काठमाडौँ, भदौ २७ गते । इन्द्रजात्राकै सिलसिलामा हुनमानढोकास्थित झन्डै १५ फिट अग्लो अनुहार रहेको श्वेतभैरवको मुखबाट प्रसादका रूपमा जाँडको धारा बगाइएपछि महिलाहरू ठेलामठेल गर्दै जाँड पिउन तम्सिएको देखिन्थ्यो। वर्षभरि हनुमानढोकास्थित नौझ्याले घरमा बन्द हुने श्वेतभैरव येँया पुन्ही, अर्थात् इन्द्रजात्रामा सार्वजनिक प्रदर्शनमा आएपछि एक दिन महिलाहरूले मात्र श्वेतभैरव (हाथु द्यः)को मुख आएको जाँडको प्रसाद पिउने प्रचलन रहिआएको छ।
आइतबार श्वेतभैरवको प्रसाद पिउनका लागि करिब पाँच सयको हाराहारीमा महिलाहरूको जमात जुटेको बताइएको छ जसका लागि प्रसादका रूपमा ६० लिटर जाँड राखिएको श्वेतभैरव गुठीयारका दिनेश तुलाधरले जानकारी दिनुयो। द्वादशीको दिन यः सिं (लिङ्गो) ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ उहाँले भन्नुभयो, यसै दिनबाट जात्रा नसकिदाँसम्म श्वेतभैरव प्रसादका रूपमा ‘हाथा हायकेगु’ हुन्छ। आठ दिनसम्म चल्ने यो जात्रा अवधिभर जाँड–रक्सी पिलाइन्छ।
भैरवको मुखमा पाइप लगाएर दिनको करिब ८० लिटर जाँड (रक्सी अनवरत रूपमा पिलाउने परम्परा छ। पिउनेको पनि भीड हुन्छ। भैरवको पछाडि ‘तेप’ भन्ने घ्याम्पो हुन्छ। त्यसमा जाँड राखेर भैरवको मुखमा पाइप फिट गरिन्छ र त्यहीँबाट प्रसाद पठाइन्छ तुलाधरले जानकारी दिनुभयो। उहाँका अनुसार भैरव महादेवका रूप भएकाले जाँड प्रसादकै रूपमा पिलाइन्छ। “हाम्रो नेवारी संस्कृतिमा जाँड–रक्सी सगुनका रूपमा पिउने चलिआएको परम्परा हो”, तुलाधरले भन्नुभयो, “भैरवको मुखबाट आएको जाँड पिउने सक्ने मान्छे स्वस्थ हुने, बिरामी नहुने र हृष्टपुष्ट हुने जनविश्वास रहिआएको छ।”
उहाँले रथयात्राको पहिलो दिन (पूर्णिमा)मा कुमारी, भैरव र गणेशलाई प्रसाद स्वरूप रक्सी पिलाइन्छ। बाँकी दिन जाँड हुने जानकारी दिँदै एक दिन महिलाका लागि मात्र जाँड पिउन छुट्याइएको छ। माथिल्लो टोल (ठहने)मा रथ तानेको भोलिपल्ट महिलाले जाँड पिउँछन्। करिब सात वर्षअघि ‘श्री श्वेतभैरव हाथा हायकेगु व्यस्थापन समिति’ ले यो परम्परा सुरु गरेको हो तुलाधरले थप्नुभयो, महिला र पुरुषलाई समावेशी ढङ्गले लग्न यस्तो परम्परा सुरु गरेको हो। ‘महिला, पुरुष बराबर जानु छ भने सबै कुरामा किन नजाने?’ उहाँले भन्नुयो, ‘महिला भएर जाँड पिउन जानु भनेको चानचुने कुरा थिएन।
घरपरिवार एकातिर, समाजको डर अर्कातिर। एक प्रकारको क्रान्ति नै थियो।’ ‘महिलाहरू पनि रथ तानेपछि थाक्छन्। त्यसबेला जाँडले सफ्ट ड्रिङ्क जस्तो काम गर्छ र तागत पनि दिन्छ,’ पुरुषहरूको बीचमा प्रसादका रूपमा जाँड पिउन महिलालाई धेरै गाह्रो हुन्छ तर यो महिलाले पनि पाउनुपर्छ भनेर हाम्रो पहलबाट सुरु गरेको तुलाधरले जानकारी दिनुभयो।
श्वेतभैरवलाई स्थानीय आजु पनि भनेर पुकार्छन्। इन्द्रजात्राको इतिहास पुरानो भए पनि श्वेतभैरव इन्द्रजात्रासँग जोडिएको धेरै भएको छैन उहाँले भन्नुभयो। सामान्य अर्थमा श्वेतभैरव भनेको सेतो भैरव हो तर यो सेतो छैन। सन् १८५२ मा रणबहादुर शाहले यसलाई सुनौलो स्वरूपमा निर्माण गरेका थिए।
“त्यो बेला काठमाडौँमा भूत, पिचासको डर थियो रे”, गुठीयार ताम्राकारले भन्नुभयो, “भैरवको स्थापना गरिएपछि उनीहरू डराएर भागेको भन्ने मान्यता छ। सधैँ प्रदर्शन गर्दा यसको महìव नहुने र हेर्दै डरलाग्दो भएकाले इन्द्रजात्रामा मात्रै प्रदर्शन गरिएको हो।”