त राज्य अमेरिकासँग अरू राष्ट्रलाई आरोप लगाउने कुनै पनि नैतिक अधिकार छैन । जबसम्म वासिङ्टनले आफ्नो दोहोरो मापदण्ड र शत्रुतापूर्ण नीतिहरु परित्याग गर्दैन, कुनै पनि प्रकारको वार्ता सम्भव हुने छैन ।” रासस/एएफपी