• १३ वैशाख २०८१, बिहिबार

‘दशैँ आयो’ सदाबहार मङ्गल धुन र दशैँका गीत

blog

काठमाडौँ (गोरखापत्र), असोज १२ गते । मङ्गल धुन (मालश्री धुन)ले दशैँ आगमनको सङ्केत गर्छ । गीतसङ्गीतले हरेक चाडपर्व वा कार्यक्रममा छुट्टै रौनक थप्छ । गीतहरूले दशैँको महत्त्वको बखानसँगै दशैँमा आउने याद, सिर्जना गर्ने अवस्था र माहोलको कुरा बताउँछन् । 

नेपाली चलचित्रमा हिजोआज चाडपर्वलक्षित गीत खासै बन्दैन । दशैँ आएपछि नेपाली चलचित्रका पुराना गीतहरू फेरि एक पटक बज्न थाल्छन् । यसमा सबैभन्दा धेरै बज्ने गीत ‘दशैँ आयो...’ हो । चलचित्र ‘मुग्लान’मा समावेश यो गीतको लोकप्रियताको वरिपरि आउने गरी अरू गीत तयार भएका छैनन् ।

उदितनारायण झा, दीपानारायण झा, नारायण लामा, जुना प्रसाईंको स्वर रहेको यो गीतमा सुरेश अधिकारीको सङ्गीत र लोकनाथ सापकोटाको शब्द तथा सङ्गीत छ । पैसा कमाउने उद्देश्यले विदेश गएका युवाहरूले दशैँ आएपछि गाउने गीतका रूपमा यसलाई प्रस्तुत गरिएको छ । 

योबाहेक ‘रातो टीका निधारमा टलक्क टल्कियो’, ‘रातो टीका दशैँको जमरा’लगायतका गीत पनि सुनिने गर्छन् । तर, शिव रेग्मी निर्देशित चलचित्र ‘मुग्लान’को गीतको लोकप्रियता आफैँमा लोभलाग्दो छ ।

यो गीतले हरेक नेपालीलाई दशैँ सम्झाउँछ; दशैँ आएको अनुभूति गराउँछ । जब दशैँ नजिकिँदै जान्छ तब गाउँघर, सहरबजार जताततै यही गीत मात्र बज्ने गरेको छ । यो गीतलाई विस्थापित गर्ने अरू दशैँ गीत अहिलेसम्म बन्न सकेका छैनन् ।

यसपालि पनि घटस्थापनादेखि नै यो गीत सर्वाधिक घन्किँदै आएको छ । त्यसो त हरेक वर्ष दशैँलक्षित नयाँ गीत सार्वजनिक हुने गरेका छन् तर यस्ता गीत कमै दर्शकको जिब्रोमा झुन्डिएका छन् । विभिन्न समयमा नेपाली फिल्ममा कथाको मागअनुसार दशैँ गीत समावेश गरिएको छ । 

योगेश्वर अमात्यको स्वर रहेको गीत ‘दशैँ नै हो कि यो मेरो दशा...’ पनि दशैँमा धन्कने गरेको पाइन्छ । गीतमा विपन्न वर्गमा दशैँले निम्त्याउने समस्याको भाव समेटिएको छ । यस्तै गायक सुगम पोखरेलको ‘दशैँ तिहार...’ बोलको गीत पनि सबैको मुखमा झुन्डिने गरेको छ । यस्ता केही सदाबहार गीत यहाँ प्रस्तुत गरिएको छ । 

सशस्त्र प्रहरी बलको गीत ‘फौजीलाई कुन हो दशैँ...’को श्रव्यदृश्य टोलीले तयार गरेको भिडियोसमेत उपलब्ध छ । दशैँ आएको अनुभूति गराउने अर्को गीत हो, ‘रातो टीका निधारमा टलक्क टल्कियो...’ । दुई दशकअगाडि प्रदर्शनमा आएको चलचित्र ‘अल्लारे’को गीत हो यो । चलचित्र अशोक शर्माले यसको निर्देशन गर्नुभएको हो । अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर गीतमा प्रस्तुत हुनुहुन्छ । दशैँमा बज्ने सदाबहार गीतमध्ये एक हो, ‘रातो टीका दशैँको जमरा...’ । यो गीत डेढ दशकअगाडिको सुपरहिट फिल्म ‘मनमन्दिर’मा समावेश छ । युवराज लामा निर्देशित चलचित्रको यस गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंह देखिनुभएको छ । दुई दशकअगाडिको तुलसी घिमिरे निर्देशित सुपरहिट चलचित्र ‘लहना’मा समावेश गीत हो यो । यो गीतमा दशैँको वातावरण चित्रण गरिएको छ । गीतमा अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान ‘फिचर्ड’ छन् । 

प्रस्तुति :यलु जोशी