• १६ चैत २०८०, शुक्रबार

दशैं तिहारमा नेपाली चलचित्र

'प्रेमगीत ३' देखि 'महापुरुष'सम्म प्रदर्शनमा आउँदै

blog

काठमाडौं, असोज छ गते । हिन्दु नेपालीको महान चाड वडा दशैंको रौनक सुरु भइसकेको छ । दशैंमा चलचित्र क्षेत्र र कलाकारमा पनि छुट्टै रौनक छाउने गर्छ ।

दशैं नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ । दशैंको अवसरमा प्रदर्शन मिति तोकेका चलचित्रहरु पनि आफ्नो पाले कुरेर बसेका छन् । चलचित्र क्षेत्रमा हरेक वर्ष दशैंको छेकोमा नयाँ चलचित्र कासेली आउने गर्छन् । दशैंमा आउने चलचित्रले थप रमाइलो र उत्साह थप्ने गरेको पाइन्छ ।

दशैं तिहारकोबीच प्रदर्शनमा आउने चलचित्र अरु दिनमा भन्दा फरक होस् भन्ने दर्शकको चाहना हुनेगर्छ । त्यसैगरी, यसपालि दशैंमा पनि धेरै चलचित्र प्रदर्शन हुने तयारीमा छन् ।

यसपालि दशैं तिहारमा प्रदर्शन हुने चलचित्र

यसपालिको दशैंको साताकाे शुक्रबारका दिन चार चलचित्र प्रदर्शन हुने तयारीमा छन् । चलचित्र वितरक किरण श्रेष्ठका अनुसार यसपालि दशैं र तिहारमा चार चलचित्र प्रदर्शन हुनेछन् । ‘प्रेमगीत-३’, ‘बाबरी’, ‘दुई नम्बरी’, ‘हिजो आजका कुरा’ चलचित्रले आफ्नो प्रदर्शन मिति तय गरेको उहाँले बताउनुभयो ।

‘प्रेमगीत-३’

असोज ७ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘प्रेमगीत-३’ स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा बनेको हो । चलचित्र नेपाल र भारतमा एकै दिन प्रदर्शन हुँदैछन् । । भारतमा यस चलचित्रलाई जी-म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो ।

चलचित्रमा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका देख्न सकिन्छ । यस्तै, चलचित्रमा सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, पुस्कर कार्की, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको अभिनय छ ।

‘बाबरी’

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको चलचित्र ‘बाबरी’ असोज १४ गते प्रदर्शन हुने तयारीमा छ । चलचित्रमा धीरज मगर र अदिती बुढाथोकीको शीर्ष भूमिकामा हुनुहुन्छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा धीरज र अदिती पहिलोपटक सँगै देखिने भएका छन् । पुष्पा बुढाथोकीले निर्माण गर्नुभएको चलचित्रलाई नरेन्द्र मैनालीले खिच्नुभएको हो ।

‘दुई नम्बरी’

दीपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्र ‘दुई नम्बरी’ आगामी असोज २१ गते प्रदर्शनमा आउने भएको छ । सामाजिक कथावस्तुमा आधारित चलचित्र अभिनेत्री उग्येन र उपासनाका अभिनय पनि देख्न सकिन्छ । यसबाहेक चलचित्रमा दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी देख्न सकिन्छ ।

पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौलालगायतका कलाकारको अभिनय रहेको यस चलचित्रलाई निमेश श्रेष्ठले सम्पादन गर्नुभएको हो ।

कमेडी जनरामा बनेको चलचित्रलाई अमला देवी राई, जयश श्रेष्ठ र दीपक मनांगेको लगानीमा निर्माण गरिएको हो ।

‘हिजो आजका कुरा’

कलाकार सन्तोष पन्तको निर्माणमा बनेको चलचित्र ‘हिजो आजका कुरा’ आगामी असोज २८ गते प्रदर्शन हुने भएको छ ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने गरेको चर्चित पुरानो टेलिचलचित्र हो ‘हिजो आजका कुरा’ । यसै टेलिचलचित्रको नाममा कलाकार पन्तले यस चलचित्रको निर्माण गर्नुभएको हो । पन्तका छोरा साकार पन्तले यसै फिल्मबाट निर्देशनमा डेब्यू गर्नुभएको छ ।

कलाकार सन्तोष पन्तले ट्रेलर रिलिज कार्यक्रममा बोल्नुहुँदै हरेक घरमा भोग्नुपरेका व्यवहारलाई चलचित्रमा उतारिएको बताउनु भएको छ ।  

चलचित्रमा कलाकार पन्तसँगै रमा थपलिया, नायिका केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जेविका कार्की, स्वर्गीय जयनन्द लामा लगायतको अभिनय रहेको छ ।

‘के घर के डेरा’

दीपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र ‘के घर के डेरा’ आगामी कात्तिक ४ गते प्रदर्शन हुने भएको छ । चलचित्रको नाम अनुसार नै चलचित्रमा पनि काठमाडौंमा घर हुने र डेरामा बस्नेको कथालाई देखाइएको छ ।

चलचित्र काठमाडौंमा डेरामा बस्नेले घर किन्नका लागि गरेको संघर्षलाई दृश्यमा रुपान्तरण गरिएको छ । सिंगे लामाको लेखनमा तयार भएको चलचित्र कमेडी र सामाजिक कुरामा आधारित छ ।

फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा  राउतका साथै रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।

‘महापुरुष’

प्रदीप भट्टराईले निर्देशन गर्नुभएको चलचित्र महापुरुषमा अभिनेता हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ प्रमुख भूमिकामा हुनुहुन्छ । चलचित्रले प्रदर्शन मिति कात्तिक ११ गते अर्थात् भाइटिकाको भोलिपल्ट ताेकिएको छ ।

चलचित्रमा रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराइलीलगायतको अभिनय छ ।

‘लाखे’

मल्टी स्टारको नाम दिइएको चलचित्र ‘लाखे’ कात्तिक ११ गते प्रदर्शन हुने तयारीमा छ । सम्राट बस्नेत निर्देशित यो चलचित्र सस्पेन्स र थ्रिलले भरिएको आकलन गर्न सकिन्छ ।

चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बालकलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा हुनुहुन्छ ।

गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको चलचित्रको कथाकार र निर्माता सिजन अर्याल हुनुहुन्छ भने चलचित्रको निर्देशन दिलीप पन्तले गर्नुभएको हो ।

‘बुलाकी’

चलचित्र ‘बुलाकी’ कात्तिक १८ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले सुरुमा सार्वजनिक गरिएको पोस्टरमा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट फिचर्ड छन् । कर्णाली भेगको जनजीवन तथा संस्कृति समेटिएको फिल्ममा लक्ष्मण सुनारको निर्देशन रहेको छ ।

डोल्पा, जाजरकोट र रुकुममा खिचिएको फिल्ममा सुरक्षा, नरेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा सौगात कँडेल सह निर्माता रहेको फिल्ममा शिव ढकालको छायाङ्कन छ ।