काठमाडौँ, असोज २८ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यसअघि घोषणा गरेको शहिद स्मारक ‘ए’ डिभिजन लिग होम एन्ड अवे प्रणालीमा नगर्ने भएको छ ।
एन्फाले मङ्गलबार पत्रकार सम्मेलनगरी क्लबहरुको सुझावको आधारमा आगामी पुसमा हुने भनिएको होम एन्ड अवे लिग आयोजना गर्नबाट एन्फा पछि हटेको जनाएको छ ।
‘‘परिस्थिति जन्य कारण यसवर्ष होम एन्ड अवे लिग गर्न सकिएन । यसका लागि क्लबहरुले १० महिना समय माग्नुभएको छ । यसमा एन्फा लचक छ । छठपछि क्लबहरुसँग छलफल गरेर लिगको मोडालिटी तय गर्नेछौँ,’’ महासचिव किरण राईले भन्नुभयो ।
एन्फाले यसै वर्ष शीर्ष डिभिजनको लिग चाहीँ गर्ने राईले बताउनुभयो । एन्फाले पछिल्लो पटक २०७९ मा ‘ए’ डिभिजन लिग गरेको थियो । त्यसपछि लिग नहुँदा राम्रा फुटबल खेलाडी अस्ट्रेलियालगायत देशमा पलायन भएका छन् ।
‘ए’ डिभिजनमा हाल १४ क्लब छन् । शनिबारमात्र ‘ए’ डिभिजनका नौ क्लबले पत्रकार सम्मेलन गरी ‘ए’ डिभिजन लिग एसियाली फुटबल महासङ्घ (एएफसी) को क्लब लाइसेन्सिङको मापदण्डअनुसार हुनुपर्ने माग राखेका थिए ।