• १३ साउन २०८१, आइतबार

४३ सवारी साधन कारबाहीमा

blog

प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहसहितको ट्राफिक प्रहरी टोली तल्लोडुगेश्वरमा सवारी चेकजाँच गर्दै । तस्बिर : कमल शर्मा

कमल शर्मा

दैलेख, असोज १३ गते । दशैं सुरक्षा योजनाअनुसार जिल्ला प्रहरी कार्यालयले गरेको सवारी चेकजाँचको क्रममा नियमविपरित यात्रु बोक्ने ४३ जना सवारी साधन कारबाहीमा परेको छ । जिल्ला प्रहरी कार्यालयको अगुवाइमा प्रहरी चौकी रानिमत्ता, पाल्तडा, राकम कर्णाली र इलाका प्रहरी कार्यालय दुल्लुबाट गएको ट्राफिकसहितको टोलीले एक सय १० सवारी चेकजाँच गर्दा ४३ सवारी साधनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहले चाडपर्वमा हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले सुरु गरेको सवारी चेकजाँचमा पहिलो दिनमै ४३ वटा सवारी साधनलाई कारबाही गरिएको बताउनुभयो । यात्रुलाई सास्ती दिने, बढी भाडा असुल्ने, ओभरलोड बोक्ने गाडीलाई कारबाही गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले दशैं–तिहारलाई लक्षित गरी यात्रुका पिरमर्का बुझ्न विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ । यात्रु सहायता कक्षमा गाडीको सिट क्षमता, गाडीको नवीकरण, सवारी चालक अनुमतिपत्र, ब्लु बुक र गाडीमा तपाईँलाई केही समस्या भयो कि ? भनेर सोध्ने गरेका छौ ।”

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक जगत्बहादुर कठायतले जिल्लामा नौ जना ट्राफिकको दरबन्दी भए पनि २० जना कार्यरत रहेको बताउनुभयो । राकम कर्णाली प्रहरी चौकीमा दुई जना, पल्ताडा प्रहरी चौकीमा दुई जना, तल्लोडुगेश्वर प्रहरी चौकीमा चार जना, माथिल्लो डुगेश्वर प्रहरी चौकीमा एक जना, इलाका प्रहरी कार्यालय दुल्लुमा एक जना, चुप्रा प्रहरी चौकीमा एक जना गरी १२ जना र जिल्ला ट्राफिक कार्यालयमा आठ जना रहेको बताउनुभयो । 

ट्राफिकको सङ्ख्याभन्दा पनि सवारीचालकले ट्राफिक चेकिङमा यात्रुहरू झार्ने समस्या रहेको बताउनुभयो । प्रहरी चौकी नजिक आउँदा यात्रु झार्ने र चौकी कटिसकेपछि यात्रु चढाउने समस्या रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “प्रहरी प्रमुखसहित सवारी चेकजाँचमा जाँदा ३३ हजार राजश्व काटी ४३ सवारी साधनलाई कारबाही गरेका छौँ ।”

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले दशैँ–तिहार लक्षित सरकारी तथा व्यावसायिक प्रयोजनमा सञ्चालन हुने गाडीमा नियमित अनुगमन आग्रह गरे बमोजिम सुरक्षाकर्मीले सवारी चेकजाँच बुधवार बाट सुरु गरेको जनाएको छ ।