• २० असार २०८१, बिहिबार

ग्रामीण सडकमा दुर्घटनाको जोखिम बढ्दो

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, कात्तिक ४ गते । यो वर्षको बर्खा सकिएसँगै ग्रामीण क्षेत्रमा सञ्चालनमा आएका कच्ची सडकमा दुर्घटनाको जोखिम बढेको छ। ग्रामीण सडकमा सञ्चालनमा रहेका यातायातका साधनले सामानसँगै क्षमताभन्दा बढी यात्रु बोक्नाले दुर्घटनाको जोखिम बढेको हो। 

सुनकोसी गाउँपालिका–७, मझुवा निवासी गणेश भण्डारीले बर्सातको मौसममा पानीले खोलेर अधिकांश ग्रामीण सडक बिग्रेकाले दुर्घटना जोखिम बढेको बताउनुभयो। तिनै बिग्रेका ग्रामीण सडकमा चल्ने यातायातका साधनले क्षमताभन्दा बढी मानिस बोक्दा दुर्घटना जोखिम झन् बढेको धारणा उहाँको छ।

उहाँले भन्नुभयो, “झन् बोलेरो जिपमा त सामान पनि उत्ति नै हुन्छ। त्यसमाथि मान्छेको भीडले खुट्टा राख्ने ठाउँ पाउन पनि मुस्किल पर्छ। ज्येष्ठ नागरिक र बालबालिकालाई त अहिले ग्रामीण सडकको यात्रा सास्ती नै हुन्छ।”

मानिसको चापसँगै सवारीसाधनले भाडा पनि जथाभावी लिने गरेको स्थानीयको गुनासो छ। स्थानीयका अनुसार ग्रामीण क्षेत्रका सडकमा सञ्चालन हुने बोलेरो जिपलगायतका यातायातका साधनलाई अहिले क्षमताभन्दा बढी यात्रु बोक्नु बाध्यता बनेको छ।

ग्रामीण क्षेत्रका सडकमा सवारीसाधन जाँचको व्यवस्था नहुँदा यात्रुहरू ठगिने गरेका छन्। सदरमुकाम सिन्धुलीमाढीदेखि मझुवासम्म सञ्चालन हुने एक बोलेरो जिपका चालकले भने, “गाडी देखेपछि सबै चढ्न खोज्छन्। हामीले कसलाई चढ् भन्नु, कसलाई नचढ् भन्नु। क्षमताभन्दा बढी बोक्नु बाध्यता नै परेको छ।”

ग्रामीण क्षेत्रका सडकमा पर्याप्त सवारीसाधन सञ्चालन नहुँदा गाडीमा यात्रुको चाप बढेको उहाँले बताउनुभयो। जिल्ला सदरमुकाम सिन्धुलीमाढीदेखि चकमके हुँदै बाहुनतिल्पुङसम्म चल्ने यातायातका साधनले कोचाकोच गरी यात्रु बोक्ने गरेका छन्। 

जिल्लामा चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनमा आरक्षण सिट पनि कार्यान्वयनमा आउन सकेको छैन। यसका कारण ज्येष्ठ नागरिक तथा अशक्त बढी समस्यामा पर्ने गरेका छन्। जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले जिल्लाबाट छुट्ने तथा भित्रिने सवारीसाधनमा निगरानी बढाएको जनाएको छ। क्षमताभन्दा बढी मात्रामा यात्रु बोक्ने सवारीसाधनलाई कारबाही गर्दै आएको कार्यालयको दाबी छ।