• १३ साउन २०८१, आइतबार

पाँच दिनपछि सिमकोटमा विद्युत आपूर्ति सुचारु

blog

राजन रावत

हुुम्ला,  असोज २ गते । दुई वटा गाउँपालिकाका लागि विद्युत सेवा आपूर्ति गर्दैआएको हिल्दुम विद्युत वितरण केन्द्रले पाँचौँ दिनमा बन्द भएको विद्युत आपुर्ति कार्य सुचारु गरेको छ । वर्षाका कारण नहरको मर्मत कार्य नुहुने भएपछि बन्द गरिएको विद्युत आपूर्ति सुचारु गरिएको हो । 

केन्द्रका प्रमुख साजन ऐडीले वर्षाका कारण नहरको मर्मत कार्य पूरा नहुने भए पनि बन्द गरिएको बिधुत आपूर्ति कार्य आइतबार दिउँसोबाट सुचारु गरिएको बताउनुभयो । अझै केही दिन मौसम खराब नै देखिएका कारण विद्युत आपूर्ति बन्द गर्नुभन्दा सुचारु गर्नु उपयुक्त देखिएपछि सुचारु गरिएको बताउनुभयो । 

नहरको मर्मत कार्य निर्माण कम्पनीमार्फत सुरु गरिएको थियो । विद्युत आपूर्ति नहुँदा सिमकोट बजारका उपभोक्तालाई सास्ती भोग्नुपरेको थियो । मौसममा सुधार आए पुनः विद्युत सेवा केही दिन बन्द गरेर नहरको मर्मत कार्य गरिने केन्द्रले जनाएको छ । 

केन्द्रको फर्बे ट्याङ्कीदेखि मुहानसम्मको नहरमा पानी चुहिने समस्या आएपछि मर्मत कार्य पाँच दिन अगाडि सुरु गरिएको थियो । बीचमा नहर मर्मत गर्ने कार्य केही गरिएको भए पनि वर्षाका कारण काम राक्नुुपरेको थियो । हाल केन्द्रले २८० किलोवाट विद्युत उत्पादन गरेर सिमकोट र खार्पुनाथ गाउँपालिकाका दुई हजारभन्दा बढी ग्राहकलाई विद्युत आपूर्ति गर्दैआएको छ ।