• १९ असार २०८२, बिहिबार

सुदूरपश्चिम प्रदेशको बजेट सर्वसम्मतिले पारित

blog

बजेट पारित गर्दै सत्तापक्षका प्रदेश सभा सदस्यहरू । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार १८ गते । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२–८३ को बजेट प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ । आज बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकसहित बजेटलाई सर्वसम्मतिले पारित गरेको हो ।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकसहित आगामी आर्थिक वर्षको बजेट सदनबाट पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । 

आगामी आर्थिक वर्षका लागि सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपियाँको अनुमानित बजेट गत असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको थियो । जसमा चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ८३ करोड दुई लाख ६ हजार (५९.२५ प्रतिशत) बजेट विनियोजन गरिएको छ । 

यसैगरी, अन्तरवित्तीय हस्तान्तरतर्फ तीन अर्ब ४२ करोड ७७ लाख (१०.२४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । 

बजेटमाथि चार दिनसम्मको छलफल गरिएको थियो । छलफलमा २७ जना प्रदेश सभा सदस्यले भाग लिएका थिए । छलफलको क्रममा सत्ता र प्रतिपक्षका सांसद्हरूले बजेटको आलोचना गरेका थिए ।