• ८ वैशाख २०८१, शनिबार

भक्तपुर निर्वाचन क्षेत्र नं. २

मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच

blog

भक्तपुर, कात्तिक ३ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन लागि भक्तपुरमा विकास र सुशासनलाई सङ्घीय संसद्मा उठाउन सक्ने उम्मेदवार छनोट हुनुपर्ने स्थानीय मतदाताले अपेक्षा गरेका छन् । विकास र सुशासनलाई प्राथमिकताका साथ संसद्मा आवाज उठाउँदै नीति निर्माण गर्न सक्ने उम्मेदवार निर्वाचित हुनुपर्ने अपेक्षा स्थानीय मतदाताको छ। 

भक्तपुर निर्वाचन क्षेत्र नं. २ मध्यपुर थिमि नगरपालिका–३, कौशलटारका मतदाता गोविन्दप्रसाद निरौलाले स्थानीय बासिन्दालाई अप्ठ्यारो पर्दा जनताको घरदैलोमा पुग्न सक्ने उम्मेदवारलाई मतदान गर्ने बताउनुभयो। “जनताले लामो समयसम्म स्मरण गर्नसक्ने गरी विकासको काम गर्नसक्ने र निर्वाचन जितेपछि जनतालाई बिर्सने उम्मेदवार निर्वाचित हुनुहुँदैन,” उहाँले भन्नुभयो। 

यसै क्षेत्रमा पर्ने सूर्यविनायक नगरपालिका–४, दधिकोटका मतदाता ममता राउतले निर्वाचित गराएर पठाएको व्यक्ति संसद्मा गएर मतदाताको माग राख्न सक्ने उम्मेदवार निर्वाचित हुनुपर्ने बताउनुभयो। २०४८ सालदेखि अहिलेसम्म भएको निर्वाचनमा निर्वाचित कतिपय सांसदले त्यस्तो आवाज संसद्मा राख्न सके पनि कतिपय सांसद संसद्मा गएर मौन रहने गरेकाले स्थानीयको आवाज संसद्मा बुलन्द गरी नीति निर्माण गर्नसक्ने उम्मेदवार नै छनोट हुनुपर्नेमा उहाँले जोड दिनुभयो। 

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा नेकपा (एमाले) र नेपाली कांग्रेसबीच हुने देखिएको छ। गएको स्थानीय तहको निर्वाचनलाई आधार मान्दा पनि दुई दलबीच प्रतिस्पर्धा हुने देखिन्छ। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दुईवटा नगरपालिकामध्ये एउटामा नेकपा (एमाले) र अर्कोमा नेपाली कांग्रेसले प्रमुख पद जितेको छ। दुई नगरपालिकाका १९ वटा वडामध्ये नेपाली कांग्रेसले ११ वटा वडा, एमालेले सात वडा र नेपाल मजदुर किसान पार्टीले एउटा वडामा वडाध्यक्ष जितेका छन्। 

२०४८ सालमा भएको आमनिर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसका जगन्नाथ आचार्य, २०५१ मा नेपाल मजदुर किसान पार्टीका आशाकाजी बासुकला, २०५६ मा नेपाली कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ मा नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापति, २०७० मा नेपाली कांग्रेसका रामेश्वर ढुङ्गेल र २०७४ सालमा नेकपा (एमाले)का महेश बस्नेत निर्वाचित हुनुभएको थियो। 

२०७३ सालमा भएको निर्वाचन क्षेत्र पुनरवलोकन भएपछि साबिक निर्वाचन क्षेत्र नं. २ मा पर्ने भक्तपुर नगरपालिकाको आठवटा वडा निर्वाचिन क्षेत्र नं. १ मा गाभिएको र निर्वाचन क्षेत्र नं. १ मा पर्ने मध्यपुर थिमिको चारवटा वडा निर्वाचन क्षेत्र नं. २ मा गाभिएपछि निर्वाचन क्षेत्र नं. २ मा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुँदै आएको छ। 

भक्तपुरमा निर्वाचन क्षेत्र नं. २ मा प्रमुख प्रतिस्पर्धा एमाले र नेपाली कांग्रेस बीच नै हुने भए पनि नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसी, जनता सामाजवादी पार्टीका दिलबहादुर तामाङ, नेपाल विवेकशील पार्टीका शशिविक्रम कार्कीलगायतका दल चुनावी प्रतिस्पर्धामा छन्। 

त्यस्तै अन्य साना दलसमेत गरी २६ जना उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ। भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा ९१ हजार ९११ मतदाता रहेका छन् भने १०७ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ। 


विकास जितको आधार 

महेश बस्नेत, नेकपा (एमाले) भक्तपुर निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार

२०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट आफू निर्वाचित भएपछि यस क्षेत्रमा भएको विकासको लहर नै आफूले निर्वाचन जित्ने प्रमुख आधार हो। चार÷पाँच वर्षअगाडि यस क्षेत्रका नागरिक विदेश गएर अहिले घर फर्कंदा ती नागरिकले आफ्नो घर जाने बाटो, पुल, खानेपानी, बत्ती पाटीपौवालगायतका भौतिक पूर्वाधार चिन्न नै नसक्ने गरी फेरिएका छन्। यो नै मैले निर्वाचन जित्ने आधार हो। आफ्नै पहल र प्रयासमा विगतमा भक्तपुरमा एमालेकै नेतृत्वमा ९० प्रतिशत विकासका आयोजना सम्पन्न भएका छन् । अहिले अधिकांश आयोजन सम्पन्न भएका र केही आयोजना भने निर्माणाधीन अवस्थामा छन्। 

विगतमा गरिएको कामले मतदाताले निष्पक्ष भएर मूल्याङ्कन गर्दा आफ्नो प्रतिस्पर्धा कुनै पनि दलहरूसँग हुँदैन। विगतमा भएका विकासलाई हेर्दा एमालेले मात्र विकास गर्न सक्ने भएकाले मतदाताले फराकिलो मतले निर्वाचनमा विजय गराउनेछन्।  


संसद्मा विसङ्गतिका आवाज 

दुर्लभ थापा, नेपाली कांग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार

भक्तपुरको जुजु धौ, स्थानीयस्तरमा उत्पादित रक्सी, चिउरा, भादगाउँले टोपीलगायतका स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय रूपमा बजारीकरण गर्नका लागि नीतिगत रूपमा नै आवाज उठाउने मेरो एजेन्डा रहनेछ। यस क्षेत्रमा भएको अव्यवस्थित बस्तीलाई व्यवस्थित सहरका रूपमा विकास गराउने, विकासका नाममा हुने गरेको भ्रष्टाचार र विसङ्गतिलाई संसद्मा आवाज बुलन्द गर्ने र भक्तपुरलाई भ्रष्टाचारमुक्त सहर बनाउन भूमिका निर्वाह गर्नेछु। 

प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर विकास निर्माणमा सहजीकरण गर्दै नीतिगत रूपमा आफूले भूमिका निर्वाह गर्नेछु। विगतका स्थानीय तहको निर्वाचनलाई आधार मान्दा पनि यस निर्वाचन क्षेत्रमा कांग्रेसले सजिलै निर्वाचन जित्न सक्छ। अहिले नेपाली कांग्रेस मात्र नभए वाम लोकतान्त्रिक गठबन्धन संयुक्त रूपमा निर्वाचनमा गएकाले पनि आफूले सजिलै निर्वाचन जित्नेछु।