• १६ चैत २०८०, शुक्रबार

चाडपर्व लक्षित सुरक्षा योजना लागू, लापरबाही नगर्न आग्रह

blog

फाइल तस्बिर

काठमाडौं, भदौ ३० गते । नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार चाडपर्व लक्षित १९ बुँदे सुरक्षा योजना बुधबारदेखि लागू भएको हो । चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्न निर्देशन मात्रै होइन मनिटरिङ्ग पनि हो उहाँले भन्नुभयो ।

प्रहरी कर्मचारीलाई छुट्टी दिन नहुने भएकाले सबै प्रहरी कर्मचारीले आफ्नो ठाउँबाट कर्तव्यनिष्ठ भई काम गर्नुपर्ने हुन्छ । उहाँले थप्नुभयो, “भदौ २९ बुधबार बिहानदेखि सर्कुलर जारी भएको छ, चाडपर्वका बेला महिला–पुरुष भन्ने कुरै हुँदैन, प्रहरी कर्मचारीलाई बिदा नछोड्नु कानुन कार्यान्वयनमा आफ्ना चाडपर्वलाई थाती राखेर नागरिकमा मार्ग प्रशस्त गर्न सबैलाई निर्देशन हुन्छ ।” 

नेपाल प्रहरीको कार्यविभागले सधैँ चाडपर्वमा आवागमनको वृद्धि भएसँगै सुरक्षा योजनाको तयारी गरेर लागू गर्छ । विगतका वर्षमा यो अवधिमा पाकेटमार लगायका घटनाको समाचार छ्यापछ्याप्ती आए पनि यो वर्ष त्यस्ता घटनामा कमी आएको उहाँको बुझाई छ । “चाडपर्व र निर्वाचन नजिकै आएको हुँदा यो अवस्था समेतलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कुनै तरिकाबाट प्रभावित हुन नदिन प्रहरीको पुरै टिम खटिन्छ” कार्कीले भन्नुभयो । यस वर्ष प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनअघि दशैँ, तिहारजस्ता ठूला चाडपर्व परेकाले अप्रिय घटना घट्न नदिनेमा प्रहरी सचेत रहेको उहाँले बताउनुभयो ।  

“चाडपर्व र निर्वाचन नजिकै आएको हुँदा यो अवस्था समेतलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कुनै तरिकाबाट प्रभावित हुन नदिन प्रहरीको पुरै टिम खटिन्छ” कार्कीले भन्नुभयो ।

चाडपर्व आउन थालेपछि अवाञ्छित तत्त्वहरूद्वारा आपराधिक गतिविधि बढ्न सक्ने सम्भावना रहेकाले पूर्व तयारीका साथ त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत् विशेष सुरक्षा योजना लागू गरिएको छ । 

कार्कीका अनुसार अहिले सबै जिल्लामा प्रहरीले सुरक्षित भएर काम गरिरहेको छ । “कहीँ कतै सूचना नपुगेको अवस्थामा केन्द्रको निर्देशनमा गर्नुपर्ने दायित्व भएकाले निर्देशन दिएका छौँ, मनिटरिङ्ग पनि गर्छौ” कार्कीले भन्नुभयो, “दशैँ दीपावली र छठको समयमा सामान्य सवारीको चाप बढ्ने हुँदा सवारी चालकहरू नियम उल्लङ्घन गर्ने, मापसे गर्ने, उच्छृङ्खल गतिविधि गर्ने लगायतको क्रियाकलाप हुने भएकाले सबै जिल्ला प्रहरी कार्यालय र अन्य सबै निकायलाई विशेष सुरक्षा योजना बनाएर लागू गर्न सर्कुलर जारी गरिएको उहाँले बताउनुभयो ।  

कार्कीले भन्नुभयो, “यो समयमा उद्योगी, व्यवसायीसँग जबरजस्ती चन्दा असुली गर्ने, बैङ्क, वित्तीय संस्थाबाट रकम झिक्दा काउसो फ्याँकेर चोरी, लुटपाट गर्नेलगायतका गतिविधि बढ्ने भएकाले मल, बसपार्क, सुपर मार्केट लगायत ठाउँमा हुनसक्ने सम्भावित घटना रोक्न सुरक्षा व्यवस्था कडा बनाइएको छ ।” खाद्यान्न, पेट्रोलियम पदार्थ, अवैध मदिराजन्य पदार्थमा अस्वाभाविक रूपमा मूल्य वृद्धि भएको भन्दै कालोबजारी, नाफाखोरी गर्नेजस्ता कुरामा गम्भीर हुन सबैमा प्रहरीले अनुरोध गरेको छ । 

आकाशबाजी वा पटाका

आकाशबाजी पटाकाजस्ता सामानले जनस्वास्थ्यमा असर गर्ने, पर्यावरणमा असर गर्ने हुनाले त्यसको आयातमा रोक्न निर्देश दिइएको कार्कीले बताउनुभयो । सीमा क्षेत्रमा भारतबाट नेपाल आउने क्रममा लुटपाट हुने, डकैती पर्ने, तस्करी रोक्न नेपाल प्रहरीले निगरानी बढाउने पनि उहाँको भनाई छ । “नेपाललाई बेफाइदा हुने सामानहरू भित्रिन नदिन प्रहरीले दैनिक सीमा नाकामा निगरानी बढाउने छ” कार्कीले भन्नुभयो ।

“नेपाललाई बेफाइदा हुने सामानहरु भित्रिन नदिन प्रहरीले दैनिक सीमा नाकामा निगरानी बढाउने छ” कार्कीले भन्नुभयो ।

चाडपर्वको समयमा प्रत्येक वर्ष राजमार्गको विभिन्न क्षेत्रमा रात्रि बसलाई लक्षित गरेर आपराधिक तत्त्वहरूले लुटपाटको घटना गरेको पाइएकाले यस वर्ष पहिलेदेखि नै सचेतना अपनाउँदै विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा नेपालीको महान् चाड दशैँ, दीपावली र छठ पर्वमा कुनै किसिमको अवाञ्छित गतिविधि एवम् उच्छृङ्खल तथा आपराधिक क्रियाकलाप हुन नदिई भयरहित, शान्तिपूर्ण वातावरणमा पर्व मनाउने उद्देश्यबाट विशेष सुरक्षा योजना सञ्चालनमा ल्याइएको उहाँले प्रष्ट पार्नुभयो ।  

सङ्घीय राजधानीबाट दशैँ, तिहार मनाउन गाउँ फर्किने यात्रुलाई विशेषगरी रात्रि बसमा जङ्गल क्षेत्रमा आपराधिक गतिविधि हुने कुनै पनि घटना हुनुभन्दा पहिले नै पूर्व सतर्कता अपनाएर यसपालि समयमै चाडपर्व विशेष सुरक्षा योजना लागू गरिएकाले निर्धक्क भएर सुरक्षित भएर यात्रा गर्न सबैलाई उहाँले आग्रह गर्नुभयो ।

घरमा पर्याप्तता बिजुलीको व्यवस्था गर्ने । घरबाट निस्कँदा तालाचाबी लगाएर निस्कन उहाँले सबैमा आग्रह गर्नुभयो ।

लापरबाही नगर्न आग्रह

प्रहरीले पाकेटमारबिरुद्ध अप्रेसन गरी हाल्छ नि भनेर पाकेट खुल्लै गरेर हिँड्न नहुने कार्कीले बताउनुभयो । उहाँका अनुसार प्रहरीको तर्फबाट सचेतनामूलक कार्यक्रम हुन्छ । तर हरेक नागरिक जागरूक हुन जरुरी रहेको उहाँको भनाई छ । घरमा पर्याप्तता बिजुलीको व्यवस्था गर्ने । घरबाट निस्कँदा तालाचाबी लगाएर निस्कन उहाँले सबैमा आग्रह गर्नुभयो । बाहिर हिँड्दा पनि चोरलाई नै आकर्षित गर्ने गरी तामझाम भएर हिँड्न नहुने उहाँले सुझाव दिनुभयो । 

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।