• २३ वैशाख २०८१, आइतबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु

blog

काठमाडौं, असोज ६ गते । 'नेपाल मिथिला येँ आर्ट ग्यालरी'मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु भएको छ । बङ्गलादेशी आर्टशाला केन्द्रको कलाकार समूहले गिरिजाप्रसाद कोइराला फाउण्डेशन, कला तथा संस्कृति विभागको सहकार्यमा तीन दिने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीमा नेपाल, बेलायत, बङ्गलादेश र डेनमार्कका गरी ५४ जना कलाकारले कोर्नुभएका कला प्रदर्शनीमा राखिएका छन् । तीमध्ये २ जना नेपाली कलाकार, १ जना बेलायतका कलाकार, ५० जना बंग्लादेश र डेनर्माकका १ जना कलाकार हुनुहुन्छ । प्रदर्शनीमा विभिन्न शैलीका 'वाटर कलर', 'एब्स्ट्रयाक्ट फम', 'कोलाज पेन्टिङ' लगायत फरक देशका कलाहरू राखिएका छन्। 

बंग्लादेशको ‘आर्टशाला’ ग्यालरीको नेपालमा यो पहिलो कला प्रदर्शनी हो । ‘आर्टशाला’ ग्यालरीसँग मिलेर कलालाई विश्वभरि चिनाउने नै यस कला प्रदर्शनीको उद्देश्य रहेको जिपी कोइराला फाउन्डेशन, आर्ट एन्ड कल्चरका संयोजक तथा मिथिला येँ ग्यालरीका सञ्चालक श्यामसुन्दर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार जसरी नेपालमा विभिन्न देशका कलाकारहरूको कला प्रदर्शनमा राखिन्छ, त्यसरी नै बंग्लादेशमा पनि नेपाली कला प्रदर्शन गरिने तयारी हुँदै छ । 

“कला प्रदर्शनी भनेको आर्ट टु आर्ट एक्सचेन्ज गर्नको लागि हो र हामी कलामार्फत विभिन्न देशलाई जोड्छौँ,” यादव भन्नुहुन्छ, “कलाकारलाई कलामार्फत जोड्नका लागि यो प्रदर्शन गरिएको हो, कलाकारको कला प्रदर्शनीमार्फत विश्वसामु पुग्नु नै कलाकारको ठूलो उपलब्धि हो जसले कलाकारको कलामा थप ऊर्जा थप्ने काम गर्दछ ।”

बंग्लादेशका कलाकार आशिष् अचारजी भन्नुहुन्छ, “नेपाल साँच्चिकै कलाकारका लागि घुम्नै पर्ने देश रहेछ । कला र कलाकारको देश हो नेपाल । नेपालका मन्दिरमा बनाइएका बुट्टाहरू लोभ लाग्दा छन् ।” 

विगत १७ वर्षदेखि सञ्चालनमा रहेको ’मिथिला येँ आर्ट ग्यालरी’मा हालसम्म तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकेको उहाँको भनाइ छ ।

प्रदर्शनीमा डेनमार्कका कलाकार सुसान हिर्नीसिनिमी, बङ्गलादेशका कलाकार सुभ्र तक्लुदेर, उत्तम कुमार शा चौधरी, सायद मोहम्मद सहादत हुसेन, रोमाना अख्तर, लिटोन सीर, एमडी.नाहु खानदाका, प्लोबोन चन्द्राशील, मिया होसेन हनाफी जिसु, रिजौल करिम लीउल, आशिष् अचारजी, प्रोसेनजीत अधिकारी, अजिजुल आक्यु, टेस्मिन जुइ, मोमिता दास, कनिका विद्या, मोहम्मद साहिन, सोजिव खन्दाकेर, आवाल,योउसा हुसेन, फरजाना हसन, कपिल रोवे, डा.सुजन सेन, ताहमिदा जहान, फातिमा टुई जन्नत, टोउहिद सिमुल लगायत कलाकारुहको कला राखिएका छन् ।