हुम्ला समाचारदाता
हुम्ला, असार १७ गते । लिमीको ताक्ची नदीमा पानीको बहाब बढेपछि पर्यटकीय क्षेत्र लाप्चा जाने यातायातका साधन बन्द भएका छन् । यसअघि सो नदीमा पानी कम हुँदा यातायातका साधन पानीबाटै जाने भए पनि दुई दिनयता पानीको बहाब बढेपछि यातायातका साधन चल्न बन्द भएको हो ।
सिमकोटबाट लाप्चा पुगेर मानसरोवर कैलाशको दूरदर्शन गर्न गएका हेमराज हमालले लिमीको लिङ्खोला र ताक्ची नदीमा पानीको बहाब बढेपछि नदी तरेर जाने यातायातका साधन बन्द भएको बताउनुभयो । उहाँले बन्द भएपछि लाप्चा जाने पर्यटकले दुःख पाउने गरेको जानकारी दिनुभयो । यी दुवै नदीमा यसअघि यात्रु बोकेका यातायातका साधन सिधै तरेर आउजाउ गर्दथे । दुई दिनयता सिमकोटबाट लाप्चा र लिमीका लागि जाने पर्यटक तथा अन्य लिमीका स्थानीय लिङ खोलाको वारिपट्टिसम्म मात्र जाने गरेका कारण यात्रुले सास्ती खेप्नुपरेको उहाँले बताउनुभयो ।
बहाब बढेपछि ताक्चीमा रहेको झोलुङ्गे पुल तरेर दुई घण्टा पैदल यात्रा गरेर तुम्लिङ पुग्ने र त्यसपछि अर्को गाडीको व्यवस्था गरेर जानुपर्ने बाध्यतामा यात्रु रहेका छन् । ताक्ची नदीपारि सीमित यातायातका साधन भएका कारण यात्रुले थप अर्को समस्या भोग्नु पर्छ । निकै बेरको पर्खाइपछि तुम्लिङबाट लाप्चा गएर मानसरोवर कैलाशको दुरदर्शन गर्ने अवसर प्राप्त भएको उहाँले बताउनुभयो । लाप्चाबाट फिर्ता हुँदा पनि यही समस्या यात्रुले भोग्नुपर्ने अवस्था छ । नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले खोला र नदीमा पानी बढेपछि यातायातका साधन आउजाउ पूर्ण रूपमा बन्द भएको बताउनुभयो । लाप्चा आउने पर्यटक बढिरहेका बेला यो समस्या देखिएपछि यसले राम्रो सन्देश नदिने उहाँको भनाइ छ । गत वर्ष झोलुङ्गे पुल निर्माण भएका कारण दुःख भए पनि लाप्चा जाने अवस्था सहज छ । यसले गर्दा पर्यटकले आर्थिक व्ययभार पनि बढी भोग्नुपरेको छ । दुई वर्षअगाडि यी दुवै खोला र नदीमा काठे पुल निर्माणका लागि बजेटको व्यवस्था भए पनि त्यो बजेट फिर्ता गएका कारण अहिले यो समस्या आएको उहाँले बताउनुभयो । लाप्चालाई पर्यटकीय स्थलका रूपमा मुखले मात्र भन्नुभन्दा पनि त्यहाँ जान सहज मार्ग निर्माणमा तीनै तहको सरकारको ध्यान जान आवश्यक रहेको तामाङले जनाउनुभयो ।