काठमाडौं, पुस ४ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरुको निर्माण गर्न सक्रियतापूर्वक लागिरहेको बताउनुभएको छ । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति, अल्पसङ्ख्यक समुदाय आदिलाई समेत सम्बोधन हुनेगरी विकास तथा सेवाको ढाँचा निर्माणदेखि कार्यान्वयनमा ध्यान दिँदै जानु नै सङ्घीयताको सफल कार्यान्वयनको सूचक भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति, अल्पसङ्ख्यक समुदाय आदिलाई समेत सम्बोधन हुनेगरी विकास तथा सेवाको ढाँचा निर्माणदेखि कार्यान्वयनमा ध्यान दिँदै जानु नै सङ्घीयताको सफल कार्यान्वयनको सूचक पनि हो । तीन तहकै सरकारबिचको अधिकार बाँडफाँट र तिनीहरुको कार्यान्वयनमा थुप्रै मतभेद र विवाद छन् जस्तो मलाई लाग्दैन ।’’
सभामुख घिमिरेले तीन तहकै सरकारबिचको अधिकार बाँडफाँट र तिनीहरुको कार्यान्वयनमा धेरै मतभेद नरहेको बताउनुभयो । उहाँले सङ्घीयता कार्यान्वयनको सुरुवाती अवस्थादेखि रहेका केही कमी, कमजोरीहरु अहिले कार्यान्वयनको क्रममा समाधान हुँदै गएको जिकिर गर्नुभयो । उहाँले सङ्घीय शासन प्रणाली भनेकै निरन्तर अभ्यासको क्रममा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने पद्धति भएको औंल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘सङ्घीयता कार्यान्वयनको सुरुवाती अवस्थादेखि नै केही कमी, कमजोरीहरु पनि अवश्य अभ्यासका क्रममा समाधान हुँदै गएका छन् । सम्बोधन हुँदै जाने नै छन् । सभामुखका रुपमा सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरुको निर्माण गर्न मेरो प्रयत्न पनि निरन्तर रही रहेको छ । सङ्घीय शासन प्रणाली भनेकै निरन्तर अभ्यासको क्रममा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने पद्धति हो भन्ने मेरो बुझाइ छ ।’’
सभामुख घिमिरेले विद्यालय शिक्षा, निजामती ऐन, प्रहरी समायोजन जस्ता मुख्य कार्यहरु कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्नुभयो । कानुन कार्यान्वयनको लागि तीन तहकै सरकारबीच समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।