• २ माघ २०८१, बुधबार

२५ प्रतिशत मानिसलाई मुटुरोगको समस्या

blog

मुटु दिवसको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रम । तस्बिर : केशब गुरुङ

काठमाडौं, असोज १३ गते। नेपालमा कुल जनसंख्याको २५ प्रतिशत मानिसलाई मुटुरोगको समस्या भएको अनुमान गरिएको छ। नेपाल एन सीडी एलायन्सले विश्व मुटु दिवसको अवसरमा ७५ लाख जनता अर्थात् २५ प्रतिशत मानिसलाई मुटुरोग भएको तथ्यांक सार्वजनिक गरेको हो। 

एन सी डी एलायन्सका अध्यक्ष डा. प्रकाशराज रेग्मीका अनुसार नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप, २५ प्रतिशत कोलेस्टेरोल, १० प्रतिशतलाई मधुमेह र एक प्रतिशत बालबालिकालाई बाथ मुटुको रोग हुने गरेको छ। 

त्यसैगरी, वर्षेनी एक हजार बालबालिका बाथ मुटुरोगका कारण हृदयघात भएर मर्ने गर्दछन्। बच्चा जन्माउने बेलामा धेरै महिलाको पनि बाथ मुटुरोग कै कारण मृत्यु भइराखेका छ। ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना नखानाले यस्तो समस्या बढ्दै गएको डा. रेग्मी बताउनुहुन्छ।  

चिकित्सकका अनुसार नेपालमा मुटुरोग बढ्दै जानुको प्रमुख कारण मानिसको जीवनशैली अस्वस्थ्यकर हुनु हो। 

डा. रेग्मीले नेपाली मानसिक तनाव र खराब जीवनशैलीले मुटुरोग बढ्दै गएको बताउनुभयो। “खानामा अत्याधिक चिल्लो, गुलियो र नुनको मात्रा बढी खाने, हरियो सागपात, फलफूल कम खानाले यस्ता समस्या निम्तने उहाँको भनाइ छ। ‘‘स्वस्थ जीवनशैलीनै मुटुको सुरक्षा गर्ने एक मात्र उपाए हो”, उहाँले भन्नुभयो।  

उहाँका अनुसार नेपालको शहरी क्षेत्रमा बस्ने करिब ५० प्रतिशत नेपालीले व्यायाम गर्दैनन्। त्यसैगरी ४० प्रतिशतले चुरोट, सुर्ती सेवन गर्दछन्। अस्वस्थ्यकर जीवनशैलीलाई स्वस्थकर बनाउनु नै मटुरोगबाट बच्ने सबै भन्दा सरल उपाय भएको उहाँको भनाइ छ। 

नेपाल सरकारले नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि सन् २०२१ देखि २०२५ सम्मको कार्य योजना कार्यान्वयनतर्फ अगाडि बढाएको छ। 

विश्वमा हरेक वर्ष एक करोड ८० लाख मानिस मुटुको रोगका कारणा मर्ने गर्दछन्। यसमध्ये विकासोन्मुख राष्ट्रिमा मुटु रोगबाट विश्वभर मर्नेको संख्या हरेक वर्ष दुई करोड ५० लाख पुग्ने अनुमान छ। 

विकासोन्मुख राष्ट्रमा अहिले हृदयघातका कारण मृत्यु हुनेको संख्या २५ प्रतिशत छ भने सन् २०३० सम्ममा यो संख्या बढेर ३५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ। यो वर्ष 'मन लगाउ, सबैको मुटु बचाउ' भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइएको छ। 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।