• १६ चैत २०८०, शुक्रबार

१५ हजारभन्दा बढीमा डेंगु पुष्टि, १० जिल्लामा सबैभन्दा बढी संक्रमण

blog

काठमाडौं, असोज २ गते । पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ। सरकारी तथ्याङ्क अनुसार डेंगुको सङ्क्रमणबाट अहिलेसम्म १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन यता १३ जना डेंगु सङ्क्रमितको मृत्यु भएको हो। स्वास्थ्य मन्त्रालयले हालसम्म ७५ जिल्लाबाट १५ हजार ४२३ जनामा डेंगु पुष्टि भएको जनाएको छ।

डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा ११ हजार ८३५ जनामा भएको छ। यस्तै, लुम्बिनीमा एक हजार ९९४, प्रदेश १ मा ४५०, सुदूरपश्चिममा ४२०, गण्डकीमा ३०४, मधेश प्रदेशमा २३४ र  कर्णाली प्रदेशमा १८६ जनामा डेंगु पुष्टि भएको छ।

जिल्ला अन्तर्गत सबैभन्दा बढी काठमाडौंमा चार हजार ४३३ , ललितपुरमा चार हजार ३१२, मकवानपुरमा एक हजार ४९३, रुपन्देहीमा ६४६, भक्तपुरमा ६३८, धादिङ १४७, काभ्रे १३४, दार्चुलामा १२६ र चितवन ३७० गरेर १० जिल्लामा सबैभन्दा बढी १३ हजार १४१ जनामा डेंगु सङ्क्रमित भएका छन्।

नेपालमा हरेक दुई तीन वर्षको अन्तरालमा डेंगु रोग प्रकोपका रूपमा देखा पर्ने गर्छ। यसअघि २०१९ मा प्रकोपका रूपमा फैलिएको थियो। सोही समयमा १७ हजारभन्दा बढीमा डेंगु पुष्टि हुनुका साथै छ जनाको मृत्यु भएको थियो।

सरुवारोग विशेषज्ञ डा. जनक कोइरालाका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन्।

एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ।

सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै सञ्चालन गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभरका स्थानीय तहमा लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ।

डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान १० बजेर १० मिनेट छुटाई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ खोजौँ र नष्ट गरौँ’भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए।  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।