• ८ वैशाख २०८१, शनिबार

डेंगु झन कडा बन्दै

२१ हजार बढीमा डेंगु पुष्टि : २७ जनाको ज्यान गयो

blog

काठमाडौं, असोज ७ गते । करिब देशभरी आक्रामक रुपमा फैलिइरहेको डेंगुका बिरामी आज (शुक्रबारसम्म २१ हजार पुगेका छन् । चिकित्सकहरूको भनाइअनुसार डेंगु झन् कडा बन्दैगएको छ । पछिल्लो केही हप्तादेखि डेंगुका बिरामी गम्भीर लक्षण लिएर अस्पताल पुग्नेगरेको उहाँहरूको भनाइ छ । डेंगुका कारण अहिलेसम्म २७ जनाको ज्यान गइसकेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक दुई सयको हाराहारीमा डेंगुका बिरामी  मात्र अस्पताल आउनेगरेका सो अस्पतालले जनाएको छ । अस्पतालमा पुग्ने अधिकांश बिरामी गम्भीर स्वास्थ्य समस्या लिएर आउने अस्पतालका इमर्जेन्सीका प्रमुख लिलानाथ भण्डारीले बताउनुभयो ।  

उहाँका अनुसार डेंगुका बिरामीमा पहिलेको वर्षमा देखिएको डेंगुका लक्षणभन्दा यो वर्ष कडा खालका लक्षण देखिनेगरेका छन् । इमर्जेन्सीमा आउने बिरामीमा बेहोस हुने र रक्तस्राव हुनेजस्ता समस्या बढी देखिने भण्डारीले जानकारी दिनुभयो । 

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले पनि अस्पतालमा आउने अधिकांश बिरामी भएको पाँच–छ दिनपछि गम्भीर स्वास्थ्य समस्या लिएर आउनेगरेको बताउनुभयो । 

पहिले नै डेंगु भैसकेका बिरामीलाई यो पटक डेंगु पुष्टि भएमा कडा खालका लक्षण देखिएको उहाँको भनाइ छ । बिरामीहरू सकेसम्म अस्पताल नजाने मनस्थितिमा देखिएकाले ढिला गरी अस्पताल जाँदा डेंगु कडा भइसक्ने उहाँले बताउनुभयो । 

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले पनि अस्पतालमा आउने अधिकांश बिरामी भएको पाँच–छ दिनपछि गम्भीर स्वास्थ्य समस्या लिएर आउनेगरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हल्का ज्वरो र हल्का शरीरमा दुखाइ भएपछि आफैले सिटामोल किनेर खाने र केही सहज भएपछि पुनः एक दुई दिनमा अत्यधिक दुखाइ र बान्ता हुँदा, खोकी लाग्दा, गिँजा–नाकबाट रगत देखिन थालेपछि अस्पतालमा आउनेको सङ्ख्या बढ्दो छ ।” 

बिरामी बेलैमा अस्पतालमा आउने हो भने गम्भीर स्वास्थ्य समस्या हुनबाट जोगिनुका साथै सेतो रगत घटेनघटेको जाँच गरेर मात्र औषधी दिन सहज हुने डा. पुनले बताउनुभयो ।  

चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टाअघि सक्रिय हुने हुँदा सचेत रहनुपर्छ । डा. पुनले लामखुट्टे विशेषगरी काठमाडौं उपत्यकाको घर–घरमा फैलिइरहेको र लामखुट्टे नष्ट भएपछि मात्र नियन्त्रणमा आउने बताउनुभयो । 

महामारी घोषणा गर्न प्रस्ताव 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि) का निर्देशक डा. चुमनलाल दासले महाशाखाले स्वास्थ्य मन्त्रालयमा डेंगु प्रकोप घोषणा गर्ने सम्बन्धमा प्रस्ताव पठाइसकेको जानकारी दिनुभयो ।  

प्रस्ताव पठाए पनि मन्त्रालयबाट महामारी घोषणा गर्ने नगर्ने भन्ने विषयमा कुनै निर्णय आई नसकेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय तीव्र गतिमा डेंगु सङ्क्रमण बढ्दैगएकाले डेंगु नियन्त्रण बाहिर जाने भन्दै स्वास्थ्य विज्ञहरूले डेंगुलाई महामारी घोषणा गर्न सुझाव दिंदैआउनुभएको छ । सोही सुझाव अनुसार ईडिसिडिले मन्त्रालयमा प्रस्ताव पेस गरेको हो ।  

ईडिसिडि निर्देशक डा. दासले लामखुट्टे नियन्त्रणमा सहजीकरण इडिसिडिले गरिसकेको र स्थानीय तहले नै नियन्त्रणको काम अगाडि बढाइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “ईडिसिडिको काम लामखुट्टे नियन्त्रण गर्न सहजीकरण गर्ने हो । आवश्यक बजेट पनि छुटाउनुका साथै सहजीकरण गर्दैआएको छ । स्थानीय तहले पनि लामखुट्टे नियन्त्रणको काम अगाडि बढाइसकेको छ ।” 

सरकारले ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान ल्याएको छ । तर यो अभियान घर–घरमा सङ्क्रमित हुनबाट जोगाउनु र वृद्धि विकासमा रोक लगाउनु उपयुक्त उपाय भए पनि व्यवहारमा लागु हुन नसकेको विज्ञको तर्क छ । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले यो सबैको समस्या भएकाले सरकारको मुख नहेरी व्यक्ति र समाजले आफ्नो वरिपरि सरसफाइमा ध्यान दिएमा डेंंगु नियन्त्रण गर्न सहज हुने बताउनुहुन्छ । डेंगु नियन्त्रणका लागि दैनिक पाँच मिनेट समय निकालेर वरिपरिको पानी सफा गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।  

२१ हजारभन्दा बढीमा डेंगु  

ईडिसिडिको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा २१ हजार ३५२ जनामा डेंगु पुष्टि हुनुकासाथै २७ जनाको मृत्यु भइसकेको छ । यो सङ्क्रमण नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी हो । 

सरकारले ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान ल्याएको छ । तर यो अभियान घर–घरमा संक्रमित हुनबाट जोगाउनु र वृद्धि विकासमा रोक लगाउनु उपयुक्त उपाए भए पनि व्यवहारमा लागु हुन नसकेको विज्ञको तर्क छ । 

यसअघि, सन् २०१९ मा डेंगु प्रकोपको रूपमा फैलिएको थियो । सोही समयमा ६५ जिल्लाबाट १७ हजारभन्दा बढीमा डेंगु पुष्टि हुनुका साथै ६ जनाको मृत्यु भएको थियो ।

डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा १६ हजार २३६ जनामा भएको छ । यस्तै, लुम्बिनीमा दुई हजार ७४३, प्रदेश १ मा ५८५, सुदूरपश्चिममा ७५८, गण्डकीमा ४९६, मधेश प्रदेशमा ३०५ र  कर्णाली प्रदेशमा २२९ जनामा डेंगु पुष्टि भएको छ ।

जिल्ला अन्तर्गत सबैभन्दा बढी काठमाडौंमा ६ हजार ५५५, ललितपुरमा पाँच हजार २१८, मकवानपुरमा दुई हजार ११२, दाङमा एक हजार २१५, भक्तपुरमा ८८१, रुपन्देहीमा ७००, चितवनमा ५०६, धादिङमा ३९९, गुल्मीमा २९२, कैलालीमा २९८ गरी १० जिल्लामा सबैभन्दा बढी १८ हजार १७६ जनामा डेंगु पुष्टि भएको छ  । ईडिसिडिले डेंगुको सङ्क्रमण कात्तिक महिनासम्म बढ्न सक्ने आँकलन गरेको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।