• २४ जेठ २०८२, शनिबार

सकियो 'धुले मेला'

blog

थर्पुको ५४ कुरीया मगरको मुल कोट घर ।

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ २२ गते । वि.सं. १३१२ देखिदेखि निरन्तर चल्दै आएको यहाँका मगरहरूको निकै पुरानो संस्कार धुले आज सकिएको छ । म्याग्दीको मङ्गला गाउँपालिकाको ३ र ४ वडा पर्ने बरंजा क्षेत्रमा मनाइने धुलेको मुख्य विधी सकिएसँगै यस वर्षको धुलेको सबै कार्य सकिएको हो । 

गएको १३ गते नौ थर मगरहरू हरेकको घरबाट एक एक माना अनाजको पितृ प्रसाद राखेसँगै सुरु भएको मेला आज बिहीबार डोठो तानेसँगै सकिएको हो ।

मङ्गलबार २० गते अर्जेखोलामा माछा सिकार गरी विधिपूर्वक पितृ चडाउने काम गरेपछि बरंजाको धुलेमेला मान्ने समुदायको बसोवास भएको क्षेत्रमा खनजोत तथा बडारकुडारका काम बन्देज लगाइएकोमा आज डोठो ताने सँगै सबै काम गर्न फुकेको छ । धुले मेला व्यवस्थापन समितिका सचिव थमबहादुर रोकाका अनुसार मङ्गरलबार पितृ चडाउने र काम बार्ने, बुधबार पराङ हाल्ने र बिहीबार मुख्य विधी गरेर होरे गाएपछि यस वर्षको धुले औपचारीक रूपमा समापन भएको हो । 

क्षेत्रकै सबैभन्दा पुरानो पर्व धुले मेला मङ्गला गाउँपालिका वडा नं ३ र ४ बरंजा गाउँमा बसोवास गर्दै आएको ५४ कुरिया(घर) मगरहरूको आफ्नो मौलिक संस्कार हो । वि.सं १३१२ देखि यो पर्व मनाउन थालिएको र त्यो समय विभिन्न नौ थरका ५४ कुरीया मगरहरूले यो पर्व मनाउन थालेको मानिन्छ । चन्द्रमासको शुक्ल वा कृष्णपक्षको मङ्गलबार सुरु भई अर्को बिहीबार सकिने धुले यो वर्ष जेठ १३ गते मङ्गलबार बाट शुरु भएर २२ जेठमा सकिएको हो । 

बरंजा क्षेत्रमा आएका ५४ घर कुरिया मगरहरूले बि.सं. १३१२ मा बरंजाको थर्पुमा कोत घर निर्माण गरेर सँगै धुले मेला मनाउन थालेको बरंजा सातबिसेका तुकप्रसाद रोकाले जानकारी दिनुभएको मङ्गला गाउँपालिका–४ बुकेनीका बुद्धिबहादुर घर्तीले बताउनुभयो । 

धुले मेला पितृ उद्दारका लागि हरेक वर्ष गरिने र मेला पछि पितृ खुसी हुने भएकाले नै यो मनाउने गरिएको धुलेमेलाका अनुसन्धानकर्ता अमर रोकाको भनाइ छ । प्राचिनकालमा मानवको विकाससँगै घुमन्ते युगबाट सुरू भएको मेलालाई पछिल्लो पुस्ताले समेत आफ्नो संस्कारका रूपमा निरन्तरता दिएको उहाँको भनाइ छ ।

धुलेमेला पितृको सम्झना तथा अन्य जातजातिले गर्ने कुलपुजाकै स्वरुप तथा पूरानो कला र संस्कृतिको जर्गेनासँगै नयाँ पुस्तालाई समेत जानकारी दिने गरी मनाउने गरिन्छ । ५४ कुरिया मगर अन्तरगतको समुदायका समेत रहनु भएका मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले धुलेमेला प्राचिनकालको सुन्दर उपहार भएको बताउनुहुन्छ । पुर्खाले छोडेका धार्मिक परम्परालाई आधुनिक युगमा समेत संरक्षणमा भइरहेको नमुना धुलेमेला भएको बताउनुभयो ।

अन्तिम दिन अर्थात् बिहीबार ५४ कुरिया मगरको कोत घरमा भित्र पाका पुस्ताले ११२ श्लोक गीत गाउने गर्छन् । ती गीतका टुक्काहरुलाई होरे गाउने र कोत घरभित्र भएका पाका पुस्ताले प्रत्येक श्लोक गीत गाएपछि बाहिर गोलो भएर लौरी समातेर बसेका नौ थरका व्यक्तिहरु प्रत्येक गीत सकिँदा एक फन्को घुम्ने गर्दछन् । बिहीबार दिउँसो सुरु गरेर ११२ टुक्का गीतका श्लोक गाइसकेपछि साँझ डोठो(माहुरी बस्ने काठको घार) तानेपछि धुले मेला सकिन्छ ।