केशव राज भट्ट
बाशुलिङ्ग (बैतडी), असार १८ गते । सुदूरपश्चिमका पहाडी गाउँहरूमा सडिरहेको निगालोसँगै पुस्तौँदेखि चल्दै आएको परम्परागत पेसा सङ्कटमा पर्न थालेको छ । बाँस, निगालो, चोयाको उपयोगबाट बनाइने डोको, डालो, नाङ्लो जस्ता सामग्री निर्माण गर्ने दलित समुदायका सीप र श्रम अहिले उपयोगविहीन हुँदै गएका छन् ।
गाउँघरमा निगालोको स्रोत प्रशस्तै रहे पनि त्यसलाई उपयोग गर्ने जनशक्ति पलायन हुन थालेपछि परम्परागत पेसा सङ्कटमा पर्न थालेको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ का हेमराज भट्ट भन्नुहुन्छ, ‘‘गाउँमा निगालो छ, तर सीप प्रयोग गर्ने हात छैन । युवाशक्ति विदेशिएपछि स्रोत कुहिएर सडेको छ ।’’
सूर्नया गाउँपालिका–३ का ध्वजराम लुहारले जीवनको तीन दशक यही पेसामा बिताउनुभयो । तर अहिले भारतको सहरतिर मजदुरी गर्न बाध्य छन् । ‘‘पहिला डोको बुनेर परिवार पालिन्थ्यो, अहिले त निगालो पनि जङ्गलमै सडिरहेको छ,’’ उहाँले भन्नुभयो ।
उहाँकै गाउँका नरेश चुनारा अहिले बैंगलोरमा छन् । ‘‘गाउँमा सीपको सम्मान छैन, काम छैन,’’ उहाँले भन्नुभयो, ‘‘गाउँका अधिकांश युवा भारत पलायन भएका छन् ।’’
स्थानीय सरकारको प्राथमिकतामा यी परम्परागत पेसा नपर्नु, सीपको हस्तान्तरण नहुनु र स्रोतको संरक्षणमा बेवास्ताले ग्रामीण जीवनशैली नै सङ्कटमा परेको दशरथचन्द नगरपालिका–२ देहिमाडौँका हजारी लावडको भनाइ छ । पाटन नगरपालिका–३ का धनिराम लुहार भन्नुहुन्छ, ‘‘बाँझो बारी, सडेको निगालो, अनि रोजगारीको ग्यारेन्टी छैन । यस्तो अवस्थामा परम्परागत पेसा कसरी बच्ला ?’’
पर्यावरणीय दृष्टिकोणले समेत निगालोका सामग्रीहरू दिगो, पुनः प्रयोगयोग्य र प्लास्टिकको विकल्पका रूपमा उपयोगी मानिन्छन् । तर लोपोन्मुख सीप र बेवास्तित स्रोतले ग्रामीण अर्थतन्त्र मात्र होइन, सांस्कृतिक सम्पदामाथि समेत असर पार्न थालेको स्थानीयको चिन्ता छ ।