• २८ असोज २०८२, मङ्गलबार

फस्टाउँदै कुखुरापालन, वार्षिक २० लाखसम्म आम्दानी

blog

सल्यानका किसानले पालन गरेका कुखुरा ।

शंकर केसी

सल्यान, असोज २८ गते । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा ३ दारिमज्युला निवासी कमला विष्टले समूहमा आवद्ध भएपछि केही व्यवसाय गर्नुपर्छ भन्ने सोचका साथ कुखुरा पाल्न थाल्नुभएको छ । आफ्नो घर नजिकैको गोठलाई उपयोग गरेर कुखुरा पालन सुरु गर्नुभएकी उहाँले यसलाई व्यवसायीक रुपमा अगाडी बढाएर आत्मनिर्भर बन्ने लक्ष्य लिनुभएको छ ।

यसैगरी जिल्लाकै बागचौर नगरपालिकाका, ७ का तारादेव वलीले कुखुरा पालन व्यवसायबाट सफलता हाँसिल गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “गाउँमै केही गर्नुपर्छ भन्ने उद्देश्यले २०७७ सालमा फार्म दर्ता गरेर कुखरापालन व्यवसाय विस्तार गरेको हुँ । सुरुमा त एउटा सानो कोठाबाट ब्रोइलर कुखुरा पालन सुरू गरेको थिएँ ।” उहाँले कुखरा पालनको आम्दानीले गाउँमै जग्गा जमिन जोड्न सफल भएको पनि बताउनुभयो । “अहिले मसंग १८ हजार कुखुरा रहेका छन् । जसबाट वार्षिक २० लाख आम्दानी हुँदै आइरहेको छ”, उहाँले भन्नुभयो । अहिले कर्णाली प्रदेशका अधिकांश जिल्लामा वलीको फर्मबाट कुखुरा जान्छ । बिक्री गर्न कुनै व्यापारी खोज्नु नपरेको भन्दै उहाँले गाडी लिएर फर्मसम्म आफै व्यापारी आउनेगरेको बताउनुभयो ।   

पछिल्लो समय सल्यानमा कुखुरा पालनलाई मुख्य व्यवसाय बनाएर आय आर्जन गर्नेहरू बढिरहेका छन् । धेरै युवा कुखुरापालन व्यवसायमा संलग्न छन् । कतिपयले त विदेशबाट घर फर्किएर कुखुरा पालन गरिरहेको देख्न सकिन्छ । वैदेशिक रोजगारीबाट फर्किनुभएका त्रिवेणी गाउँपालिका काँरेवासका रहिम दास मियाले पनि कुखुरा पालनबाट वार्षिक २० लाख आम्दानी गर्दै आइरहनुभएको छ । 

फार्मबाट दैनिक एक हजार ७ सयबढी अण्डा उत्पादन हुँदै आइरहेको मियाले बताउनुभयो । “सात वर्ष विदेशमा बसेपछि आफ्नै गाउँघरमा केही गर्नुपर्छ भन्ने सोचका साथ स्वदेश फर्किएर कुखुरा पालन थालेको हुँ । सोचे जस्तै आम्दानी पनि हुँदै आइरहेको छ”, उहाँले भन्नुभयो ।

यहाँ स्थानीय जातका कुखुरासँगै ब्रोइलर, लेयर्स, हाँस कालिज पालन हुनेगरेको छ । व्यवसायिक रूपमा १३४ फर्म दर्ता भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । जिल्लामा वार्षिक आठ करोड ३५ लाख २० हजार अण्डा उत्पादन हुने र उक्त  उत्पादित अण्डा र मासु जिल्लामै खपत हुने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले जानकारी दिनुभयो । जिल्लामा मासु र अण्डाको माग धेरै छ ।