• ११ मंसिर २०८१, मङ्गलबार

मौसम बाहिरिने समयमा अविरल वर्षाले कैलालीमा ठूलो बाढी

blog

चिसापानीस्थित कर्णाली नदी, बाढी बढ्दा कैलालीका तल्लो तट प्रभावित हुन्छ । तस्बिर : एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर, असोज २१ गते । मनसुन बाहिरिने समयमा भएको भारी वर्षाले कर्णाली र चुरेबाट निस्कने खोलाहरूले कैलालीमा बाढी ल्याएको छ । बाढीले तराईका विभिन्न ठाउँ डुबानमा परेको छ । 

बुधबार रातिदेखि भएको अविरल वर्षाले नदी र खोलामा बाढी बढेको हो । कैलालीको चुरेबाट निस्कने काँडा, कान्द्रा र पथरैया नदीमा बाढी बढेर शुक्रबार दिउसो गाउँतिर पसेको छ । यी नदीको बाढीले तटीय क्षेत्र भजनी नगरपालिकाका वडा नम्बर २, ७ र ८ का २०० बढी घर डुबानमा परेको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी नायव निरीक्षक जनकजंग रावलले जानकारी दिनुभयो ।  

असोजको पहिलो साताको बाढीले खेतीपाती  सखाप भइसके पनि दोहोरिएको बाढीले भजनीका बासिन्दालाई झन् दुःख थपिएको छ । अझै केही दिन वर्षा हुने सङ्केत देखिएपछि भजनी नगरपालिकामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले वडा नम्बर ८ को सोनाहाफाँटामा अस्थायी पाल टाँग्न थालेका स्थानीय जयप्रसाद ढुङ्गानाले बताउनुभयो ।

कर्णालीमा बाढी 

कर्णाली नदीमा शुक्रबार दिउसो ३ः०० बजेतिर बाढीको सतह ९ दशमलव ८२ मिटर पुगेको गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार साँझ ६ः१० बजेसम्म ९ दशमलव ५२ मिटर पुगेको छ । कर्णाली नदीमा बाढी १० मिटर पुग्नुलाई खतराको सङ्केत र १०.८० मिटरलाई खतराको तह मानिन्छ । 

कर्णाली प्रदेशमा अत्यधिक वर्षा भइरहेकाले भेरी लगायतका नदीले खतराको तह पार गर्दा कर्णाली नदीमा जल सतह बढेको छ । जल तथा मौसम विभाग बाढी पूर्वानुमान महाशाखाको विवरणअनुसार शुक्रबार साँझसम्म कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, कालिकोट, दैलेख, जुम्ला लगायतका क्षेत्रमा वर्षा भइरहेको छ । 

यस्तै, जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीका अनुसार शुक्रबारको तुलनामा शनिबार र आइतबार सुदूरपश्चिम र यहाँका तराईका जिल्लामा झन् बढी वर्षा हुनेछ । यसअघि असोज १ गते शनिबारका दिन दिउसो २ः५० बजे कर्णालीमा बाढीको तह १०.८० मिटर रेकर्ड भएको थियो ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियामा बुधबार रातिदेखि शुक्रबार साँझ पौने ६ बजेसम्म १०६.५ मिलिमिटर वर्षा मापन भएको कार्यालयका कर्मचारी सिङ्गल चौधरीले जानकारी दिनुभयो ।

पछिल्ला वर्षहरुमा बेमौसमी वर्षापछि आउने बाढीले ठूलो नोक्सान गरिरहेको छ । गत वर्षको कात्तिक १ गतेको बाढीले कर्णाली नदीले बाँध फुटाएर टीकापुर नगरपालिकाका वडा नम्बर ५, ७, ८ र ९ मा अधिकांश ठाउँमा काटेको धान र पाकेको धानमा नोक्सान गरेको थियो ।  यसपालि पाक्न थालेको धान हावा लाग्दा पनि ढल्ने र नोक्सान हुने स्थितिमा पुगेको किसानहरू बताउँछन् ।