मोहनसिंह बुढा
अदानचुली, (हुम्ला) असार १७ गते । जिल्लाको एक मात्र सिमकोट विमानस्थलमा बजार क्षेत्रबाट बगेर आउने फोहोर थुप्रिएको छ । ढल मार्फत सिमकोट बजारको फोहोर विमानस्थलको पार्किङ क्षेत्रमा थुप्रिदा डम्पिङ साइटमा परिणत भएको हो ।
विमानस्थलमा जमेको फोहोरले उडान सुरक्षादेखि पर्यावरणीय जोखिमसम्म गहिरो सङ्कट निम्त्याएको सिमकोट नागरिक उड्डययान प्राधिकरण प्रमुख महेन्द्र सिंहले बताउनुभयो । स्थानीय प्रशासन, विमानस्थल कार्यालय, गाउँपालिका तथा सरसफाईसम्बन्धी निकायहरूले चासो नदिँदा पर्यावरणीय जोखिमसँगै यात्रुहरूको सुरक्षामा समेत सङ्कट पर्ने देखिएको छ ।
सिमकोट विमानस्थलको पार्किङमा क्षेत्रमा बजार क्षेत्रबाट बगेर आउने फोहोरले असर पार्न थालेको छ भने दुर्गन्ध र फोहोरका कारण आगमन प्रस्थान गर्ने यात्रुरुहरू हैरान बनाउदै गएको छ । स्थानीयवासीहरूको गुनासो अनुसार विमानस्थल क्षेत्रलाई सुरक्षित, स्वच्छ र व्यवस्थित बनाउन पटक–पटक माग गरिए पनि सम्बन्धित निकायले सुनुवाइ नभएको सिंहले बताउनुभयो ।
यातायातको प्रमुख विकल्पका रूपमा रहेको यो एक मात्र विमानस्थलमा सरसफाईको अवस्था दिनप्रतिदिन बिग्रँदै जाँदा पर्यटन प्रवर्धनमा समेत असर पर्न थालेको छ । अबिलम्ब व्यवस्थापन नगरे यसले गम्भीर परिणाम भोग्नु पर्ने सङ्केत देखिन्छ । फोहोर थुप्रिदै गएपछि विमानस्थल वरपरको क्षेत्र डम्पिङ साइटमा परिणत हुँदै गएकोप्रति सरोकारवाला निकायहरू अझै पनि मौन छन् । अत्यधिक संवेदनशील मानिएको यो क्षेत्रमा खुला रूपमा फोहोर थुपारिँदा पर्यावरणीय जोखिम मात्र होइन, उडान सुरक्षासमेत प्रभावित हुने देखिएको छ ।
पार्किङमा बगेर आउने फोहोर व्यवस्थापनका लागि सिमकोट गाउँपालिकालाई पटक–पटक आग्रह गरिए पनि कुनै प्रभावकारी कदम चालिएको छैन । सिंहले भन्नुभयो, ‘‘बेलाबेलामा हामीले फोहोर हटाउन अनुरोध गर्याै, तर पालिकाले जिम्मेवारीपूर्वक व्यवस्थापन गरेको देखिँदैन, वर्षाको समयमा त बजारभरिको फोहोर बग्दै आउँछ र पार्किङ क्षेत्रभित्र छिर्छ, जसले दुर्गन्ध फैलाउँछ र विमानस्थल क्षेत्रमा चराचुरुङ्गी जम्मा हुन थाल्छन् । चराको उपस्थितिले जहाजको टेक–अफ र ल्याण्डिङमा प्रत्यक्ष असर पार्ने गरेको छ । चराको जोखिमकै कारण कहिलेकाहीं उडान नै प्रभावित हुन्छ ।’’
यातायातको प्रमुख विकल्पका रूपमा रहेको सिमकोट विमानस्थलमा यस्तो अवस्थाले यात्रु, पाइलट, विमान कम्पनी र पर्यटक सबैको सुरक्षामा चुनौती खडा गरेको स्थानीयवासीको चिन्ता छ । साथै, विमानस्थलको छवि र सन्देशमा समेत प्रतिकूल असर पर्न थालेको छ । विमानस्थलको सुरक्षामा चुनौती खडा भएको भन्दै पटक–पटक सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण गराउँदै आएको भए पनि सुनुवाइ नभएको सिमकोट विमानस्थल स्रोतले जनाएको छ ।
विमानस्थल सरसफाईका लागि पालिकाले निरन्तर पहल गर्दै आएको र पालिकाले बेलाबेलामा विमानस्थल वरपर सफाइ गरिरहेको छ । सोमबार राति परेको भारी वर्षाका कारण बजारभरिको फोहोर बग्दै पार्किङ क्षेत्रमा पस्दा समस्या देखिएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो । दीर्घकालीन रूपमा फोहोर व्यवस्थापनका लागि योजना निर्माण भइसकेको र अब छिट्टै प्रभावकारी उपायहरू कार्यान्वयनमा ल्याइने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । यो समस्या बारम्बार दोहोरिए पनि स्थायी समाधानमा कसैले चासो नदेखिएको गुनासो स्थानीयवासीहरूको छ । फोहोर व्यवस्थापनको अभावले पर्यटन प्रवर्धनमा समेत नकारात्मक असर पारिरहेको स्थानीय पर्यटन व्यवसायी बिनोद लामाले बताउनुभयो ।