साढे चार वर्षपछि नेपालका हजारौँ खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको राजधानी पोखरामा भेला भएका छन् । यो प्रतियोगिता नवौँ संस्करण हो । यसको उद्घाटन हिजो शुक्रबार भइसकेको छ । नेपाली खेलकुदका लागि यो प्रतियोगिता सबभन्दा ठूलो मेला हो । यो मेला प्रत्येक दुई वर्षमा आयोजना हुने नियम छ । तर पटक पटक सारिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पनि साइत बल्ल जुरेको छ । जे होस् ३९ वर्षपछि फेरि पोखरामा दोस्रो पटक घरेलु खेलकुदको सबभन्दा ठूलो मेला भइरहेको छ । यसअघि २०४० सालमा पोखरामा दोस्रो राष्ट्रिय खेलकुद आयोजना भएको थियो । यसपालि राष्ट्रिय खेलकुदको बजेट ६० करोड रुपियाँ छुट्याइएको छ । अझ प्रदेश सरकारको पनि लगानी जोड्ने हो भने यस प्रतियोगिताको लागत अझ बढी हुन आउँछ ।
व्यक्तिगत, समूहगत, टिम गेम सबै खेलका खेलाडी तथा प्रशिक्षक र खेलकर्मी यो महोत्सवमा सहभागी हुन्छन् । राष्ट्रिय खेलकुदले घरेलु खेलकुदको विकास मात्र होइन, नेपालका सबै खेलकर्मीलाई एउटै ठाउँ, एउटै लक्ष्य र एउटै भावनामा बाँध्ने उद्देश्य पनि बोकेको छ ।
चार दशकअघि राष्ट्रिय खेलकुद प्रतियोगिता प्रमुख तीनवटा लक्ष्यका साथ सुरु भएको थियो । पहिलो, देशभरकै खेलाडीलाई आफ्नो प्रतिभा र क्षमता देखाउने ठूलो मञ्च उपलब्ध गराउने । दोस्रो, खेलकुद अभियानलाई विकेन्द्रीकरण गर्ने । यस मान्यताअनुरूप पालैपालो क्षेत्रीय स्तरमा यस प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी दिइन्थ्यो । तेस्रो, राष्ट्रिय खेलकुदको बहानामा खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्ने ।
नवौँ राष्ट्रिय खेलकुदका अवसरमा पनि विगतमा जस्तै नयाँ खेलाडीहरूको उदय हुने अपेक्षा हामी गर्न सक्छौँ । यसपालि भौतिक पूर्वाधार निर्माणमा भने पोखरा भाग्यमानी साबित भयो । विगतमा राष्ट्रिय खेलकुद हुन लाग्दा हतारमा पूर्वाधार निर्माण हुने दृष्टान्त थियो । तर यस पक्षमा अहिले गुनासो गर्ने ठाउँ भएन । तीन वर्षअघि नेपालमा १३औँ दक्षिण एसियाली खेलकुदको आयोजना हुँदा पोखरा सहर पनि सहआयोजकमध्ये एक थियो । त्यतिखेर नै पोखरा रङ्गशालामा खेल पूर्वाधार निर्माण भयो । दशरथ रङ्गशालापछि नेपालको दोस्रो ठूलो रङ्गशाला हो– पोखरा रङ्गशाला । यो रङ्गशाला दोस्रो राष्ट्रिय खेलकुद आयोजनाका लागि नै निर्माण भएको थियो । यसपालि पनि पोखरामा राष्ट्रिय खेलकुदकै बहानामा पनि खेल पूर्वाधारहरूको स्तरोन्नति भएका छन् । गण्डकी प्रदेशका सात जिल्लामा आयोजना हुने भए पनि प्रायः खेल पोखरामा नै हुँदैछन् । अत्यधिक जाडो तथा खेलाडी र खेल पदाधिकारीलाई आवश्यक न्यूनतम सुविधा पु¥याउन कठिन हुने भएकाले मनाङ, मुस्ताङ र लमजुङमा भने खेलकुदका प्रतियोगिता राखिएका छैनन् ।
नेपाल टि २० क्रिकेट लिगको समय जुधेको भन्दै काठमाडौँमा पहिले नै पुरुष क्रिकेटको आयोजना भयो । यस प्रतियोगिताको उपाधि जितेर नेपाल प्रहरी नवौँ राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक विजेता बनिसकेको छ ।
नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुन करिब १० हजार जना पोखरा पुगेका छन् । खेलाडी र खेल पदाधिकारीको यहाँ एक हप्ता जमघट हुनेछ । आर्थिक, सुरक्षा, भौतिक पूर्वाधार र अन्य विविध पक्षबाट यो बृहत् खेल मेला चुनौतीपूर्ण छँदैछ । यसपालि समय पनि थप चुनौतीको रूपमा रहेको छ । प्रतियोगिता दशैँ र तिहारको बीचमा हुँदैछ । यस्तै प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यका लागि निर्वाचनको चहलपहल छ । डेङ्गुको प्रकोप छ । कति खेलाडी डेङ्गुले सङ्क्रमित भएको समाचार पनि बाहिर आएका छन् । कोरोनाले पनि कतिलाई सताउला । यस्तो अवस्थामा राष्ट्रिय खेलकुदको तयारी, खेलाडीहरूको फिटनेस समस्याको रूपमा देखिने सम्भावना छ । चाडबाडको समयमा खेलाडीको सम्पूर्ण ध्यान खेलमा मात्र नहोला भन्ने डर पनि छ । त्यसैले यो समयमा राष्ट्रिय खेलकुद नगर्न विरोधका स्वर पनि उठेका थिए । तर पर्यटकीय नगरी पोखरामा देशभरिका खेलाडीको जमघट भएको छ । ठूलो उत्साह छाएको छ । पोखरामा आयोजित यस खेलकुदको स्तर र गरिमा कायम हुन्छ कि हुँदैन भन्ने अहिलेको प्रश्न हो । जसको उत्तर केही हप्तापछि नै सम्पूर्ण खेलकुदप्रेमीले पाउनेछन् ।
खेल र खेलाडी सङ्ख्या
राष्ट्रिय खेलकुदको प्रथम संस्करण १६ खेलबाट सुरु भएको थियो । अहिले नवौँ संस्करणसम्म आइपुग्दा खेल सङ्ख्या ३६ पुगेको छ । राष्ट्रिय खेलकुदको इतिहासमा यो अहिलेसम्मको सबभन्दा धेरै खेल सङ्ख्या हो । नवौँ राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेटिक्स, भारोत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोखो, कराँते, जिम्न्यास्टिक, पौडी, कबड्डी, हयाण्डबल, जुडो, कुस्ती, फुटबल, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाकताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन, रग्बी सेभेन ए साइड र प्याराग्लाइडिङ रहेका छन् । यसपालि रग्बी खेल थपिएको हो । अन्य ३५ खेल पछिल्लो संस्करणमा पनि खेलाइएको थियो । यसमध्ये पुरुष क्रिकेट खेल काठमाडौँमा सम्पन्न भइसकेको छ । नेपाल टि २० क्रिकेट लिगको समय जुधेको भन्दै काठमाडौँमा पहिले नै पुरुष क्रिकेटको आयोजना भयो । यस प्रतियोगिताको उपाधि जितेर नेपाल प्रहरी नवौँ राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक विजेता बनिसकेको छ ।
राष्ट्रिय खेलकुदको प्रथम संस्करण १६ खेलबाट सुरु भएको थियो । अहिले नवौँ संस्करणसम्म आइपुग्दा खेल सङ्ख्या ३६ पुगेको छ । राष्ट्रिय खेलकुदको इतिहासमा यो अहिलेसम्मको सबभन्दा धेरै खेल सङ्ख्या हो ।
ओलम्पिक, एसियाली खेलकुद वा दक्षिण एसियाली खेलकुदजस्ता ठूलो खेल मेलामा आयोजक सहरलाई एउटा खेल थप्ने अधिकार दिएको हुन्छ । यस पटक राष्ट्रिय खेलकुदमा पनि यही नियम अनुसरण गर्दै गण्डकी प्रदेशमा लोकप्रिय दुई खेललाई प्रदर्शन खेलको रूपमा राखिएको छ । नेपालको साहसिक खेलका रूपमा ठूलो सम्भावना बोकेको क्यानोइङ तथा परम्परागत खेल छेलो प्रदर्शन खेलको रूपमा राष्ट्रिय खेलकुदमा खेलिँदैछ ।
यस संस्करणमा ३६ खेलमा ४०४ इभेन्ट्स खेलाउने निर्णय गरिएको थियो । तर यसमध्ये दस खेलका २३ इभेन्ट्स रद्द भएका छन् । कुनै पनि इभेन्ट्समा चार टोली अनिवार्य सहभागी हुनुपर्ने प्रावधान छ । तर गल्फ आर्चरी, प्याराग्लाइडिङ, पौडी, भारोत्तोलन, सुटिङ, जिम्न्यास्टिक, स्क्वास, सफ्ट टेनिस, जुडोका केही इभेन्टमा यो प्रावधान पूरा हुन सकेन । यस पटक ४०४ स्वर्ण पदकका लागि एघार टिमका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा सहभागी टिमको सङ्ख्या पनि बढेको छ । तीन विभागीय टिम र सात प्रदेशबाहेक एनआरएनको टिमलाई समेत प्रतियोगितामा सहभागी गराइएको छ । विगतमा अञ्चल, त्यसपछि विकास क्षेत्रको टिमबीच प्रतिस्पर्धा हुन्थ्यो । गत संस्करणदेखि सात प्रदेशले भाग लिएका छन् । त्यसैले प्रादेशिक संरचनामा यसपटक पनि राष्ट्रिय खेलकुद हुँदैछ । यसबाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरआवासीय नेपाली सङ्घ (एनआरएन) टिमको पनि सहभागिता छ । विगतमा विश्वविद्यालयको टिम पनि थियो । तर यसपालि विश्वविद्यालयको टिम समावेश गरिएको छैन । पाँचौँ संस्करणमा माओवादीको पीएल स्पोर्ट्स टिमलाई पनि सहभागी गराइएको थियो ।
प्रतियोगितामा छ हजार १५७ खेलाडी रहेका छन् । प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ कोटा निर्धारण गरिएको छ । गण्डकी प्रदेश, बागमती प्रदेश, नेपाली सेना र सशस्त्र प्रहरी बल एपीएफले ३६ वटै खेलमा भाग लिएका छन् । कर्णाली प्रदेशले सबभन्दा कम खेलमा सहभागिता जनाउँदैछ ।
राष्ट्रिय खेलकुदको इतिहास
राष्ट्रिय खेलकुद पहिलो पटक २०३८ सालमा आयोजना भएको थियो । काठमाडौँमा भएको पहिलो राष्ट्रिय खेलकुदमा १६ खेल समावेश गरिएको थियो । यी खेल एथलेटिक्स, फुटबल, ब्याड्मिन्टन, भलिबल, बाघचाल, बुद्धिचाल, कबड्डी, जिम्न्यास्टिक, टेबलटेनिस, क्रिकेट, तारो हान्ने, भारोत्तोलन, ह्यान्डबल, बक्सिङ, शारीरिक सुगठन र पौडी हुन् । प्रथम राष्ट्रिय खेलकुदमा तत्कालीन १४ अञ्चलको सहभागिता रहेको थियो । जसमा बागमती, गण्डकी र कोसीले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे । पहिलो पटकको बृहत् खेलकुदमा एक हजार २२० पुरुष र २२३ महिला गरी कुल एक हजार ४४३ खेलाडीले भाग लिएका थिए ।
दोस्रो संस्करण तोकिएकै समय दुई वर्षपछि नै पोखरामा २०४० सालमा सम्पन्न भयो । यस प्रतियोगितामा भाग लिने खेलाडीको सङ्ख्या थियो दुई हजार ५७, जसमा एक हजार ९६८ पुरुष र ५३९ महिला खेलाडी थिए । प्रतियोगितामा खेल सङ्ख्या बढाएर १९ पु¥याइएको थियो । यस प्रतियोगितामा पनि बागमती, गण्डकी र कोसीले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे । तेस्रो संस्करण पनि नियमित रूपमा २०४२ सालमा वीरगञ्जमा सम्पन्न भयो । २१ खेल समावेश यस संस्करणमा खेलाडी सङ्ख्या बढेर दुई हजार ७७५ पुग्यो । प्रतियोगितामा पुरुष खेलाडीको सङ्ख्या मात्र दुई हजार ३७ पुगेको थियो । ७३८ महिला खेलाडी पनि सहभागी थिए । बागमती अञ्चलले तेस्रो संस्करणमा पनि ६६ स्वर्ण जितेर आफ्नो च्याम्पियनको गरिमालाई कायम राख्यो ।
तेस्रो राष्ट्रिय खेलकुद भएको १३ वर्षपछि मात्र २०५५ सालमा नेपालगञ्जमा चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना भयो जसमा १२ खेललाई मात्र समावेश गरिएको थियो । खेलाडी सङ्ख्या पनि घटेर मात्र एक हजार ६२२ जना थिए । यस संस्करणमा अञ्चल नभई विकास क्षेत्रले भाग लिने नियम बनाइएको थियो । पाँच विकास क्षेत्रसहित नेपाली सेना र नेपाल प्रहरी गरी कुल सात टिमले सहभागिता जनाए । अङ्क तालिकामा मध्यमाञ्चल पहिलो, नेपाली सेना दोस्रो र नेपाल प्रहरी तेस्रो स्थानमा रहे । प्रतियोगितामा पौडी खेलाडी नयना शाक्यले नौ इभेन्टमा नै नौवटा स्वर्ण जित्नुभयो । यो सफलतापछि उहाँ जलपरीको उपाधिले विभूषित हुनुभयो ।
पाँचौँ राष्ट्रिय खेलकुद हुन पनि ११ वर्ष कुर्नु प-यो । पाँचौँ संस्करण सुदूरपश्चिममा गर्ने घोषणा गर्दै झन्डा हस्तान्तरण गरिएकोमा पछि विभिन्न कारण देखाउँदै प्रतियोगिता अन्ततः काठमाडाैँमा आयोजना गरिएको थियो । ३२ खेलमा प्रतिस्पर्धा गरिएको यस संस्करणमा तीन हजार १७३ खेलाडी सहभागी थिए । पाँच विकास क्षेत्र तथा तीन विभागीय टोली नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जनमुक्ति सेना गरी नौ टिमको सहभागिता रहेको थियो । यद्यपि जनमुक्ति सेनाको टिमलाई प्रवेश दिएपछि पाँचौँ संस्करण केही विवादित बन्न पुगेको थियो । नेपाली खेलकुदको सशक्त टिम सेनाले खेलको मर्ममा ठेस पु-याएको भन्दै विरोधस्वरूप फुटबल, एथलेटिक्स, भलिबल, तेक्वान्दो, ब्याड्मिन्टनमा सहभागिता नजनाएपछि नै राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरुवात नै नराम्रो भएको थियो । यस प्रतियोगितामा पौडी खेलाडी करिश्मा कार्की एक्लैले १२ स्वर्ण पदक जित्नुभयो । यसैगरी, पहिलो पटक नेपाल पुलिस क्लबको प्रतिनिधित्व गर्दै सहभागिता जनाउनु भएकी केशरी चौधरीले पाँच स्वर्ण जितेर राष्ट्रिय खेलकुदकी नायिका बन्नुभयो । पाँचौँ राष्ट्रिय खेलकुदमा टिम च्याम्पियनमा सहभागी हुने कुल १९२ स्वर्ण र रजत तथा २९० काँस्य तथा टिम च्याम्पियनमा गणना नहुने खेलका ९७÷९७ स्वर्ण र रजत तथा १२० काँस्यका लागि प्रतिस्पर्धा भएको थियो जसमा मध्यमाञ्चल पहिलो, एपीएफ दोस्रो र नेपाल प्रहरी तेस्रो भए ।
छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तीन हजार ६६८ खेलाडीले सहभागिता जनाए । यस प्रतियोगितामा खेल सङ्ख्या ३२ थियो । प्रतियोगितामा पछिल्लो संस्करणमा समावेश खोखोलाई हटाइयो भने तेक्वान्दो युनियनको खेल समावेश गरियो । सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र डडेल्धुरामा २०६८ सालमा भएको छैटौँ राष्ट्रिय खेलकुदमा मध्यमाञ्चल पदक तालिकामा सबभन्दा अगाडि रह्यो । पूर्वाञ्चल विकास क्षेत्रको झापा, मोरङ, सुनसरीलगायत जिल्लामा २०७३ सालमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भयो । यो संस्करणमा ३१ खेल विधाका लागि नौ सय दुई पदक कायम गरिएको थियो भने तीन हजार ९७२ जनाले सहभागिता जनाए । आठाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ सालमा बाँके, बर्दिया, दाङलगायत जिल्लामा आयोजना गरियो । यस प्रतियोगितामा पाँच हजार ३०५ खेलाडीले ३५ खेलमा एक हजार १५८ पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
पहिलो पटक रनिङ ट्रफी
राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौँ संस्करणदेखि रनिङ ट्रफीको सुरुवात भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले सुन र चाँदी जडित करिब दस लाख लागतमा ‘रनिङ ट्रफी’ तयार पारेको छ । रनिङ ट्रफीलाई देश भ्रमण गराएर राखेपले देशभर नै यस प्रतियोगतातर्फ सबैको ध्यान आकृष्ट गर्ने प्रयास गरेको छ । पदक तालिकामा शीर्ष स्थानमा रहने टिमलाई यो ट्रफी प्रदान गरिनेछ । तीन पटक लगातार प्रतियोगिता जित्ने टोलीलाई ट्रफी नै सधैँका लागि प्रदान गरिनेछ । ट्रफीबाहेक यस पटक व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जित्नेलाई २५ हजार तथा सामूहिक तर्फका स्वर्ण पदकधारीलाई १५ हजार रुपियाँ पनि पुरस्कार दिइनेछ ।
लोगो र मस्कट
ठूला खेलकुद मेलामा प्रतीकको रूपमा देखाइने मस्कट पनि आकर्षणको रूपमा रहेको हुन्छ । यो मस्कट प्रत्येक संस्करणमा परिवर्तन भइरहन्छ । नवौँ राष्ट्रिय खेलकुदको मस्कटका रूपमा लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग रहेको छ । यसैगरी, लोगोमा माछापुच्छ«े हिमाललाई रेखाकृतिमा राखिएको छ । आकाशे नीलो रेखाले शान्तिको प्रतीक परेवालाई प्रतिविम्बित गरेको छ भने रातो रङको चार धर्साले परेवाको पखेटा र ट्रयाकलाई दर्शाएको छ । चार धर्साले साविकको प्रदेश ४ लाई इङ्गित गरेको छ । चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिविम्बित गर्नुका साथै सबै टिमको प्रतिनिधित्व गरेको छ ।